राजमार्गका सडकभरि चौपाया, दुर्घटनाको उच्च जोखिम «

राजमार्गका सडकभरि चौपाया, दुर्घटनाको उच्च जोखिम

विराटनगर-यो दृश्य हो पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी जंगलको । बेलबारी–लक्ष्मीमार्ग सडकको यो दृश्यले दुर्घटनाको जोखिम देखाउँछ ।
राजमार्गमा यसरी निर्वाध रूपमा चौपाया छोड्दा दुर्घटनाको उच्च जोखिम रहेको पाइन्छ । मोरङको बेलबारीदेखि पथरीसम्मको राजमार्गमा जताततै चौपाया छाड्दा सवारी चलाउन निकै समस्या भएको चालकहरू बताउँछन् । रातिको समयमा समेत चौपायाहरू सडकमा बसेको पाइन्छ । “दुर्घटना भयो भने चालकलाई दोष दिइन्छ,” विराटनगर–काँकडभिट्टा रुटका गाडी चालक रमेश गहतराजले भने, “यसरी सडकभरि चौपाया छाड्दा निकै तनावपूर्ण रूपमा सवारी चलाउनुपरेको छ ।” उनका अनुसार गाई, गोरु, खसी र बाख्राहरू सडकभरि छाड्दा सवारी चलाउनै मन लाग्दैन । गाडी रोकेर चौपायालाई सडकबाट खेद्नुपर्ने बाध्यता पनि छ ।
मोरङको यो क्षेत्रमा दिनहुँजसो साना–ठूला दुर्घटना हुने गरेको छ । चौपायाका कारण ठूला सवारी मात्रै होइन साना सवारी पनि दुर्घटनामा पर्ने गरेका छन् । मोटरसाइकल, कार र जिप पनि बेलाबेला दुर्घटनामा पर्छन् । चौपाया धनीको पहिचान गरी कारबाही गर्न चालकहरू माग गर्दछन् । जंगलमा छाडेका चौपायाहरू महिनौं दिनसम्म घर फर्किँदैनन् । जंगलका आसपासका सडकमा बास बसेर पुनः सडक छेउछाउमै चर्ने गरेका छन् । यो क्षेत्रका किसानले पालेका चौपाया वर्षाको समयमा जंगलमा छाडिदिने गरेका छन् । जंगलमै चर्ने र बस्ने गरेका छन् ।
लक्ष्मीमार्गका युवा हिमांशु रायले चौपाया नियन्त्रणका लागि नगरपालिका र ट्राफिक प्रहरीको पटक–पटक ध्यानाकर्षण गराएको बताए । नगरपालिकाको बेवास्ताका कारण चौपाया खुलेआम सडकमा छाड्ने गरिएको उनको भनाइ थियो ।
बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीले सडकमा चौपाया छाड्नेलाई कडा कारबाही गर्ने बताइन् । पशुधनीको पहिचान गरी कारबाही गर्ने उनको भनाइ थियो । “नगरपालिकामा यस विषयमा निकै गुनासो आएको छ,” उपमेयर पराजुलीले भनिन्, “सडकमा चौपाया छाड्नेलाई कानुनअनुसार अब कारबाही हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्