वान बेल्ट वान रोडमार्फत चीनले ऊर्जामा सहकार्य गर्ने «

वान बेल्ट वान रोडमार्फत चीनले ऊर्जामा सहकार्य गर्ने

चीनले वान वेल्ट वान रोडमा नेपालले हस्ताक्षर गरिसकेको भन्दै त्यसमार्फत ऊर्जा क्षेत्रमा सहकार्य गर्ने बताएको छ ।
मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भएको भेटमा चीनको हुनान प्रान्तका भाइस गर्भनर ही बाओसिङले यस्तो कुरा बताएका हुन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै जलविद्युत् विकासबारे छलफल भएको थियो ।
मन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दौरान द्विपक्षीय हितका धेरै सम्झौता भएको स्मरण गराउँदै उक्त भ्रमणमा भएका समझदारी अघि बढिसकेको बताए । मन्त्री पुनले सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै उक्त लक्ष्य पूरा गर्न नेपाललाई चिनियाँ लगानी आवश्यक रहेको बताए । पुनले पछिल्लो समय चिनियाँ लगानीकर्ता नेपालमा आकर्षित भएको भन्दै थप लगानीको वातावरण बनाइ दिन भाइस गर्भनर बाओसिङसँग आग्रह गरेका थिए ।
भेटमा भाइस गर्भनर बाओसिङले हुनान प्रान्त चीनमा ऊर्जा प्रविधिको लागि चर्चित रहेको भन्दै नेपालमा सहकार्य गर्न आफूहरू इच्छुक रहेको बताएका थिए । भाइस गर्भनर बाओसिङले हुनान प्रान्तले हाल ४३ हजार मेगावाट बिजुली उत्पादन गरिरहेको जानकारी दिँदै नेपालको कृषि र ऊर्जा क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्