देशैभरि ढल अनुगमन गरिने «

देशैभरि ढल अनुगमन गरिने

काठमाडौं-खानेपानी मन्त्रालयले देशैभरि ढलको अनुगमन गर्ने भएको छ ।
मन्त्रालयमा मंगलबारको बैठकमा मन्त्री बिना मगरले देशभरि नै ढलको समस्या बढ्दै गएको भन्दै व्यावसायिक अपार्टमेन्ट, उद्योग, संयुक्त आवास र अस्पताललगायत विभिन्न क्षेत्रका ढलको अनुगमन गर्ने बताइन् । प्रारम्भिक प्रशोधन गरेर मात्र ढल फाल्नु पर्ने नीतिगत व्यवस्था गर्न लागिएको उनले जानकारी दिइन् ।
मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका अस्पताल, उद्योग, अपार्टमेन्ट र संयुक्त आवासको ढल अनुगमन गर्न विशेष कार्यदलसमेत गठन गरेको छ । खानेपानी तथा ढल निकास विभागकी उपमहानिर्देशक मीना श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय काठमाडौं उपत्यका ढल अनुगमन तथा निरीक्षण व्यवस्थापन कार्यदल गठन गरिएको हो ।
यस्तै, मन्त्री बिना मगरले खानेपानी मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई विदेश भ्रमण जानमा रोक लगाएकी छिन् । खानेपानी मन्त्रालय सिंहदरबारमा मंगलबार आकस्मिक बैठक बोलाउँदै मन्त्री मगरले कर्मचारीको अनावश्यक विदेश भ्रमणमा रोक लगाएकी हुन् । उनले मन्त्रालयका सचिव, सहसचिव र मन्त्रालय मातहतका विभिन्न निकायका विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाई विदेश भ्रमण रोक्न निर्देशन दिइन् ।
बैठकमा बोल्दै मन्त्री मगरले अहिले काम गर्नुपर्ने बेला आएकाले अनावश्यक हुने गरेको भ्रमण रोक्नु अतिआवश्यक रहेको बताउँर्दै कर्मचारीहरूलाई कडा निर्देशन दिइन् । “अहिले काम गर्ने बेला हो । जनताले सरकारसँग राखेको अपेक्षा पूरा गर्नुपर्ने समय हो । यो समयमा अतिआवश्यक भएमात्र भ्रमणमा जाने हो । नत्र भ्रमणमा नजानुहोला । मन्त्रालयसँग जोडिएर आएका कतिपय नकारात्मक समाचारले हामीलाई राम्रो गर्दैन,” उनले भनिन् ।
उनले बैठकमा भनिन्, “म आफैं पनि भ्रमणको आवश्यकता हेरेर मात्र जान्छु नत्र जाँदिन । तपाईंहरू पनि नजानु होला । अतिआवश्यक भए मात्र भ्रमण स्वीकृत हुन्छ नत्र हुँदैन ।”

प्रतिक्रिया दिनुहोस्