३ स्थानीय तहले बजेट पाएनन् «

३ स्थानीय तहले बजेट पाएनन्

जिल्लाको चुमनुब्री, बारपाक–सुलिकोट र अजिरकोट गाउँपालिकाले वित्तीय विवरण नबुझाउँदा बजेट पाउन नसकेका हुन् ।

गोरखा-चालू आर्थिक वर्षको २ महिना बितिसक्दा पनि गोरखाका ३ स्थानीय तहले आफ्नै कमजोरीका कारण बजेट पाउन सकेकम छैनन् ।
अघिल्लो आवको वित्तीय विवरण नबुझाउँदा कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले वित्तीय हस्तान्तरण नगरेपछि उनीहरूले बजेट नपाएका हुन् । जिल्लाको चुमनुब्री, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकाको वित्तीय हस्तान्तरण हुन नसकेको प्रमुख कोष नियन्त्रक श्रीधर ज्ञवालीले जानकारी दिए । “स्थानीय तहले बुझाएको विवरण महालेखा नियन्त्रकको कार्यालयमा पठाएपछि मात्रै वित्तीय हस्तान्तरण गर्नुपर्ने प्रावधान छ,” उनले भने, “३ वटा स्थानीय तहले विवरण नबुझाएकाले वित्तीय हस्तान्तरण गर्न सकेका छैनांै ।”
स्थानीय तहले असार मसान्तमा नै वित्तीय विवरण पेश गर्नुपर्नेछ । तर कुनै पनि स्थानीय तहले विवरण पेस नगरेपछि ढिलोमा साउन १५ गतेसम्म अघिल्लो वर्षको विवरण पेस गर्न कोष तथा लेखा नियन्त्रक कार्यालयले पत्राचार गरेको थियो । चुमनुब्री, बारपाक, सुलिकोट र अजिरकोट गाउँपालिकाबाहेक अरु स्थानीय तहले पनि भदौमा मात्रै वित्तीय विवरण कोष तथा लेखा नियन्त्रकको कार्यालयमा बुझाएका हुन् । वित्तीय विवरण नबुझाएकाले तीनवटै स्थानीय तहका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । बजेट नहुँदा स्थानीय तहका योजना कार्यान्वयनमा पनि समस्या भएको छ ।
लेखापाल बिरामी बिदामा बसेकाले समयमा विवरण बुझाउन नसकेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । उनले भने, “अहिले हामी विवरण तयार गर्दैैछौं, एक दुई दिनमा बुझाउँछौ ।” चुमनुब्री गाउँपालिकाका प्रशासकीय अधिकृत सुदिप गिरिले लेखापालले यस विषयमा समयमै कार्यालयमा जानकारी नदिएकाले ढिलो भएको बताए । उनले भने, “लेखापालले यो बारेकेही जानकारी नै दिनुभएन । मैले पनि मंगलबार कोलेनिका प्रमुखले फोन गरेपछि थाहा पाएँ । विवरण बनाउन लगाएको छु ।” अजिरकोट गाउँपालिकाका प्रशासकीय अधिकृत युवराज आचार्यले कर्मचारी हेरफेर भइरहेको र जनशक्ति अभावले समयमै विवरण बुझाउन नसकेको जानकारी दिए । नयाँ अभ्यास भएकाले पनि स्थानीय तह र कर्मचारी अलमलमा परेको प्रमुख कोष नियन्त्रक ज्ञवालीको भनाइ छ ।
विवरण प्राप्त भएका गोरखा नगरपालिका, पालुङटार नगारपालिका, आरुघाट, गण्डकी, धार्चे, भिमसेन थापा, शहिद लखन, सिरानचोक गाउँपालिकाको खातामा ६३ करोड ९८ लाख ४८ हजार रुपैयाँ वित्तीय हस्तान्तरण गरिएको प्रमुख कोष नियन्त्रक ज्ञवालीले जानकारी दिए । तीनवटा स्थानीय तहले विवरण बुझाएलगत्तै पहिलो किस्तावापत १५ करोड ७४ लाख ७५ हजार रुपैयाँ वित्तीय हस्तान्तरण गरिने कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । कार्यालयले वित्तीय समानिकरण अनुदानअन्तर्गत हरेक आव ४ किस्तामा सम्बन्धित स्थानीय तहको सञ्चित कोषमा बजेट निकासा गर्ने गर्दछ । वित्तीय समानीकरण अनुदानको पहिलो किस्ता अर्थात् कुल बजेटको एक चौथाइ रकम साउन २५ गते, दोस्रो किस्ता कात्तिक २ गते, तेस्रो किस्ता माघ २ र अन्तिम किस्ता वैशाख २ गते स्थानीय सञ्चित कोषमा हाल्नुपर्ने हुन्छ । यो रकम स्थानीय तह आफैंले छनोट गरेका योजना कार्यान्वयनमा खर्च गर्नुपर्ने हुन्छ । यस्तै, शशर्त अनुदानको रकम सामान्यतया साउन १, मंसिर र चैत गरी ३ किस्तामा रकम उपलब्ध गराउनुपर्नेछ । तर स्थानीय तहको खर्च विवरणका आधारमा अर्थ मन्त्रालयको सिलिङअनुसार आवश्यकता अनुसार थप किस्ता पनि उपलब्ध गराउन सकिने प्रमुख कोष नियन्त्रक ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्