भाडादर निर्धारणका लागि कार्यदल गठन «

भाडादर निर्धारणका लागि कार्यदल गठन

गोरखा-गोरखामा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण हुने भएको छ । गत वर्ष निर्धारण गरिएका सडक रुटको भाडा पुनरावलोकनसहित नयाँ रुटको भाडादर निर्धारणका लागि सिफारिस गर्न कार्यदल गठन गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा मंगलबार भएको बैठकले प्रशासकीय अधिकृत गौतम भण्डारीको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको हो । जसको सदस्यहरूमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्च गोरखाका उपाध्यक्ष किरण लोहनी, यातायात व्यवसायी समिति गोरखाका वरिष्ठ उपाध्यक्ष देवराज श्रेष्ठ, पृथ्वी यातायात व्यवसायी समितिका कार्यालय प्रमुख राजन ढुंगाना, गोरखा मनकामना यातायात प्रालिका उपाध्यक्ष ताराबहादुर खड्का छन् ।
यातायात मजदुरहरूका तर्फबाट एक सदस्य थपेर गठन हुने कार्यदलले एक हप्ताभित्र जिल्लाका विभिन्न रुटमा सार्वजनिक यातायातको भाडादर निर्धारणका लागि सिफारिस गर्नेछ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला यातायात व्यवस्थापन समितिले सोही सिफारिसका आधारमा जिल्लाको सार्वजनिक यातायातको भाडादर निर्धारण गर्नेछ । विगतमा भाडादर निर्धारण गरिएका रुटको वर्तमान अवस्थाका आधारमा र नयाँ रुटमा विभिन्न सरकारी मापदण्डका आधारमा भाडादर निर्धारणका लागि सिफारिस गर्ने कार्यदलका संयोजक प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए । “इन्धनको मूल्यलाई ३५ प्रतिशत र अन्य सूचकलाई ३५ प्रतिशत आधार मानेर भाडादर निर्धारणका लागि सिफारिस गर्छौं,” उनले भने, “सडकको अवस्था, यात्रुहरूको चाप, यातायात मजदुरको पारिश्रमिक एवं भत्ता, सवारी साधनको मर्मतमा लाग्ने सम्भाब्य खर्च लगायतलाई पनि भाडादर निर्धारणको आधार बनाउनेछौं ।”
गोरखामा गत वर्ष ८ वटा रुटको मात्रै भाडादर निर्धारण गरिएको थियो । साविकमा भाडा निर्धारण भैसकेपछि केही सडक कालोपत्रे भएको र केहीको ग्राभेल गरिएकाले भाडादर पुनरावलोकन गर्नुपरेको जिल्ला यातायात ब्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । बैठकमा यातायात व्यवसायीहरूले भने विगतमा ग्राभेल गरिएका कतिपय सडक कच्ची सडक सरह बनिसकेकाले त्यस्ता रुटको भाडादर बढाउनु पर्ने बताएका थिए । इन्धनको मूल्य पटक–पटक बढे पनि जिल्लाको भाडादर २०६९ सालदेखि यथावत रहकाले त्यसलाई पनि बढाउनुपर्ने उनीहरूको तर्क थियो । कार्यदलले असोज ९ गतेसम्ममा सार्वजनिक यातायातको भाडादर निर्धारणका लागि सिफारिस गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्