५० प्रतिशत विद्यालय पुनर्निर्माण

विद्यालय पुनर्निर्माणमा आर्थिक स्रोतको अभाव झेलिरहेको सरकारले २ वर्षमा ५० प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न गरेको छ ।
भूकम्प गएको अढाई वर्षपछि नेपाल सरकार र विकास साझेदारको सहयोगमा भूकम्प प्रभावित ३१ जिल्लाका लगभग ४ हजार विद्यालयको पुनर्निर्माण सम्पन्न गरेको हो । विद्यालय पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्रधिकरणको पोष्ट डिजास्टर रिकोभरी फ्रेमवर्क (पीडीआरएफ) अनुसार देशभरका भूकम्प प्रभावित सबै विद्यालय पुनर्निर्माण गर्न १ खर्ब ६७ अर्ब लाग्ने अनुमान गरेको भए पनि हाल पूर्ण रूपमा क्षति भएका विद्यालयको संख्या १ हजार घटेपछि हाल १३० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तर हालसम्म ७० अर्ब रुपैयाँको स्रोत सुनिश्चित भएमध्येबाट ५० प्रतिशत विद्यालय निर्माण सम्पन्न भएको हो ।
बुधबार प्रधिकरणले पुनर्निर्माणको २ वर्षे समीक्षा प्रतिवेदन सार्वजनिक गरी विद्यालय पुनर्निमार्णको काम ५० प्रतिशत सम्पन्न भएको जानकारी दिएको थियो । ३३ महिनाअघि गएको विनाशकारी भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ५३ विद्यालयमध्ये हालसम्म ३ हजार ७ सय ४५ वटा अर्थात ५० प्रतिशत विद्यालय पुनर्निर्माणको काम पूरा भएको हो । थप विद्यालय पुननिर्माणका आर्थिक स्रोत अभाव रहे पनि २ वर्षको अवधिमा विकास साझेदारको सहयोग र सरकारले जुटाएको ७० अर्ब रुपैयाँबाट लगभग ४ हजार विद्यालयको पुनर्निमार्ण कार्य सम्पन्न भएको छ । पुनर्निर्माणका लागि आर्थिक स्रोतको अभाव बाबजुत ५० प्रतिशत काम सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्रधिकरणले जनाएको छ । भूकम्पपछि विद्यालय पुनर्निर्माणका लागि गठन गरिएको शिक्षा मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई (सीएलपीआईयू)ले ७ हजार ५ सय ५३ विद्यालयमध्ये २ हजार ७ सय ४१ विद्यालय अर्थात ३६ प्रतिशत पुनर्निर्माण सम्पन्न भइ पठनपाठन समेत सुचारु भइसकेको जनाएको छ । यसरी नै १ हजार ४ विद्यालय अर्थात १३ प्रतिशत निर्माण सम्पन्न हुने क्रममा छन् ।
विद्यालय पुनर्निमाणको लागि सरकारले ढिलो गरी गठन गरेको शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (सीएलपीआईयू)ले लक्ष्यअनुसार पुनर्निर्माणको काम अघि बढाइरहे पनि सबै पुनर्निर्माण कार्य समयमा सम्पन्न गर्न अझै पनि आवश्यक थप आर्थिक स्रोत अभाव रहेको जनाएको छ ।