निर्मलाको न्यायका लागि कांग्रेस कञ्चनपुरको प्रदर्शन «

निर्मलाको न्यायका लागि कांग्रेस कञ्चनपुरको प्रदर्शन

कञ्चनपुर-निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनाको ५४ औं दिनमा प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीको झण्डासहित प्रदर्शनमा उत्रिएको छ । भएको ५४ औं दिनपछि कांग्रेस पार्टीको झण्डासहित आधिकारिक रुपले प्रदर्शनमा उत्रिएको हो ।
सदरमुकाम महेन्द्रनगरस्थित पार्टी कार्यालयबाट पार्टी र भ्रातृ संगठनका झण्डासहित सुरु भएको प्रदर्शन बजार परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । प्रदर्शनकै क्रममा कांग्रेसले निर्मलाका हत्यारालाई तत्काल पक्राउ गरेर कानुनी दायरामा ल्याउन माग गर्दै स्थानीय प्रशासनमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रदर्शनमा कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरासहितका पदाधिकारी तथा जिल्ला सदस्यहरु, पूर्व जिल्ला सभापति यज्ञराज जोशी, पूर्वसांसद गंगादत्त जोशी, पूर्वजिविस उपसभापति पुस्करराज ओझा, भ्रातृ तथा शुभेच्छुक संगठनका प्रमुखलगायतका नेता–कार्यकर्ता तथा स्थानीयवासीको सहभागिता थियो ।
स्थानीय प्रशासनमा ज्ञापनपत्र बुझाएपछि स्थानीय मदन चोकमा आयोजित कोणसभामा बोल्ने सबै नेताहरुले निर्मला पन्तका बलात्कारीलाई जोगाउन प्रहरीले सुरुबाटै भूमिका खेलेको र सरकार बलात्कारीको संरक्षणमा लागेको भन्दै आपत्ति जनाए ।
निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तसमेत सहभागी रहेको कांग्रेसको प्रदर्शनका क्रममा हत्यारालाई सरकारले नै जोगाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै चर्को नाराबाजी गरिएको थियो ।
असोज ७ गतेसम्म सरकारले वास्तविक हत्यारा सार्वजनिक गरेर निर्मलाका आमा–बुबालाई न्याय नदिए कांग्रेसले चरणवद्ध आन्दोलनको घोषणा गर्ने बताइएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला गत साउन ११ गते घर नजिकैको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्