Logo

मुख रसाउने मःम

केही समययता नेपाली राजनीतिमा मःम ले निकै स्थान पायो– ‘नेपालीहरू रेस्टुरेन्टमा गएर मेनु सबै हेर्छन् तर अन्तमा मःम, चाउमिन नै अर्डर गर्छन् ।’ मःम अर्थात् नेपालीको सबैभन्दा मन पर्ने खाजा ।
पछिल्लो समय निकै राम्रो व्यवसायको रूपमा पनि अगाडि आएको छ मःम । छिटो र मिठो खाजाको रूपमा लिइने मःम नेपालमा ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएकैले सडकका साधारण ठेला गाडादेखि तारे होटलसम्ममा यो उपलब्ध छ । मःम का लागि नै भनेर खोलिएका होटलमा त भीड हुने नै भयो । जाडो महिनामा त झन् यसको व्यापारमा तीव्रता आउने व्यवसायीहरू बताउँछन् ।
साधारण आयस्तर भएकादेखि उच्च आयस्तर भएका व्यक्तिहरूले समेत स्वाद लिने मःम गुणस्तर तथा सेवाको आधारमा सस्तोदेखि महँगोसम्म पाइन्छ । गुणस्तरीय मःमको माग बढ्दै गइरहेको बेलामा मःमको ब्रान्डिङ पनि हुन थालेको छ । पछिल्लो समय ग्राहकको ध्यान स्वस्थकर खाजामा गइरहेको बेलामा ब्रान्डेड अर्थात् नाम चलेका मःमको व्यापारको सफलता पनि तिव्र रूपमा अघि बढ्दै गइरहेको छ । नाम चलेका मःम ब्राण्डले आफ्नो शाखा पनि तीव्र रूपमा अगाडि बढाएको देखिन्छ । डल्ले मःम, बोता मःम, क्लासिक मःम, बनानाज मःम, कचिलाज मःमजस्ता नाम चलेका मःमप्रति ग्राहकको बढ्दो आकर्षण यसको उदाहरण हो ।
देशको अर्थतन्त्र ओरालो लागिरहेका बेला नेपालमा केही हुँदैन भन्नेहरूका लागि मःम व्यवसायबाट करोडौं कमाउने काठमाडौंमा छन् भन्दा अनौठो लाग्दैन । काठमाडौंबासीले मःमलाई साँच्चै नै माया गर्ने गरेको निर्वाचनपछिको ट्विटर तथा फेसबुकजस्ता सामाजिक सञ्जालमा चलेका ठट्टाले पनि पुष्टि गर्छ ।
मनी टक्स नामक टिभी कार्यक्रमका अनुुसार जाडो महिनामा मात्र दैनिक १२ लाख मनिसले मःम खान्छन् । दरिलो बजार व्यवस्थापन गर्न सक्ने हो भने यसले २० प्रतिशत बजार ओगट्ने देखिन्छ । राजधानीमा मात्र मःमको व्यापार दैनिक १५ करोड, मासिक ५ अर्ब र वार्षिक ६० अर्ब रुपैयाँ हुने गर्छ । साधारणतया होटलहरू व्यापारमुखी मात्र भएको देखिन्छ । ग्राहकको स्वास्थ्य र सत्कारमा भने कमी आएको कारण पछिल्लो समय मःम रेष्टुराँप्रति ग्राहकको आकषण बढ्दै गएको पाइन्छ ।
केही नयाँपन तथा नौलो स्वादका साथ पनि मःम रेस्टुरन्टहरू खुलेका छन् । सबैले केही नयाँ र नौलो परिकारहरू उपलब्ध गराउँदै आएका छन् । यसै क्रममा डल्ले मःम, बोता मःम, क्लासिक मःम, बनानाज मःम, कचिलाज मःमजस्ता केही नौला मःमका स्वादप्रति ग्राहक आकर्षित भएको पाइन्छ ।

डल्ले मःम
पछिल्लो समय नेपाली बजारमा मःमको माग बढ्दै गइरहेकोले स्वादका साथै गुणस्तरलाई पनि ध्यानमा राखी थुपै्र होटल रेष्टुराँ सञ्चालनमा आइरहेका छन् । डल्ले मःमः रेष्टुराँका सञ्चालक आलोक योञ्जन र सुवास गौचन ग्राहकको स्वास्थ्यलाई र गुणस्तरयुक्त खानालाई ध्यानमा राखेर सञ्चालनमा ल्याएको कारणले डल्ले मःम सबै ग्राहकको रोजाइमा पर्न सफल भएको बताउँछन् ।
मःम भन्नेबित्तिकै साधारणतया हामी फास्ट फुडको रुपमा लिने गर्छौंं । गुणस्तरमा पनि त्यति ध्यान दिँदैनौं । सफा तथा स्वस्थ खानामा ध्यान दिने ग्राहकको रोजाइमा परेको डल्ले मःम परिचित रेष्टुराँ भइसकेको छ । नेपाली ग्राहक र पर्यटकलाई पनि आकर्षण गर्न डल्ले मःमले ग्राहकको स्वास्थ्यलाई विशेष ध्यानमा राखेको बताउँछन् सञ्चालक । २०११ डिसेम्बरमा कमलादीमा स्थापना गरेलगत्तै गल्फुटार, भाटभटेनी, नक्साल, लबिम मल, जावलाखेल हुँदै यसै हप्ता काठमाडौँको ठमेलमा नयाँ शाखा विस्तार हुन लागेको सञ्चालकले बताए ।
यसैगरी मैतीदेवीमा केही समयअगाडि मात्र मुख्य कार्यालय सञ्चालनमा ल्याएको डल्लेले ६ वर्षको अवधिमा सफलता र ग्राहकको रोजाइमा पर्न धेरै मेहनत गरेको रेष्टुराँले जनाएको छ । रेष्टुराँका म्यानेजर दिवस योञ्जनका अनुसार विशेषगरी खानामा समेत पोषण मापन गरेर ग्राहकको स्वास्थ्यलाई ध्यान दिइन्छ । यसका साथै महिला कर्मचारीलाई विशेष प्राथमिकता दिने गरेको पनि उनले जनाए । रेष्टुराँमा ३० प्रतिशत महिला कामदार रहेका छन् भने ०७७ सालसम्ममा ५० प्रतिशत महिला कर्मचारी पुर्याउने लक्ष्य लिएको छ ।

बोता मःम
सालको हरियो पात सिन्काले खुटेर गाँँसिने दुनाभन्दा ठूलो अनि टपरीभन्दा सानो आकारको बाटुलो दुनालाई बोता भनिन्छ । यही बोतालाई प्रयोगमा ल्याउँदै निभेन अमात्यले बोताको नामबाट मःम चेन रेस्टुरेन्ट खोलेका हुन् । बोता विभिन्न समुदायमा विभिन्न प्रयोजनका लागि प्रयोग गरिन्छ ।
तर, निभेनले बोतालाई मःमसँग जोडेर नयाँ प्रयोग गरे । रविभवनस्थित लिंकन स्कुलबाट १२ कक्षा सकेर अमेरिका र लन्डनबाट इन्टरनेसनल बिजनेस पढेका निभेनले अमेरिका र लन्डनमा बस्दा धेरै फुड चेनहरू देखेका थिए । त्यसैको सिको गर्दै उनले नेपालमा मानिसहरू मःमप्रति आकर्षित देखेर करिब ७० लाखको लगानीमा मःमको चेन रेस्टुरेन्ट खोलेका हुन् ।
नेपालीमाझ पपुलर मःम देखेपछि निभेनले वातावरणमैत्री प्लेट बोतालाई प्रयोग गर्ने र हरियो कलरलाई थिममा प्रयोग गर्ने आइडिया लगाएर मःमको बिजनेस सुरु गरेका हुन् ।
बोेता रेस्टुराँमा नवलपरासीको सालकोे पातले बनेको बोतामा मःम दिइन्छ । “नवलपरासीका बेरोजगार मानिसहरूलाई पनि रोजगार मिलोस् र बोता मःम अन्यभन्दा छुट्टै किसिमको र आफ्नै ढाँचामा खानालाई गुणस्तरीय बनाउन खोलेको निभेनले बताए ।
बोता रेस्टुरामा मःमबाहेक हाकु छोइला, बोडी, पिरो आलु, आलु फ्राई, डल्ले फ्राई, डल्ले चिल्ली, ससेज स्टिक, हाक्कु तारेको, फ्राइ राइस आदि परिकार पाइन्छ । त्यस्तै बोतामा आठ प्रकारका अचार पनि पाइन्छ । निभेनले बोतालाई विस्तार गर्दै लैजाने योजना बनाएका छन् ।
बोता मःम अनामनगर, कुमारीपाटी, कमलपोखरी र झोँछेमा उपलब्ध छ । त्यस्तै गत साता कुलेश्वरमा पनि बोता मःमले ब्रान्च खोलेको छ । बोताले २ सय जनालाई रोजगारी दिएको छ । यसमा पनि महिलाहरूलाई बढी प्राथमिकता दिएको पाइन्छ । आउने दिनमा भक्तपुर, धरान, पोखरा, विराटनगरमा पनि शाखा खोल्ने निभेनले बताए ।
“बोता मःमको उद्देश्य ग्राहकमाझ उच्च गुणस्तरीय खाजा सुपथ मूल्यमा सजिलो तरिकाले खुवाउनु हो,” बोता मःमका अपरेशन म्यानेजर भुवन आचार्यले बताए ।

केराको पनि मःम
पुतलीसडकमा रहेको शुभम् फास्ट फुड एण्ड बाबा हेम बनाना क्याफेमा सम्पूर्ण केराको परिकार पाइन्छ । काठमाडौंमा मात्र होइन, चितवनमा पनि केराको मःम पाउन सकिन्छ । काठमाडौंमा २ वर्षअघि मित्रपार्कमा स्थापना गरिएको केरा मःमको रेष्टुरेन्टको क्रेज बढेका कारण शाखा विस्तार गर्ने क्रममा पुतलीसडकमा पनि खोलिएको क्याफेका सञ्चालक हरिराम सिंखडाले बताए । केरा मःमको स्वाद थोरै समयमा नै धेरै मानिसको जिब्रोमा बस्न सकेको र धेरै नै चर्चामा आउन सफल भएको छ । सबै परिकार काँचो केराबाट तयार गरिन्छ र पाकेको केरालाई लस्सी बनाउन प्रयोग गरिन्छ ।

क्लासिक मःम
काठमाडौंको नक्सालमा स्थापित क्लासिक रेस्टुरेन्ट नेपालको एक चर्चित मःम रेस्टुरेन्टमध्ये पर्छ । यहाँ नेपालीमात्र नभई विदेशी पर्यटक पनि आउने गर्दछन् । २०७२ मा स्थापना भएको क्लासिक रेस्टुरेन्टको २ वर्षभित्रै हालसम्म ठमेल, खिचापोखरी, टेकु, इण्डियाको बैंग्लोर गरी ५ ठाउँमा रहेको छ । अब पोखरामा पनि चाँडै खुल्ने जनरल म्यानेजर तीर्थराज घिमिरेले बताए । नेपाल बाहिर शाखा खोल्ने क्लासिक मःम सम्भवतः पहिलो मःम हुनुपर्छ । नेपाल बाहिरको शाखा पनि विस्तार गर्दै जाने उनले बताए ।
क्लासिक मःममा पनिर मःम, बफ मःम, चिकेन मःम मसरुम मःम, बनाना मःम, भेज मःम, मःम पिज्जा आदि पाइन्छ ।

कचिलाज मःम
केही नयाँ र नौलो स्वादको लागि काठमाडौँमा खोलिएको कचिलाज मःमले पनि विस्तारै आकर्षण बढाउँदै लगेको पाइन्छ । २०७१ सालमा सुरु भएको यस रेष्टुराँ हाल पुतलीसडकमा रहेको छ । यसका सञ्चालक महेन मानन्धर हुन् ।
नेवारी भाषामा कचिला भनेको छाला र बोसो नमिसिएको मासुको किमा भन्ने बुझिन्छ । यस्तै तरिकाबाट मःम तयार गरिने भएकाले यस होटलको नाम कचिलाज मःम राखिएको हो ।

मःमका प्रकार
स्टिम
फ्राइ
सी
पोलेको
साँधेको
कोथे
सुप
ओपन
झाँनेको

यसरी बनाउन सकिन्छ घरमै मःम
चाहिने सामग्री

किमा : एक किलो
ताप्याज : १५० ग्राम
लसुन : ५० ग्राम
खुर्सानी : स्वादअनुसार
नुन : स्वादअनुसार
मःम मसला : २५ ग्राम
अजिनामोटो : १५ देखि २० ग्राम
मैदा : ३ सय ग्राम

बनाउने तरिका
प्याज, लसुन, खुर्सानी, नुन, मःम मसला, अजिनामोटोलाई किमामा मिक्स गर्ने । यति भएपछि पिठो मुछ्ने र हातमा तेल लगाएर एकछिन घस्ने । एकैछिनपछि स–साना रोटी बनाउने ।
साना रोटी बनाएपछि हरेक १०–१५ ग्राम किमा राख्ने । यति हुँदै गर्दा मःम पकाउने भाँडाको तल पानी राखेर उमाल्ने र बनाइएका मःम त्यसको माथिल्लो भागमा थोरै तेल लगाएर राख्ने अनि ढक्कन लगाउने ।
चिकेन मःम हो भने ५ देखि ६ मिनेटमा पाकिसकेको हुन्छ । यदि मटन, बफ मःम हो भने ८ देखि १० मिनेट लाग्छ । र, आफूलाई आवश्यक चटनी अथवा सुपसँग मज्जाले मःम खान सकिन्छ ।

 

रिना खत्री, यशोदा सुनुवार, मेलिना तामाङ
प्रशिक्षार्थी

प्रतिक्रिया दिनुहोस्