दर्ता नगरी सञ्चालित क्लिनिकमा शिलबन्दी

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसाय दर्ता नगरी सञ्चालनमा रहेको काठमाडौंको माइतीघरस्थित जीवन वेयलनेस सेन्टर प्रालिमा शिलबन्दी गरेको छ । विभागले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भए पनि स्वास्थ्यसँग सम्बन्धित कुनै पनि निकाय र औषधि व्यवस्थापन विभागमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको फेला पारेपछि क्लिनिकमा शिलबन्दी गरेको हो ।
सम्बन्धित निकायबाट सञ्चालन अनुमति नलिई सञ्चालन गरेकाले तीन दिनभित्र आवश्यक कागजपत्रसहित उपस्थित हुन क्लिनिक सञ्चालकलाई निर्देशन दिइएको विभागले जानकारी दिएको छ । सो क्लिनिकबाट अनुसन्धानका लागि विभागको टोलीले विल प्याड नियन्त्रणमा लिएको छ । क्लिनिकबाट म्याद नाघेका ट्रिमोहिल्स हेल्थ जुस ५ सय एमएलको १५ बोतल, निम्वादी चुर्ण एक सय ग्रामको एक डिब्बा नष्ट गरिएको विभागले जानकारी दिएको छ । त्यस्तै बिक्री वितरण गर्न नमिल्ने शक्ति गोल्ड २४ पिस जफत गरिएको छ ।
यस्तै विभागको टोलीले भक्तपुरको बालकोटस्थित न्यू–दुर्गा सपिङ सेन्टरमा अनुगमन गर्दा व्यवसाय दर्ता, प्यान दर्ता नवीकरण नभएको र नापतौल मेसिन प्रमाणीकरण नभएको फेला पारेको छ । सो पसलबाट म्याद नाघेका फेन्टा, विस्कुट, बीएमसी मसला नष्ट गरिएको छ । म्याद नाघ नाघेका सामान छुट्टै राख्न र लेबल नभएका सामान वितरण नगर्न र व्यवसाय दर्ता नवीकरण, प्यान दर्ता र नापतौलको मेसिन प्रमाणीकरण गरी सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको विभागले जनाएको छ ।
विभागले बालकोटस्थित सन्देश कलर हाउसमा नापतौल मेसिन प्रमाणीकरण नगरी सञ्चालन गरेको भेटेको छ । सोही स्थानमा रहेको वैभव सप्लायर्समा व्यवसाय दर्ता नवीकरण नभएको र नापतौल प्रमाणीकण नभएको फेला परेपछि तत्काल प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ ।
पछिल्लो समय विभागले बजार अनुगमनको कामलाई तीव्र रूपमा अगाडि बढाएको छ । अनुगमनका क्रममा म्याद नाघेका सामान, लेबल नभएको, मूल्य सूची नराख्ने, व्यवसाय दर्ता नगरेको, नापतौल प्रमाणीकरण नभएको जस्ता समस्या धेरै हुने गरेको देखिएको छ । विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बजार अनुगमनसँगै कैफियत भेटिएका व्यवसायीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको बताए । विभागले विशेष गरी खाद्य तथा किराना पसल, हार्डवेयर, औषधि तथा किराना पसलमा अनुगमन गर्दै आएको छ ।
कुनै पनि सामानमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने कानुनी व्यवस्था भए पनि व्यवसायीले तेव्बरसम्म मूल्य लिई उपभोक्ता ठगिरहेका छन् । विभागले बजार अनुगमन गरे पनि उपभोक्ता ठग्ने व्यवसायीलाई कारबाही नहुँदा बजार व्यवस्थित बन्न नसकेको उपभोक्ताको भनाइ छ । बजार अनुगमन गरे पनि तत्काल कारबाही गर्ने अधिकार नहुँदा बजार स्वच्छ बन्न नसकेको विभागका कर्मचारी बताउँछन । उपभोक्तासम्बन्धी थुप्रै ऐन नियम भए पनि कार्यान्वयनमा आउन नसक्दा बजार व्यवस्थित र मर्यादित बन्न नसकेको हो ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना बजार अनुगमन गरे पनि उपभोक्ता ठग्ने व्यवसायीलाई कारबाही नहुँदा ठगी, कालोबजारी, मिसावट जस्ता समस्या नियन्त्रण हुन नसकेको बताए ।