सरकारी सिटामोल एक महिनाभित्रै «

सरकारी सिटामोल एक महिनाभित्रै

सरकारले एक महिनाभित्र सिटामोल औषधिको उत्पादन सुरु गर्ने भएको छ । सिटामोल उत्पादनका लागि ९० प्रतिशतभन्दा धैरै प्राविधिक तथा व्यवस्थापकीय काम पूरा भएको भन्दै माघभित्रै सिटामोल उत्पादन हुने सरकारले जनाएको छ । नेपाल औषधि लिमिटेडले मंगलबार पत्रकार सम्मेलन गरी उद्योग पुनः सञ्चालन भएपछिका कार्यप्रगति र भावी योजना सार्वजनिक गरेको हो ।
औषधि लिमिटेडले सिटामोलका लागि आवश्यक कच्चापदार्थ आयात भइसकेको जनाएको छ । दुइटा मेसिन भने भारतबाट आउँदै गरेको कम्पनीका महाप्रबन्धक डा. रोभस कुसम सुवेदीले जानकारी दिए । “अहिलेसम्मको तयारीअनुसार एक महिनाभित्र सिटामोल उत्पादन भइसक्छ, सिटामोल उत्पादन सुरु भएपछि हरेक महिना एउटा-एउटा उत्पादन थप हुनेछन्,” उनले भने, “कच्चा पदार्थ आइरहेको छ, दुइटा मेसिन आउने क्रममा छन्, प्याकेजिङ तथा वितरणका लागि बोलपत्रसमेत आह्वान भइसकेको छ ।” सिटामोल, एमजिट, आइरन चक्की, जीवनजल, नेमोक्सिल, डिस्टिल वाटर, कफहिस्टलगायतका औषधि पहिलो चरणमा उत्पादन गर्दै जाने लिमिटेडको तयारी छ ।
यसअघि कम्पनीले गत वैशाख २४ गतेदेखि जीवनजलको उत्पादन गर्दै आएको छ । असोजभित्रै सिटामोलको उत्पादन गर्ने भनिए पनि कच्चा पदार्थ तथा मेसिनको आयात तथा भन्सार प्रक्रियाका कारण केही ढिलाइ भएको सुवेदीले बताए । हाल ट्याबलेट उत्पादन एकाइ तयार भइसकेको औषधि लिमिटेडले जनाएको छ । अहिले स्टान्डर्ड अपरेटिङ प्रोड्युसर, विधि विकास, कच्चा पदार्थ, प्याकेजिङ सामग्री लगायतका विधि विश्वस्तरीय मापदण्डअनुसार तयार गरिएको औषधि लिमिटेडले जनाएको छ । ८ वर्षसम्म बन्द भई सञ्चालनमा आएको लिमिटेड पूर्ण सरकारी स्वामित्वको हो । बन्द हुनुपूर्व १ सयभन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको कम्पनीमा विश्वस्तरीय जीएमपी (गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) अनिवार्य गर्न परेपछि बन्द भएको थियो । पछि सरकारले सोका लागि थप रकम निकासा गरेपछि सञ्चालनमा आएको हो । सरकारले १४ करोड ६५ लाख रुपैयाँ निकासा गर्ने भने पनि हालसम्म ६ करोड रुपैयाँ मात्रै निकासा गरेको छ । निर्धारित समयमा सिटामोल उत्पादनका लागि बजेट अभाव र वस्तु तथा सेवा कर (जीएसटी) समस्या रहेको महाप्रवन्धक डा. सुवेदीले बताए । औषधिमा आत्मनिर्भर बन्ने उद्देश्यले २०२९ सालमा स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्