संविधान दिवसलाई प्रदेश–२ सरकारले कालो दिवस मनाउने «

संविधान दिवसलाई प्रदेश–२ सरकारले कालो दिवस मनाउने

राष्ट्रिय जनता पार्टी र प्रदेश नम्बर २ को सरकारले संघीय सरकारले मनाउने संविधान दिवसलाई कालो दिवसको रूपमा मनाउने भएका छन् । प्रदेश सरकारले कालो दिवस मनाए संघीय सरकारले त्यसलाई खारेजसम्म गर्न सक्ने सम्भावित कदमको पूर्वानुमानसमेत गरी यो निर्णय गरिएको पार्टीका नेताहरूले बताएका छन् ।
पार्टीका नेताहरूले जनताको म्यान्डेट अनुसार संविधान संशोधनका लागि निर्वाचनमा भाग लिएको र प्रदेश नम्बर २ मा सरकार बनाएको बताएका छन् । प्रदेश नम्बर दुई कसैको निगाहमा नभई त्यहाँको जनताको मतका आधारमा गठन भएकोले प्रदेश नम्बर दुईको सरकारमा सहभागी मन्त्रीहरूले संविधान दिवसलाई कालो दिवस समारोहमा सरिक हुने भएका छन् ।
राष्ट्रिय जनता पार्टीले हालै कालो दिवस मनाउन गरेको निर्णयबाट संघीय समाजवादी फोरम नेपाल भने समस्यामा परेको छ । उपाध्यक्ष रेणु यादव र मुख्यमन्त्री लालबाबु राउतलगायत नेताले कालो दिवस मनाउने भएका छन् भने पार्टीले यस्तो निर्णय अहिलेसम्म गरेको छैन ।
फोरमका अध्यक्ष उपेन्द्र यादव अहिले संघीय सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री हुन् । आफंै सरकारमा रहेका बेला पार्टीले सरकारको विरोध गर्नु वा नगर्नु भन्ने निर्णय गर्न नसकिरहेका बेला उपाध्यक्ष रेणु यादवको समूहले कालो दिवस मनाउने बताएको छ ।
राजपाले आफ्ना अध्यक्ष मण्डलका सदस्यहरूलाई मेचीदेखि महाकालीसम्म आयोजना हुने कालो दिवस समारोहमा सरिक हुने निर्णय गरेको छ । सो अनुसार अध्यक्षहरू सम्बन्धित जिल्लामा पुगिसकेको उपाध्यक्ष सत्यनारायण मण्डलले जनाए ।
अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर प्रदेश नम्बर २ को पर्सा बारामा हुने कार्यक्रममा सरिक हुनेछन् । अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र अनिल कुमार झा प्रदेश नम्बर ५को बाँके–बर्दिया र प्रदेश नम्बर ७ को कैलाली–कञ्चनपुरमा आयोजना हुने कालो दिवस कार्यक्रममा सरिक हुनेछन् । महेन्द्र राय यादव नवलपरासी, रुपेन्देही र कपिलवस्तुमा आयोजना हुने कार्यक्रममा सरिक हुनेछन् ।
प्रदेश नम्बर १ को झापामा शरतसिंह भण्डारी र मोरङ सुनसरीमा राजकिशोर यादव सरिक हुने कार्यक्रम रहेको छ । पार्टीले प्रदेश नम्बर २ का मन्त्रीहरूलाई विभिन्न जिल्लामा आयोजना हुने कार्यक्रममा सरिक हुन निर्देशन गरेको छ ।
प्रदेश नम्बर २ को सरकारले कालो दिवस मनाए संघीय सरकारबाट हुन सक्ने परिणामका बारेमा राजपा स्पष्ट रहेको उपाध्यक्ष मण्डलले बताए । उनले भने, “संघीय सरकारले प्रदेश सरकारलाई खारेज गर्नसम्म गर्छ । त्यसबारे हामी ढुक्क छौं । हामी चाहन्छौं, संघीय सरकारले यस्तो गरोस् ।”

प्रतिक्रिया दिनुहोस्