ग्लोबल आईएमई बैंक र न्युरो कार्डियो हस्पिटलबीच सम्झौता

ग्लोबल आईएमई बैंक र न्युरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटल, विराटनगरबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्भौतापत्रमा न्यूरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलका सञ्चालन निर्देशक राजेश भट्टराई र ग्लोबल आईएमई बैंक विराटनगरको शाखाप्रबन्धक शशिशेखर शर्माले हस्ताक्षर गरेका थिए ।
ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरू ल्याइरहेको छ । उक्त सम्झौतापश्चात् न्युरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलका, विराटनगरमा उपचार गराउँदा ग्लोबल आईएमई बैंकका कार्ड लिएका ग्राहक, ग्लोबल आईएमई बैंकका कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।