चीनको सैन्य र आर्थिक शक्ति अकाट्य «

चीनको सैन्य र आर्थिक शक्ति अकाट्य

वासिङटन-अमेरिकाले एसिया–प्रशान्त क्षेत्रमा चीनलाई उदीयमान सैन्य शक्तिको रुपमा हेर्नुपर्ने र उसका लागि स्थान दिनुपर्ने एक विज्ञले बताएका छन् ।
“एसिया सुरक्षाका लागि आधारभूत रुपमै अमेरिकामा निर्भर रहने छैन । तर चिनियाँ नेभी, सेना र वायु सेनाको मजबुतीमा वृद्धि भइ रहेको छ । यसले बहुधु्रविय अवस्थाको सिर्जना गरेको छ अस्थिर सैन्य वातावरणको सिर्जना गरेको छ,” परामर्शदातृ फर्म युरेसिया ग्रुपका वरिष्ठ सल्लाहकार रोबर्ट काप्लानले बताए ।
शनिबार सिंगापुर समिटको समयमा बोल्दै उनले भने,“एसियाभित्र क्षेत्रिय महत्वकांक्षा नभएको तर एसियामा सक्रिय रहेको अमेरिका एकमात्र मुलुक हो ।”
“यी मामिलामा यदी अमेरिकाको भूमिका घट्यो भने एसियाको स्थायित्वको अवस्थामा परिवर्तन आउन सक्ने मलाई लागेको छ,”काप्लानले बताए ।तर चीनको सैन्य उदयलाई अस्वीकार गर्न नसकिने उनले बताए ।
“एसियामा उदाइरहेको चीनको सैन्य र आर्थिक शक्तिलाई अमेरिकाले स्थान दिनुपर्छ । सवाल यो छ कि कति स्थान दिने हो । एसियालाई एक ध्रुविय सुरक्षाबाट बहुधु्रविय सुरक्षामा बदल्नका लागि कम्तीमा पनि सुक्ष्म नीतिको आवश्यकता पर्छ,” काप्लानको निश्कर्ष छ ।
अमेरिका २०१७ मा ट्रान्स–प्यासिफिक पार्टनरशीप (टीपीपी) व्यापार सम्झौताबाट फिर्ता भएको थियो । तर गत महिना अमेरिकाले एसिया–प्रशान्त क्षेत्रका लागि ११ करोड ३० लाख डलरको पूर्वाधार खर्चको घोषणा गरेको थियो । यसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको कथित इन्डो–प्यासिफिक रणनीतिको अंशको रुपमा लिइएको छ । यसमा प्रविधि, उर्जा र पूर्वाधारमा जोड दिने नयाँ साझेदारीलाई समावेश गरिएको छ ।
अर्कातिर चीनले साउथ चाइना सीमा आफ्नो उपस्थितिलाई बढाइरहेको छ र बृहत् बेल्ट एन्ड रोड इनिसियटिभबाट आफ्नो प्रभुत्वलाई विस्तार गरिरहेको छ ।
चीनले बृहत बेल्ट एन्ड रोड पूर्वाधार कार्यक्रमको माध्यमबाट विस्तार गरिरहेको आर्थिक र राजनीतिक प्रभावलाई प्रतिकार गर्न अमेरिकाले इन्डो–प्यासिफिक नीति सञ्चालनमा ल्याएको विश्वास गरिएको छ । अमेरिकाले कोष उपलव्ध गराएको यो योजनालाई कतिपयले बेल्ट एन्ड रोड इनिसिएटिभको विकल्पको भएको विश्वास लिएका छन् ।
तर अमेरिकाको यो ११ करोड ३० लाख डलरको लगानीलाई चीनको खर्बौ डलरको बेल्ट एन्ड रोडको तुलनामा न्यून मानिएको छ । पाकिस्तानमा मात्रै चीनको ६२ अर्ब डलरको पूर्वाधार आयोजना रहेको छ ।
नेटवर्कको विश्व र प्रविधि विश्वव्यापी राजनीतिको बढ्दो महत्वपूर्ण तत्वको रुपमा देखा परेको काप्लानले सिंगापुरको सम्मेलनमा बताएका छन् ।
सीमा वारपार साइबर आक्रमणले सम्भवतः निरन्तरता पाउने र यो हालसम्म नदेखिएको विशाल हुने उनले बताए ।
यसका अतिरिक्त साइबरको क्षेत्रमा अमेरिका र अन्य मुलुकबीचको प्रतिस्पर्धा पनि अर्को स्वरुपमा आउने काप्लानले बताए । अर्को पुस्तामा अमेरिका र चीनबीच प्रतिस्पर्धा हुने उनले उल्लेख गरेका छन् ।
यसै महिनाका डेलोइट अध्ययनले पछिल्ला वर्षहरुमा फाइभ–जीको विकासमा चीनले २४ अर्ब डलर खर्च गरेर अमेरिकालाई उछिनेको देखाइसकेको छ । यो पनि अमेरिका–चीनबीचको व्यापार युद्धका पछाडिको प्रमुख कारण हुन सक्छ ।
कुनै पनि साइबर आक्रमणले परम्परागत सैन्य प्रतिक्रिया जनाउन सक्ने काप्लानको धारणा छ ।
“हामीमाझ यो भन्दा पहिले नदेखिएको विशाल आकारको साइबर आक्रमणको अवस्था आउन सक्छ । यसको जवाफ परम्परागत शैलीको सैन्य कारबाही हुन सक्छ । जस्तै देशको विद्युतीय ग्रिडलाई धराशायी पार्ने र केही दिनका लागि भएपनि धितोपत्र बजारलाई धराशायी पार्ने हुन सक्ने छ,” उनको चेतावनी थियो ।

 

प्रतिक्रिया दिनुहोस्