ईजी एस्योरेन्स र अजोड इन्स्योरेन्सबीच सम्झौता «

ईजी एस्योरेन्स र अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं-तीनकुने सुविधानगरमा अवस्थित ईजी एस्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडबीच मोबाइल फोनमा इन्स्योरेन्स सेवा सुविधा दिने उद्देश्यका साथ सहकार्य भएको छ । ईजी एस्योरेन्सका अध्यक्ष संजित पौडेल र अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीबीच मोबाइल फोनमा एस्योरेन्स सेवा प्रदान गर्ने विषयक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सो सम्झौतापछि ईजी एस्योरेन्स प्रालिले मोबाइल प्रयोगकर्ताहरूको मोबाइल झरेर फुटेमा, मोबाइलमा पानी पसेमा वा मोबाइल चोरी भएमा एस्योरेन्स सेवा दिएका प्रयोगकर्ताहरूलाई क्षतिपूर्ति प्रदान गरिनेछ । त्यस्तै आगलागीबाट मोबाइल नष्ट भएमा पनि त्यसको क्षतिपूर्ति दाबी गर्न सकिने जनाएको छ । ईजी एस्योरेन्स प्रालिले यो सेवा लिएका मोबाइल प्रयोगकर्ताहरू कुनै पनि प्रकारको दुर्घटनामा परेर मृत्यु भएमा सो बापत १ लाख रुपैयाँको दुर्घटना बिमाअन्तर्गत रकम प्रदान गर्नेछ । ईजी एस्योरेन्स प्रालिले प्रदान गरिरहेको मोबाइल फोन एस्योरेन्स सेवाअन्तर्गत मोबाइल ग्राहकहरूले न्यूनतम १ हजार ५ सय रुपैयाँभन्दा माथिका मोबाइलहरूमा यो सेवा लिन सकिनेछ । न्यूनतम ४९ रुपैयाँ तिरेर १ वर्षसम्म मोबाइल फोन एस्योरेन्स सेवा उपयोग गर्न सकिनेछ । एस्योरेन्सका लागि लाग्ने शुल्क भने मोबाइलको मूल्य अनुसार फरक–फरक हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्