कांग्रेसले फलाम गाल्ने राप सहनुपर्छ «

कांग्रेसले फलाम गाल्ने राप सहनुपर्छ

नेपाली कांग्रेसका युवा नेता,चन्द्र केसीसंग उत्तम चौलागाईको कुराकानी:

तपाईंले केही दिनअगाडि कांग्रेसले फलाम गाल्ने राप सहनुपर्यो भन्ने अभिव्यक्ति दिनुभएको छ, के भन्न खोज्नुभएको हो ?
हो, फलाम गाल्ने रापले कांग्रेसलाई पोलेको छ । कांग्रेसभित्र धेरै समस्याका प्वालहरू थिए । ती प्वालहरू टालटुल गरेर पार्टी सुध्रने सम्भावना पनि थिएन । त्यसैले यो एउटा अवसर भएर आएको छ । कांग्रेसले यो रापमा आफूलाई गलाएर पुनः नयाँ, भव्य र सुन्दर आकृतिमा निर्माण गर्नुपर्छ ।
निर्माण गर्ने कुरा कति सजिलो छ त ?
निश्चय पनि धेरै कठिन छ । कांग्रेसका सबै तह र तप्काका कांग्रेसीहरूले मिहिनेत, इमान्दारिता, उच्च नैतिकता र उच्च चेतनाका साथ औजारको रूपमा कठिन यात्रा तय गर्नुपर्ने छ ।
कांग्रेस पराजय हुनुका कारण के हुन् ?
कांग्रेस पराजय हुनुका कारण कांग्रेस किन कमजोर भयो भन्ने कुरासँग जोडिएकोे छ । यसका मूलभूत तीन कारणहरू छन् । एक, इतिहासमा फर्किएर समिक्षा हुनुपर्छ । प्रजातन्त्र आएपछाडिका कांग्रेसले नेतृत्व लिएका सरकारहरू शासन सञ्चालन, सामाजिक सुरक्षा र समतामूलक समाज निर्माणको पक्षमा गम्भीर हुन सकेनन् । दोस्रो, पार्टीभित्रको आन्तरिक द्वन्द्व, नेतृत्वको असक्षमता । तेस्रोे, माओवादीको भूमिकालाई हाम्रो नेतृत्वले नजरअन्दाज गरिनु । मूलतः यी तीन प्रमुख कारणहरू हुन् ।
कांग्रेस नेतृत्व वा सरकारले मूलतः राजनीतिक मुद्दा र आन्दोलनहरूमा अगुवाइ गर्यो । देशलाई चेतना दियो, देशलाई डोर्यायो तर देशभित्रको विपन्नता र असमान सामाजिक, आर्थिक र राजनीतिक अवस्थारूमा प्रगति उन्मुख परिणाम दिने विषयमा विभिन्न वहाना वा राजनीतिक प्रतिकूलताका कारण कांग्रेस चुक्यो । यसैको फाइदास्वरूप कम्युनिष्ट पार्टी हौं भन्ने तथाकथित कम्युनिष्ट पार्टीहरूको बोक्रा नाराहरू देशैभरी हावी हुन पुग्यो । फलस्वरूप नेकपा एमाले र माओवादी पार्टीहरूको उदय भयो र केही मध्यम वर्ग र न्यून मध्यम वर्गमा आफ्नो उपस्थिति बलियो बनाए । गएकोे स्थानीय निर्वाचनमा देशैभर कांग्रेस र एमालेबीचमा ‘नेक टु नेक’ को हाराहारीमा हारजित भएको थियो । नेकपा एमाले नेतृत्वले यो गणितको ख्याल गरी एमाओवादीलाई जुन भूमिकामा राखेर निर्वाचनमा गयो, हाम्रो नेतृत्वले यो कुरामा चेतना पुर्याउन सकेन ।
कांग्रेसको पराजयलाई कसरी हेर्न सकिन्छ ?
कांग्रेसजन निराश हुनुपर्ने कारण छैन । समानुपातिक परिणाममा कांगेस र एमालेको ५० हजार भित्रमात्र मतान्तर रहनुले दुई ठूला पार्टीहरूको कांग्रेसविरुद्धको एकताले ल्याएको अस्थायी किसिमको प्रवहबवाहेक केही भन्न सकिँदैन ।
यो पराजयभित्र केही लुकेका विजयी पक्षहरू पनि छन् कि ?
हो । कांग्रेस जुन व्यवस्था र पद्धतिका खातिर स्थापना भएको थियो, त्यो पद्धति र व्यवस्थाले जितेको कुरा त निःशन्देह कांग्रेसको जित नै त होनि । यो पद्धति र व्यवस्थाका घोर विरोधीहरू अहिले कांग्रेसकै प्रयत्नमा हामीभन्दा ज्यादा यो व्यवस्था र पद्धतिमा प्रेम गर्न लागेका छन् । ज्यादा प्रतिबद्धजस्ता भएका छन् । दोस्रो, आफूलाई जहिल्यै अजर–अमर ठान्ने गतिहिन नेतृत्व यो निर्वाचन पछाडि जरैदेखि हल्लिएको छ । यो पनि कांग्रेसको आन्तरिक जीवनमा सुखद् संकेत हो ।
युवा पुस्तालाई नेतृत्वमा पुग्न सहज भयो भन्न खोज्नुभएको हो ?
हो, युवा पुस्ताले मेहनतका साथ आँट, हिम्मत, र अठोट गरी नेतृत्वमा पुग्न प्रयत्न गरे पहिलेको भन्दा अबको बाटो केही सहज भएको छ । कांग्रेसको पुनर्निर्माणको सन्दर्भमा पुरानै अनुहारमा पनि केही आशा र भरोसा गर्न सकिन्छ । त्यो नाम हो, प्र्रदिप गिरी । तर उहाँमा नेतृत्वमा आउने चाहना नै देखिँदैन । त्यसैले प्रदिप गिरि, गगन थापा, विश्वप्रकाश शर्मा, शेखर कोइराला, महेश आचार्य, प्रदिप पौडेल, सुवासकुमार पोखरेल, चन्द्र भण्डारी, बद्री पाण्डेलगायत नामहरूबाट कांग्रेस पुनर्निर्माणको बहस छेड्न र अहिलेको नेतृत्वमाथि सामूहिक इन्टरभेन्सन गर्न सकिन्छ ।
पुस्तान्तरणले नै पार्टी कायापलट हुने हो कि कार्यक्रमले हुने हो ?
दुवै कुराको प्रमुख भूमिका हुन्छ । तथापि, कार्यक्रमभन्दा पुस्ता गौण नै हो । तर पनि फ्रेस नेतृत्वको सोच्ने तरिका, काम गर्ने तरिका, उसको उत्साह, ऊर्जा, कल्पनाशिलता, लगनशिलता र इच्छाशक्तिले पार्टीलाई नयाँ ‘रुट’ दिन्छ । फ्रेस नेतृत्वले दिएको त्यो ‘रुट’ निश्चय पनि धेरै सुन्दर र सशसक्त कार्यक्रमहरूको क्रान्तिकारिताले सुशोभित भएको हुन्छ ।
बाम एकता र त्यसको भविष्यको विषयमा तपाईंलाई के लाग्छ ?
चुनावी एकता त सम्भव र सक्सेस दुवै देखियो, तर दुई पार्टी नै एकीकरण हुने कुरा विश्वास भन्दा बाहिरको कुरा हो जस्तो लाग्छ । किनकी एमाले माओवादीको यो ‘रुट’ कांग्रेसमाथि प्रहारको रणनीति सिवाय केही थिएन । त्यसैले एकीकरणको कुराचाहिँ गठबन्धनका नेताहरूबाट आफ्ना कार्यकर्ताहरूलाई भोटका लागि प्रतिबद्ध बनुन् भनी चलाखीपूर्वक बोलिएको झुट हो ।
कसरी जाला अब राजनीति ?
म एउटा खतरा देखिरहेको छु । नेकपा एमालेका अध्यक्ष केपी ओली जो सिंगो मधेसलाई नेपाल नै ठान्नुहुन्न र मधेशी नागरिकलाई नेपाली नै मान्नुहुन्न । अब उहाँकोे हातमा देशको बागडोर गएपछि त्यसैगरी सोच्नुभयो भने यस कुराले ठूलो चुनौती निम्त्याउन सक्ने देख्छु ।
अरु विषयमा त अब देशको नेतृत्व जसले लिए पनि एउटै एजेण्डा बाँकी छ समृद्धिको । राजनीतिक तनाबका दिनहरू सम्भवतः सकिएका छन् ।
खोटाङमा कांग्रेसले विजयी हासिल गर्न नसक्नुको कारण के हो ?
केही कारण त माथि नै आइसकेका छन् । जस्तै– गुट उपगुट, घात अन्तर्घातको कुरा । यो प्रवृत्तिले खोटाङ कांग्रेसलाई पनि नराम्रैसँग गाँजेको छ । २०५६ को निर्वाचनताका खोटाङ कांग्रेसका नेताहरूले सांगठनिक सञ्चितिसहित आन्तरिक द्वन्द्वहरूको कुशलतापूर्वक व्यवस्थापन गरेको देखिन्छ । अर्को कुरा नेकपा एमाले फुटेर निर्वाचनमा आएको थियो, त्यसको थोर बहुत ‘एडभान्टेज’ पनि प्राप्त भयो ।
अबका दिनमा खोटाङ कांग्रेसले के गर्दा विजयी हासिल गर्ला ?
आन्तरिक द्वन्द्व र टकारावहरूको मजबुत ढंगले व्यवस्थापनसहित जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये हामीले एक नगरपालिका र तीन गाउँपालिका जितेका छौं । यिनै नेतृत्व लिएका ठाउँहरूमा कांग्रेसले उत्कृष्ट ‘पर्फम’ गर्नुपर्छ ।

प्रस्तुति :उत्तम चौलागाईं

प्रतिक्रिया दिनुहोस्