साबुन उद्योगमा आगलागी «

साबुन उद्योगमा आगलागी

वीरगन्ज-त्रिवेणी समूहको एक साबुन उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । बाराको परवानीपुर गाउँपालिका वडा नं ३ चैनपुरमा रहेको अन्नपूर्ण भेजिटेबल प्रालिको अमृत वनस्पति घ्यू उत्पादन गर्ने उद्योग परिसरभित्र रहेको मकालु सोप एण्ड केमिकल्स इण्डष्ट्रिजमा आगलागी भएको हो ।
सोमबार विश्वकर्मा पूजाको लागि अघिल्लो दिनदेखि नै सरसफाइ गरेर तयारी गरिरहेको अवस्थामा अचानक सोमबार बिहान भीषण आगलागी हुँदा ठूलो क्षति भएको उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगका प्रबन्धक अजय अग्रवालका अनुसार पूजा गर्न सरसफाई गरिएको उद्योगमा विद्युत सर्किटका कारण आगलागी भएको हो ।
उनले भने, “अघिल्लो दिनदेखि नै पूजाको लागि सरसफाइ हुदैँ थियो । बिहान करिब ७ बजे अचानक आगलागी भयो ।” आगलागीबाट उद्योगमा रहेको मेशिनहरुमा क्षति पुगेको छ । प्याकिङ गरेर बजारमा लाने तयारी अवस्थामा रहेको साबुनहरु सबै नष्ट भएको उनले बताए । साबुन बनाउने कच्चा पदार्थ, मेशिन र तयारी साबुन गरेर पाँच करोड भन्दा पनि बढीको क्षति हुन सक्ने उनले बताए ।
आगलागीको अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए । वीरगन्ज पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगहरुमा लागलागीका जोखिमहरु बढी हुने गरेको छ । त्यसैले यहाँका उद्योगी व्यवसायीहरुले करिडोरका लागि एउटा छुट्टै प्रविधियुक्त वारुणयन्त्रण आवश्यकता रहेको बताउँदै आएका छन् ।

भन्सार छलिको कपडा बरामद
यसैबीच, सशस्त्र प्रहरी बल राजस्व चुहावट नियन्त्रण टोलीले सोमबार विभिन्न स्थानबाट भन्सार छलि गरी ल्याएको सामान बरामद गरी सार्वजनिक गरेको छ । सोमबार बिहान भन्सार छली कपडाहरु भित्रिएको विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वा ईलाकाबाट तीन लाख २३ हजार ६ सय ५० मूल्य बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक तिलक बहादुर खड्काले जनाए । बरामद गरिएको कपडा आवश्यक कारबाही प्रकृयाको लागि विरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल राजस्व चुहावट नियन्त्रणको १४ नम्बर गुल्मले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्