माछापुछ्रे हिमालको आरोहण खुलाउनुपर्ने माग «

माछापुछ्रे हिमालको आरोहण खुलाउनुपर्ने माग

पोखरा-माछापुछ्रे गाउँपालिकामा पर्ने माछापुछ्रे हिमाल आरोहणका लागि खुला गर्नुपर्ने स्थानीयको माग छ । स्थानीय क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि माछापुछ्रे हिमालको आरोहण खुला गर्नुपर्ने उनीहरुले बताउँदै आएका छन् । स्थानीय मेसबहादुर गुरुङले माछापुछ्रेको नामबाट पोखराका धेरैले फाइदा लिएकोभ भन्दै स्थानीय आर्थिक विकास ध्यान नदिएको बताए । माछापुछ्रेलाई संरक्षण गर्नुपर्छ, उनले भने, तर स्थानियको आर्थिक विकास र समृद्धिका लागि पनि माछापुछ्रे हिमाल आरोहणका लागि खुला गरिनुपर्छ, होइन भने हाम्रो आय स्रोतको अरू बाटो चाहिन्छ । ” तमु धिँ नेपालका महासचिव गिरीप्रसाद गुरुङले विभिन्न जातिहरूको बसोबस रहेको माछापुछ्रेमा पर्यटनको धेरै सम्भावन रहेको दाबी गरे ।
यसैबीच गाउँ पर्यटन प्रबद्र्धन गर्न माछापुछ्रे गाँउपालिकाको टुसेमा माछापुछ्रे महोत्सव हुने भएको छ । ‘मौलिक कला सांस्कृति, खेलकुद तथा कृषि पर्यटनको लागि’ भन्ने मूल नाराका साथ माछापुछ्रे गुराँसे भूमें युवा क्लवको आयोजनामा यही असोज २४ देखि २८ गतेसम्म माछापुछ्रे महोत्सव हुने भएको हो ।
प्राकृतिक र संस्कृतिले धनी भएको माछापुछ्रे गाँउपालिकाको समग्र गाउँ पर्यटनसहित खेलकुदको समेत विकास गराउने उद्देश्यले उक्त महोत्सव आयोजना गर्न लागिएको क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक हुमबहादुर गुरुङले बताए । महोत्सवमा घरेलु उत्पादन स्थानीय हस्तकला, कृषि सामग्रीहरूको प्रदर्शनी, मौलिक झाँकी प्रदर्शनी, लोपउन्मुख लाखे नृत्य प्रदर्शनी, लाइभ कन्सर्ट, हास्य व्याङ्ग्यात्मक कार्यक्रम, रष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलकारको प्रस्तुति आदि कार्यक्रम रहने भएको संयोजक गुरुङले जनाए ।
महोत्सव सम्पन्न गर्न करिब १५ लाख लाग्ने भएको छ भने १७ लाख ९७ हजार आम्दानी गर्नै लक्ष्य राखिएको क्लबले जनाएको छ । माछापुछ्रे गाउँपालिकाले उक्त महोत्सवको गाउँ प्रबद्र्धनको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको माछापुछ्रे गाउँपालिका–१ का वडा अध्यक्ष वीरेन्द्र गुरुङले बताए ।
८ सय ५० मा होमस्टे
यस गाउँपालिका–१ मा हाल २० घरमा घरवास कार्यक्रम(होमस्टे) सञ्चालन भएको छ । ४० जना पर्यटक क्षमता रहेको उक्त होमस्टेमा जाने पाहुनले खानासहितको एक रात बास बसेको प्रतिव्यक्ति ८ सय ५० रुपैयाँ मात्र रहेको क्लबका अध्यक्ष एवं माछापुछ्रे अर्गानिक होमस्टेका हुम गुरुङले बताए । पोखरा बजारदेखि माछापुछ्रे पुग्न करिब १७ किलोमिटर उत्तरी भेगमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्