मोबाइल मेलामा १ करोड कारोबार

पोखरा-पोखरामा सम्पन्न भएको मोबाइल एक्स्पोमा करिब १ करोडको कारोबार भएको छ । महेन्द्रपुलमा रहेको पोखरा मोबाइल टावरमा भदौ १७ गतेदेखि सञ्चालन भएको उक्त एक्स्पोमा करिब १ करोड मूल्य बराबरको कारोबार भएको मेलाका प्रचार संयोजक नारायण सुवेदीले बताए ।
मोबाइल एक्स्पो मा न्यूनतम ५ देखि अधिकतम ५० प्रतिशतसम्म छुट भएकाले मेलामा दर्शकहरूको समेत उल्लेखनीय रूपमा सहभागिता रहेको कारणले मेला ४ दिन थपिएसँगै आइतबार सम्पन्न भएको हो ।
यसैबीच, पोखरा टावर प्रालिले पत्रकार कृष्ण दवाडीलाई पोखरा टावर पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । पत्रकार दवाडीलाई सम्मानपत्र र नगद ५ हजार १ सय रुपैयाँसहित सम्मान गरिएको हो । समापन समारोहमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले भूगोल र जनसंख्याको आधारमा मात्र महानगर बनेको पोखरालाई साँच्चिकै महानगर बनाउने दायित्व उद्योगी, व्यवसायी र यहीका नागरिकको भएको बताए ।
प्रालिका अध्यक्ष उदय केसीले मेलालाई सफल बनाउने सहयोग गर्ने सबैमा आभार व्यक्त गरे । प्रालिका सचिव नारायण सुवेदीले पर्याप्त पार्किङ, सबैजसो ब्रान्डका मोबाइल, सर्भिस सेन्टर समेत बजारकै केन्द्रमा आफूहरूले उपलब्ध गराइएको बताए । कार्यक्रममा मेलामा उपहार जित्ने विजेताहरूलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।
८० वटा मोबाइलका होलसेल र रिटेल पसललगायतका सेवा एकै भवनमा भएकोले आम ग्राहकवर्गलाई सेवा दिने उद्देश्यले मेला आयोजना गरिएको समितिका अध्यक्ष उदय केसीले बताए । गण्डकी प्रदेशकै ठूलो मोबाइल मार्केट मोबाइल टावर भएको उनले दाबी गरे ।