‘नयाँ सरकार गठनका लागि मार्गप्रदशन गरियोस्’ «

‘नयाँ सरकार गठनका लागि मार्गप्रदशन गरियोस्’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भेटवार्ता भएको छ । दुई शिर्ष नेताबीच बुधबार दिउँसो ओली निवास बालकोटमा भेटवार्ता भएको हो । भेटवार्तामा पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश लगायतका विषयमा कुराकानी भएको बताइएको छ । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि पार्टी एकता गर्ने गरी गठबन्धन बनाएर निर्वाचनमा होमिएका यी दुई पार्टी अहिले नयाँ सरकार गठन र पार्टी एकताको तयारीमा छन् ।
गठबन्धनभित्र खटपट सुरु भएको आशंका गरिएका बेला दुई नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दाहालका प्रेस संयोजक मनहरी तिमल्सिनाका अनुसार जनताले नयाँ जनादेश दिएको परिस्थितिमा वर्तमान सरकारले नयाँ सरकार गठनको मार्गप्रशस्त गर्नुपर्ने ओली र दाहालको निष्कर्ष थियो । यस्तै, निर्वाचन आयोगले पनि नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्नेमा ओली र दाहालको ठहर छ ।
गठबन्धनले बहुमत ल्याएपछि नयाँ सरकार गठन र पार्टी एकता गर्ने बारेमा छलफल भइरहेको छ । तर, राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरण नभइ सरकार नछोड्ने कांग्रेसको अडान र सो अध्यादेश असंवैधानिक भएकाले प्रमाणीकरण गर्न नहुने गठबन्धनका अडानका कारण नयाँ गठन प्रक्रिया सुरु हुन सकेको छैन । दुई पक्षको विवादका कारण अध्यादेश राष्ट्रपति कार्यालयमै अड्किएको छ ।
ओली र दाहालले दलीय सहमतिबिना नै अध्यादेश राष्ट्रपति कार्यालयमा पठाइएको भन्दै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश अविलम्व फिर्ता लिनुपर्ने निष्कर्ष निकालेका छन् ।
पार्टी एकता गर्ने घोषणा गरेको एमाले र माओवादीबीच पनि पार्टी र सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा मतभेद देखिँदै आएका छन् । माओवादीले सरकार गठनअघि नै एकताको अन्तिम प्रारुप तय गरिनुपर्ने बताइरहँदा एमालेले भने सरकार गठनपछि मात्रै एकता गर्नुपर्ने बताउँदै आएको छ ।
यो अवस्थामा भएको गठबन्धनका दुई शिर्ष नेताबीचको भेटवार्ताले राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने निष्कर्ष निकालेका छन् । ओलीसँगको भेटवार्तापछि प्रतिक्रिया दिँदै दाहालले पार्टी एकतामा कुनै समस्या नरहेको प्रतिक्रिया दिएका छन् ।
तर पार्टी एकताका लागि गृहकार्य भने हुन नसकेको बताइएको छ । बैचारिक, राजनीतिक लाइन, अन्तरिम दस्तावेज निर्माण, संगठानात्मक संरचना लगायतका विषयमा गृहकार्य सुरु नभएको बताइएको छ । दाहाल र ओलीबीच १-२ दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने सहमति भएको तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्