सेयर बजारमा २१ अंकको गिरावट «

सेयर बजारमा २१ अंकको गिरावट

सेयर बजार घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । पछिल्लो समयमा निरन्तर घटेको सेयर बजार परिसूचक बुधबार पनि साढे २१ अंकले घटेको हो ।
मंगलबार २० अंकभन्दा धेरैले घटेको नेप्से बुधबार पनि सोही गतिमा घटेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक उच्च अंकले घटेको भए पनि कारोबार रकममा सुधार आएको छ । घट्दो बजारमा कारोबार रकम बढ्नु भनेको बिक्री गर्ने लगानीकर्ताको संख्या बढ्नु हो । घट्दो बजारमा बिक्री गर्ने लगानीकर्ता बढ्दा बजार झनै घट्ने डर रहन्छ ।
पछिल्लो समयमा बैंक वित्तीय संस्थाको ब्याजदर बढेपछि सेयर बजार घट्न थालेको हो । बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजीको सीमितताका कारण ब्याजदर बढेर निक्षेप लिने क्रम बढेको छ । सेयर बजारमा धितोपत्रको आपूर्ति धेरै भएको अवस्था बजारबाट पैसा झिकेर बैंक वित्तीय संस्थामा निक्षेप राख्न थालेपछि सेयर बजार घटेको हो ।
बुधबार कारोबार सुरु भएदेखि निरन्तर घटेको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्ममा निरन्तर घटिरह्यो । कारोबार सुरु हुँदा १४४७.०४ अंकमा रहेको नेप्से २१.५३ अंकले घटेर बन्द हुँदा १४२५.५१ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटीभ इन्डेक्स पनि ४.७२ अंकले घटेको छ ।
बुधबार नेप्सेमा कारोबार भएका अधिकासं समूहगत परिसूचक घटेका छन् । नेप्सेमा कारोबार भएका बैंकिङ १७.८६, विकास बैंक २४.६९, वित्त ४.३६, बिमा १३६.९१, लघुवित्त २३.७२, होटल ५.६, जलविद्युत् समूह २४.२९ र अन्य समूह २०.५३ अंकले घटेका छन । तर, बुधबार उत्पादनमूलक समूह भने ६.५२ अंकले बढेको छ ।
बुधबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । नेप्सेमा १५६ कम्पनीको ७ हजार २ सय ८४ कारोबारबाट ७६ करोड ५७ लाख रुपैयाँबराबरको १३ लाख ६८ हजार ४ सय ७५ कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम मंगलबारको भन्दा धेरै हो ।

 

प्रतिक्रिया दिनुहोस्