प्रदेश सरकारको बेथिति «

प्रदेश सरकारको बेथिति

गोरखा-नवलपुर जिल्लासमेत हेर्ने गरी गोरखामा गण्डकी प्रदेश मातहत स्वास्थ्य कार्यालय स्थापना भएको छ ।
कार्यालयको गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गरिन् । साविकको जिल्ला जनस्वास्थ्य कार्यालयमा स्थापना भएको कार्यालयको उद्घाटन गर्दै उनले इमान्दारीतापूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । “काम नगरी टीए डीए खानेको बाटो बन्द गर्नुपर्छ भन्ने सोकेकी छु,” स्वास्थ्यमा काम गर्ने कर्मचारीले पनि भत्ता पाउनुपर्छ । भोकै हिँडनुस् म भन्दिन । तर हाजिरी कपीमा रातो लगाएर फिल्डमा नगई कतै बसेर टीए डीए खानेलाई अब कारबाही हुन्छ ।” कर्मचारीको क्षमता अभिवृद्धिसहित प्रोत्साहनका कार्यक्रम ल्याउन प्रदेश सरकार तयार रहेको उनको भनाइ छ । “जागिर खाएरमात्रै हुँदैन, राष्ट्र सेवकका हिसाबले मैले सबै काम गर्नुपर्छ भन्ने तपाईंको मनमा हुनुपर्छ ।” संघीय सरकार र प्रदेश सरकारको कामको गति नमिलेका कारण अन्योलता भएको भन्दै उनले छिट्टै कर्मचारी ब्यवस्थापन गर्ने बताइन् ।
स्थानीय सरकारसँग समन्वय गरेर सबै नागरिकमा प्रभावकारी स्वास्थ्य सेवा पुराउन प्रदेश सरकार तयार रहेको उनले जानकारी दिइन् । “स्थानीय र प्रदेश दुवै सरकारको बजेट समन्वय सहकार्य गरेर अघि बढन सक्यौं भने संघीयताअनुसार जनतालाई दिन चाहेको स्वास्थ्य सेवा पुराउन सक्छाैँ । अलिपछि स्थानीय सरकारका प्रमुख उपप्रमुखसँग पनि बसेर योजना बनाउँछु ।” अब छिट्टै कर्मचारी ब्यवस्थापन गरी कार्यक्रम र बजेट जिल्ला जिल्लामा पठाएपछि जनताले प्रदेश सरकारको अनुभूति गर्नसक्ने उनको भनाइ छ । साविकको जिल्ला जनस्वास्थ्य कार्यालयमा २५ कर्मचारीको दरबन्दी रहेकोमा अब ११ जनाको मात्रै दरबन्दी रहेको कार्यालय प्रमुख राजकुमार पोखरेलले जानकारी दिए । स्पस्ट निर्देशनको अभावमा साउनयता कार्यालयमा काम हुन नसकेको उनले बताए । उनले भने, “कडा रोग लागेकालाई सिफारिस दिनेबाहेक थप काम हुन सकेको छैन । अन्यौलमा छाैँ ।”

प्रतिक्रिया दिनुहोस्