सिमेन्टमा फेरि १५ अर्ब चिनियाँ लगानी

चिनियाँ कम्पनीले नेपालको सिमेन्ट उद्योगमा १५ अर्ब लगानी गर्ने भएको छ । चिनियाँ कम्पनी ह्वासिनले लगानी बोर्डसँग यससम्बन्धी प्रारम्भिक सम्झौता गरेको छ । ५ महिनाअघि होङ्सी सिमेन्टले ३६ अर्ब लगानीका लागि बोर्डसँग सम्झौता गरेको थियो भने ह्वासिन नेपालको सिमेन्ट उद्योगमा दोस्रो चिनियाँ लगानी हो ।
नेपालमा ३ हजार टन सिमेन्ट उत्पादन गर्नेगरी लगानी बोर्ड र चीनको ह्वासिन सिमेन्ट कम्पनीबीच बुधबार प्रारम्भिक आयोजना लगानी सम्झौता भएको बोर्डले जनाएको । नेपालमा अत्याधुनिक प्रविधियुक्त सिमेन्ट कारखाना स्थापना गर्नको लागि बोर्ड र कम्पनीबीच सम्झौता भएको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र ह्वासिनका तर्फबाट वाह्य लगानी निर्देशक लिउ ज्याङ्गावोले प्रारम्भिक मस्यौदामा हस्ताक्षर गरेका छन् । ह्वासिनले नेपालमा ह्वासिन सिमेन्ट नारायणी प्रालि उद्योग स्थापना गरिसकेको छ ।
बोर्डले २०७२ साल पुस ५ मा कम्पनीले सो सिमेन्ट उत्पादनको लागि कम्पनी स्थापना गर्न लाग्ने १५ अर्ब रुपैयाँ बराबरको बैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको थियो । सो कारखानाले पहिलो चरणमा दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ ।शतप्रतिशत चिनियाँ लगानीमा स्थापना हुने सो कम्पनीको कारखानाका लागि सरकारले धादिङको पानीखर्कमा चुनढुंगा खानी उत्खननको अनुमति दिएको छ । कम्पनीले प्रतिस्पर्धाबाट ६० करोडमा धादिङको पानीखर्क चुनढुङा खानी खरिद गरेको हो । लगानी बोर्डका अनुसार मस्यौदा सञ्चालक समितिबाट पारित भएपछि औपचारिक रुपमा दुई संस्थाबीच लगानी सम्झौता हुनेछ । ह्वासिनले सिमेन्ट कारखाना स्थापना गर्न १५ अर्ब रुपैयाँ लगानी चीनबाट ल्याउने छ भने दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने उद्योगको लक्ष्य छ । ह्वासिनले आयोजना लागतको ०.२ प्रतिशत अर्थात ३ करोड रुपैयाँ दस्तुर बुझाउने छ ।
सम्झौतामा हस्ताक्षरपछि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले यसबाट नेपालमा लगानीको वातावरण भएको सन्देश विश्वमा फैलने बताए ।
उनले कम्पनीसँग भएको वाता र प्रारम्भिक सम्झौताले नेपालमा वैदेशिक लगानीको लागि अनुकुल वातावरण रहेको सन्देश दिएको भन्दै कम्पनीबाट उत्पादित सिमेन्ट आपूर्तिबाट नेपालमा गुणस्तरीय सिमेन्टको माग पूरा गर्न सहयोग पुग्ने धारणा राखे । यस्तै, कम्पनीका समुद्रपार विकास निर्देशक च्याङ्गोले नेपालको विकासमा सिमेन्ट उद्योगमार्फत सहकार्य गर्ने मौका मिलेको बताए ।
५ महिनाअघि भदौ १८ मा लगानी बोर्ड तथा अर्को चिनियाँ कम्पनी होङ्सी शिवम् सिमेन्टबीच भएको परियोजना लगानी सम्झौतापछि होङ्सीले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्न कारखाना निर्माण गरिरहेको छ । फागुन अन्तिमसम्म होङ्सीले सिमेन्ट उत्पादन थाल्ने जनाएको छ । होङ्सीले ३६ अर्ब रुपैयाँ लगानी गरेको छ । नेपालमा पछिल्ला वर्षहरूमा माग बढेपछि गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने र सिमेन्ट उद्योगमा पूर्णरुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ स्वदेसि तथा विदेशी लगानीमा कारखाना स्थापना भइरहेका छन् ।नेपालमा जलविद्युत्पछि ठूलो लगानी सिमेन्ट उद्योगमा आउनुमा सिमेन्ट उद्योगका लागि चाहिने कच्चा पदार्थ नेपालमा उपलब्ध हुनु तथा भूकम्पपछिको पुनर्निर्माणलगायतका कार्यमा माग पनि बढ्नु पनि हो ।