पर्यटन प्रवद्र्धन गर्न च्याब्रुङ घर «
Logo

पर्यटन प्रवद्र्धन गर्न च्याब्रुङ घर

तेह्रथुम – छथर गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि केपाङ अर्थात् च्याब्रुङ घर निर्माण गर्न थालिएको छ ।
गाउँपालिकाले पूर्वी नेपालमा बसोवास गर्दै आएका लिम्बू समुदायको ऐतिहासिकतासँग जोडिएकोे च्याब्रुङ घर निर्माण गरी पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएको हो । गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा लिम्बू जातिको सङ्ग्रहालयकै रुपमा विकास गर्ने गरी च्याब्रुङ घर निर्माण थालेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । गाउँपालिकाले अघिल्लो आवमा च्याब्रुङ घर निर्माण गर्न तीन लाख ५० हजार खर्च गरेको छ ।
चालू आवमा च्याब्रुङ घरका लागि १७ लाख बजेट विनियोजन गरेको छ । करीब एक करोड लागतको सो योजना अघि बढाइएको हो । “दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ,” नेपालीले भने । सो भवन च्याब्रुङ आकारको हुनेछ । त्यहाँभित्र छथर क्षेत्रका ऐतिहासिक लोक संस्कृति, बाजागाजा र लिम्बू रीतिरिवाज झल्कने वस्तु राखिनेछ । गाउँपालिकालाई नमुना बनाउन गाउँसभाबाट पर्यटन विकासका लागि यस वर्ष ९० लाख विनियोजन गरिएको छ । शुक्रबारे बजार नजिकै प्रधानमन्त्री पार्कदेखि भ्यु–पार्क, भ्यु–टावर, बाल बगैँचालगायत पर्यटकीय क्षेत्र निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्