स्याउको उत्पादन घट्यो «

स्याउको उत्पादन घट्यो

मुगु-गत वर्षभन्दा यस वर्ष मुगुको छायानाथ रारा नगरपालिकामा स्याउको उत्पादन घटेपछि किसान चिन्तित भएका छन् । अघिल्लो वर्ष १५ मेट्रिक टन स्याउ उत्पादन भएकोमा ४ मेट्रिक टन मात्र निर्यात भएको थियो । तर, यो वर्ष अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतले स्याउ उत्पादन घटेको किसानहरू बताउँछन् ।
स्याउको फूल फुल्ने समयमा असिना पानी परेर फूल झरेपछि उत्पादनमा कमी आएको हो । उत्पादित स्याउ बिक्रीका लागि सुरक्षित रूपमा नेपालगन्ज, सुर्खेत र काठमाडौंसम्म लैजान विगतका वर्षहरूमा जिल्ला कृषि विकास कार्यालयले कार्टुन उपलब्ध गराउँदै आएको थियो । तर, यो वर्ष छायानाथ रारा नगरपालिकाले अहिलेसम्म उपलब्ध नगराएको स्याउ किसानहरूको भनाइ छ । स्याउ प्याकेजिङ गरेर निर्यात गर्न ४ हजारभन्दा बढी कार्टुनको व्यवस्था गरिएको भए पनि सडक बन्द हुँदा बीच बाटोमै रहेको छायानाथ रारा नगरपालिकाका कृषि शाखा प्रमुख केबी रोकायाले बताए ।
छायानाथ रारा नगरपालिका–५ कार्कीबाडाका जगमाया भामले स्याउ उत्पादनमा कमी आएपछि आफूहरू समस्यामा परेकी बताइन् । स्याउ फूल्ने समयमा परेको असिनापानीका कारण उत्पादन घटेको र आफूहरूको कमाइ कम भएको उनको भनाइ थियो । गत वर्ष ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गरेकी उनले यस वर्ष २-४ हजार रुपैयाँमै चित्त बुझाउनुपर्ने अवस्था आएको दुःखेसो व्यक्त गरिन् ।
गमगढी बजारमा स्याउ प्रतिदाना १० रुपैयाँदेखि १५ रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । स्याउ भण्डारका लागि सुरक्षित स्थल नहुँदा किसानले सस्तोमै बिक्री गर्दै आएका छन् । जिल्लामा १ हजार ७५ हेक्टरमा स्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्