पुनर्निर्माणलाई साढे ३ खर्ब बजेट अपुग «

पुनर्निर्माणलाई साढे ३ खर्ब बजेट अपुग

भूकम्पबाट क्षति भएका निजी आवास, सम्पदा र सार्वजनिक भवन पुनर्निर्माणका लागि साढे ३ खर्ब रुपैयाँँ अपुग देखिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक वर्षका लागि बजेटको समस्या नरहेपनि पुनर्निर्माणका सबै काम गर्न साढे ३ खर्ब रुपैयाँँ अपुग हुने देखिएको बताएको हो । प्राधिकरण गठनको दुई वर्ष पुगेको अवसरमा बुधबार काठमाडौंमा गरिएको कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले विद्यालयहरूको भवन निर्माणका लागि मात्र करिब ५० अर्ब रुपैयाँँ अपुग हुने देखिएको बताए । प्राधिकरणले पुनर्निर्माणका लागि अपुग हुने रकम जुटाउन आगामी आर्थिक वर्ष दाता सम्मेलन गर्ने योजना बनाइएको जनाएको छ ।
सरकारले भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि ३० महिना पहिले पनि दाता सम्मेलन गरेको थियो । त्यतिखेरको सम्मेलनमा दाताहरूले ४ खर्ब १० अर्ब ९५ करोड सहयोगको प्रतिबद्धता जनाएकामा हालसम्मा ३ खर्ब ३६ अर्ब ६२ करोडको मात्र सम्झौता भएको छ । भूकम्पबाट करिब ८ लाख निजी आवास क्षतिग्रस्त भएका थिए । तर हालसम्म ७९ हजार ५ सय १४ निजी आवास मात्र पुनर्निर्माण गरिएका छन् ।
प्राधिकरणले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा निजी आवास निर्माणमा ४६ प्रतिशत प्रगति भएको बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले १ लाख ९४ हजार निजी आवास निर्माणको काम भइरहेको जानकारी दिँदै चालू आर्थिक वर्षभित्र ६० प्रतिशत आवास पुनर्निर्माण गरिसक्ने लक्ष्य लिइएको बताए ।
कानुनअनुसार प्राधिकरणले अबको तीन वर्षभित्र पुनर्निर्माणको काम सकिसक्नुपर्छ । प्रमुख कार्यकारी अधिकृत भुसालले आफूहरू तीन वर्षको समय बाँकी रहेपनि त्यसअगावै पुनर्निर्माण सक्ने गरी अल्छी नगरी काम गर्ने बताए ।

हालसम्मको प्रगति विवरण
पहिलो किस्ता – ६,६४,६४४
दोस्रो किस्ता – ११५,१९२
तेस्रो किस्ता – २६,४५४
निजी आवास पुनर्निर्माण सम्पन्न – ७९,५१४
बन्दै गरेका घरहरू – १,९४,१९६
सरकारी भवन पुनर्निर्माण हुँदै – १२५
सरकारी भवन पुनर्निर्माण सम्पन्न – २०७
शैक्षिक संस्था पुनर्निर्माण हुँदै – १००४
शैक्षिक संस्था पुनर्निर्माण सम्पन्न – २७४१
साँस्कृतिक सम्पदा पुनर्निर्माण हुँदै – १११
साँस्कृतिक सम्पदा पुनर्निर्माण सम्पन्न – ७९
स्वास्थ्य संस्थारकेन्द्र पुनर्निर्माण हुँदै – ११९
स्वास्थ्य संस्था र केन्द्र पुनर्निर्माण सम्पन्न – २५७
सुरक्षा निकाय भवन पुनर्निर्माण हुँदै – १४०
सुरक्षा निकाय भवन पुनर्निर्माण सम्पन्न – ४४
खानेपानी पूर्वाधार पुनर्निर्माण हुँदै – ९६५
खानेपानी पूर्वाधार पुनर्निर्माण सम्पन्न – ९०४

प्रतिक्रिया दिनुहोस्