सम्पत्ति शुद्धीकरण निवारण अझै प्रभावकारी बनाउ «

सम्पत्ति शुद्धीकरण निवारण अझै प्रभावकारी बनाउ

पुँजीबजारमा सम्पत्ति शुद्धीकरण निवारण प्रभावकारी हुन नसकेको सरोकारवालाहरूले बताएका छन् । सम्पत्ति शुद्धीकरण निवारणमा धितोपत्र व्यवसायीले प्रभावकारी भूमिका निर्वाह नगरेको उनीहरूको भनाइ छ ।
नेपाल धितोपत्र बोर्डले आयोजना गरेको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कार्यक्रममा राजस्व सचिव शिशिरकुमार ढुंगानाले सम्पत्ति शुद्धीकरणको मुद्दामा सरकारले मात्र नभै सर्वसाधारणले समेत चासो राख्नुपर्ने बताए । उनले धितोपत्र व्यवसायी पुँजी बजारमा प्रवेश बिन्दु भएकाले विशेष इमान्दार र सतर्क भए सम्पत्ति शुद्धीकरण निरुत्साहित हुने दाबी गरे । ढुंगानाले केही समययता सरकारले धितोपत्र बजारको विकासमा व्यवसायीलाई सहजीकरण समेत गर्दै आइरहेको र व्यवसायीले समेत सरकारको प्राथमिकता तथा चासोलाई लिएर संवेदनशील हुनुपर्ने बताए । सन् २०२० सम्ममा सम्पत्ति शुद्धीकरणका विश्वव्यापी मापदण्डहरूमा नेपालको मूल्यांकन हुने भएकाले सवै पक्ष गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
अर्थ मन्त्रालयको सम्पत्ति शुद्धीकरण एकाइका प्रमुख हरि नेपालले धितोपत्रबजारमा सम्पत्ति शुद्धीकरण निवारणमा विगतका प्रयास सकारात्मक रहे पनि पर्याप्त नभएको बताए । धितोपत्र व्यवसायीहरूले ग्राहक पहिचान विवरणमा उल्लेख गरिएको पेशा र ग्राहकको कारोबारबीच तादाम्य रहे÷नरहेको हेर्ने नगरेको भन्दै उनले ग्राहकको जोखिम मूल्यांकनमा व्यवसायीलाई गम्भीर हुन सुझाव दिए । सम्पत्ति शुद्धीकरण निवारणको मुद्दालाई सबैले अपनत्व लिई जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रमका बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले सम्पत्ति शुद्धीकरण निवारणलाई विशेष जोड दिँदै आएको बताए । विगतमा सम्पत्ति शुद्धीकरणका सवालमा व्यवसायीलाई कारबाही समेत गरेको अध्यक्ष कार्कीले बताए । ग्राहक पहिचान विवरण फाराम अद्यावधिक गरी लागू गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्