जनकपुर–पटना बस सेवा सञ्चालन «

जनकपुर–पटना बस सेवा सञ्चालन

जनकपुरधाम-जनकपुरधामबाट भारतको बिहार राज्यको राजधानी पटनासम्मका लागि बस सेवा विधिवत् रूपमा शुभारम्भ गरिएको छ ।
आइतबार प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, उद्योग वन तथा पर्यटनमन्त्री रामनरेश राय र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले संयुक्त रूपमा हरियो झन्डा देखाएर जनकपुरदेखि पटनासम्मका लागि बस सेवाको शुभारम्भ गरेको हो ।
बस सेवाको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले जनकपुरदेखि पटनासम्मका लागि बस सेवा सञ्चालनमा आएपछि प्रदेश २ को पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने बताए । नेपाल भारतको परम्परागत सम्बन्धलाई अझै मजबुत भएको उनको भनाइ छ ।
यसअघि भारत बिहारको पटनाबाट पटनादेखि जनकपुरसम्मका लागि गत भदौ २८ गते बिहारका मुख्यमन्त्री नितिश कुमारले हरियो झन्डा देखाएर बस सेवाको शुभारम्भ गर्नु भएको थियो ।
नेपालको स्वयम्भू–मञ्जुश्री यातायातले जनकपुरदेखि पटनासम्मका लागि बस सेवा सञ्चालनमा ल्याएको छ । नेपालको ४ स्थानबाट दुई देशीय बस सेवा सञ्चालनमा ल्याउने योजना रहेको स्वयम्भू–मञ्जुश्री यातायातका अध्यक्ष अनिल चालिसेले जानकारी गराए ।
करिब २ सय २५ किलोमिटर दूरीको बस सेवाका लागि जनकपुरदेखि पटनासम्मका लागि ४ सय ४० नेपाली रुपैयाँ र पटनाबाट जनकपुरसम्मका लागि २ सय ७५ रुपैयाँ भारतीय रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।
सन् २०१४ मा नेपाल–भारतबीच भएको पारवहन सम्झौताअनुसार दुवै देशको धार्मिक, पर्यटकीय सहरबीच बस सेवा सञ्चालन गर्ने सहमति भएको थियो । सहमतिअनुसार काठमाडांै–दिल्ली तथा काठमाडौं–वीरगन्ज–बोधगया बस सेवा सञ्चालन भए पनि जनकपुरधाम–पटना बस सेवा सञ्चालन हुन सकेको थिएन ।
बर्सेनि हजारौं नेपाली स्वास्थ्य उपचार, अध्ययन, व्यवसाय तथा धार्मिक–सांस्कृतिक भ्रमणका लागि भारतका विभिन्न सहर जाने गरेका छन् । पटनासम्मका लागि जनकपुरधामबाटै बस सेवा सञ्चालनमा आएपछि हजारौं नेपालीले यसबाट लाभ लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्