ग्यास आपूर्तिमा अवरोध आउन सक्ने चेतावनी «

ग्यास आपूर्तिमा अवरोध आउन सक्ने चेतावनी

चाडपर्व नजिकिँदै गर्दा बजारमा ग्यासको आपूर्तिमा अवरोध आउन सक्ने उद्योगीले चेतावनी दिएका छन् । नेपाल एलपी ग्यास उद्योग संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी उद्योगीहरूले यसअघि सरकारलाई बुझाएको माग सम्बोधन नभएको भन्दै आपूर्तिमा अवरोध हुन सक्ने चेतावनी दिएको हो ।
संघका अध्यक्ष गोकुल भण्डारीले डिजेलको मूल्य बढेको भन्दै भाडा समायोजन नभए ग्यास ढुवानी बन्द गर्ने पत्र भारतीय ढुवानी व्यवसायीले पठाएको बताए । “हाम्रो कारणभन्दा पनि भारतीय ढुवानी व्यवसायीले आपूर्ति बन्द गर्ने चेतावनीसहितको पत्र पठाएका छन्,” उनले भने, “हामीले भारतीय ढुवानीकर्ताले पठाएको पत्र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई समेत दिइसकेका छौं ।” भारतीय ढुवानीकर्ताको माग सम्बोधन नभए चाडपर्वकै बेला ग्यास आपूर्तिमा समस्या हुनसक्ने उनको भनाइ छ ।
संघले अहिलेसम्म नेपाली नम्बर प्लेटका ग्यास बुलेट सञ्चालनमा आउन नसकेको भन्दै यसबाट समस्या उत्पन्न हुनसक्ने चेतावनी दिएको छ । ग्यास आयातदेखि बिक्री वितरण गर्दा उद्योगको खर्चमा अत्यधिक वृद्धि भएको भन्दै संघले ग्यास उद्योग सञ्चालनमा समस्या परेकाले सरकारले तत्काल माग सम्बोधन गर्नुपर्नेमाग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्