Logo

डेढ महिनामा ५८ लाख ८० हजार क्षतिपूर्ति

चालू आवको साउन १ गतेदेखि भदौ १५ गतेसम्म सूचना तथा परामर्श केन्द्रमा दर्ता भएका १ सय ४५ मुद्दा समाधान गरेपछि विभिन्न एजेन्टबाट ठगिएकालाई क्षतिपूर्तिवापतको रकम उपलब्ध गराउन सफल ।

सप्तरी-सप्तरीबाट वैदेशिक रोजगारीमा जाँदा विभिन्न एजेन्टबाट ठगिएकाहरूले चालू आर्थिक वर्ष २०७५-७६ को डेढ महिनामा ५८ लाख ८० हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् । गत वर्ष पीडितहरूले २ करोड ८६ लाख ७२ हजार ९ सय ६० रुपैयाँ क्षतिपूर्ति पाएका थिए । सुरक्षित आप्रवासन परियोजनाले राजविराज गरेको समीक्षा तथा आगामी कार्ययोजना विषयक छलफलमा सो जानकारी दिइएको हो ।
सामी, हेल्भिटासको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा सञ्चालित परियोजनाअन्तर्गत सूचना तथा परामर्श केन्द्रको पहलबाट सो क्षतिपूर्ति उपलब्ध गराइएको हो । चालू आवको साउन १ गतेदेखि भदौ १५ गतेसम्म सूचना तथा परामर्श केन्द्रमा दर्ता भएका १ सय ४५ मुद्दालाई समाधान गरेपछि विभिन्न एजेन्टबाट ठगिएका व्यक्तिलाई ५८ लाख ८० हजार रुपैयाँ रकम फिर्ता गराउन सफल भएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए ।
त्यस्तै गत वर्ष २०७४÷७५ मा ४ सय ७० वटा सूचना तथा परामर्श केन्द्रमा ठगिका मुद्दाहरू दर्ता भएका मध्येबाट २ सय ५८ वटा मुद्दा छिनोफानोपछि पीडितले २ करोड ८६ लाख ७२ हजार ९ सय ६० रुपैयाँ क्षतिपूर्ति पाएका थिए ।
त्यस्तै गत वर्ष जिल्लाबाट ९ हजार ३० जनाले राहदानी बनाएका थिए । गतवर्ष सप्तरीबाट ११ हजार २ सय १५ जना बैदेशिक रोजगारीका लागि गएका थिए । जसमा १६ जनाको बैदेशिक रोजगारीको क्रममा विदेशमै मृत्यु भएको परामर्श केन्द्रले जनाएको छ । यस्तै विदेश जाने ८ हजार ३ सय ७६ जनालाई सूचना तथा परामर्श केन्द्रले सुरक्षित वैदेशिक रोजगारीको बारेमा परामर्शसमेत दिएको थियो ।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कानुनी प्रावधानले वैदेशिक रोजगारीका क्रममा ठग्ने एजेन्टलाई कानुनअनुसार कारवाही गर्न नसकिएकाले स्थानीय तहका जनप्रतिनिधिलाई गम्भीर हुन आग्रह गरे । उनले ठगी गर्ने एजेन्टलाई स्थानीयस्तरबाटै निरुत्साहित गर्नुपर्ने र सबै नागरिकलाई यसप्रति सचेत गराउन ध्यान दिनुपर्नेमा जोड दिए ।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले ठगी गर्नेलाई पक्राउ गरे पनि आवश्यक कानुनको अभावमा अदालतको आदेशबाट रिहा गर्नुपर्ने बाध्यताका कारण काम गर्न असजिलो भएको बताए ।
रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले स्थानीय तहमा त्यस्ता कार्यलाई निरुत्साहित पार्न सम्पूर्ण स्थानीय तह एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताए । तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जिल्लाका १८ वटै स्थानीय तहका प्रमुख गम्भीर भएर ठगी गर्नेहरूलाई निरुत्साहित गर्नुपर्ने बताए ।
राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले सवै स्थानीय तहले जिल्लामा देखिएको वैदेशिक रोजगारीमा जानेहरूको समस्याप्रति एउटा एजेन्डा बनाएर कडारुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्