एसपी विष्ट सहित ६ प्रहरी र २ आरोपितसँग पोलिग्राफ बयान «

एसपी विष्ट सहित ६ प्रहरी र २ आरोपितसँग पोलिग्राफ बयान

काठमाडौं-प्रहरी प्रधान कार्यालयले डीआइजीको नेतृत्वमा गठन गरेको कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्त वलात्कार–हत्या प्रकरणमा एसपी सहित ६ जना प्रहरी अधिकृतसँग पोलिग्राफ बयान लिने भएको छ ।
प्रहरी नायव महानिरीक्षक (डीआइजी) धिरु बस्न्यातको संयोजकत्वमा गठन भएको समितिले अनुसन्धानमा लापरवाही गरेको अभियोगमा निलम्वनमा परेका ६ जना प्रहरी अधिकृतसँग पोलिग्राफ मेसिनबाट समेत बयान लिन लागेको हो ।
निर्मला पन्तको वलात्कार र त्यसपछि भएको हत्याका बेला कञ्चनपुर प्रहरी प्रमुख रहेका निलम्वित एसपी डिल्लीराज विष्ट, अनुसन्धान अधिकृत डीएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएका अर्का अनुसन्धान अधिकृत डीएसपी अंगुर जीसी तथा अनुसन्धानमा संलग्न इन्स्पेक्टरद्धय जगदीश भट्ट र एकेन्द्र खड्का तथा असई रामसिंह धामीसँग प्रहरी मूख्यालयले पोलिग्राफबाट बयान लिने भएको हो ।

को–को सँग पोलिग्राफ बयान ?
  •  एसपी डिल्लीराज विष्ट
  •  डीएसपी ज्ञानबहादुर सेठी
  •  डीएसपी अंगुर जीसी
  •  इन्स्पेक्टर जगदीश भट्ट
  •  इन्स्पेक्टर एकेन्द्र खड्का
  •  असई रामसिंह धामी
  •  एसपीका छोरा किरण विष्ट
  •  मेयरका भतिजा आयुष विष्ट

प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले आइतबार डीआइजी बस्न्यात, एसएसपी निरज बहादुर शाही, डीएसपीहरु रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकी सहित ९ जना सदस्य रहेको अनुसन्धान समिति गठन गरेका छन् ।
“समितिले अपराध अनुसन्धानका लागि प्रहरीले अपनाउँदै आएका सबै विधि/प्रक्रिया अवलम्वन गर्छ,” प्रहरी मूख्यालय उच्च स्रोतले भन्यो, “निलम्वित एसपी सहित केही आरोपितको डीएनए नै परीक्षणका क्रममा रहेको र अवको बयानमा तथ्य/प्रमाण जुटाउँन पोलिग्राफ मेसिन समेत प्रयोग गरिने छ ।”
बिहीबार नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका वरिष्ठ फरेन्सिक विज्ञ प्रा.डा हरीहर वस्ती सम्मिलित टोलीले एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भिमदत्त नगरपालिका (कञ्चनपुर)का मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए जाँच गर्न रगत र वीर्य प्रयोगशालामा पठाइसकेको छ ।
कुनैपनि अपराधमा संलग्न वा संकास्पद व्यक्तिले अनुसन्धानमा बयान परिवर्तन गरी तथ्य र प्रमाण लोप गर्नसक्ने जोखिम औंल्याउँदै नेपाल प्रहरीले २०७० सालबाट पोलिग्राफ मेसिनको समेत सहयोगमा घटनाको अनुसन्धान गर्दै आएको छ । यसैबीच डीआइजी बस्न्यातको संयोजकत्वमा गठित समितिले घटनाको शून्यबाटै अनुसन्धान गर्ने भएको छ ।
निर्मला पन्तको वलात्कार–हत्याको घटना भएको २ महिना वित्न लाग्दा पनि कुनै ठोस तथ्य र अभियुक्तको पहिचान नखुलेपछि समितिले शून्यबाटै अनुसन्धान गर्न लागेको हो । घटनाको छानविन गर्न ७ नम्बर प्रदेश कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो, जिल्ला प्रहरी कायाृलय कञ्चनपुर र गृह मन्त्रालयले सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा गठन गरेको समितिले कुनै ठोस तथ्य पत्ता लगाउँन नसकेपछि अव नयाँ शिराबाट अनुसन्धान गर्न लागिएको प्रहरी मूख्यालयका एक अधिकारीले जानकारी दिए ।
“यसअघिका अनुसन्धान समिति र छानविन प्रतिवेदनका कतिपय सवल पक्षलाई सन्दर्भ सामग्रीका रुपमा लिएर अनुसन्धानलाई शून्यबाट अघि बढाएका छौं,” ती अधिकारीले भने, “जसरीपनि दोषी पत्ता लगाएर कानुनी दायरामा ल्याउँछौं, समय लाग्न सक्छ, यसमा सबै पक्षबाट धैर्यता आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्