भेनेजुएला–चीनबीच ऊर्जा सम्झौता «

भेनेजुएला–चीनबीच ऊर्जा सम्झौता

भेनेजुएलाको राजनीतिक तथा आर्थिक अवस्थामा संकट आएसँगै यहाँको मुद्रा अमेरिकी मुद्राको तुलनामा निकै तल झरेको छ ।

बेइजिङ: भेनेजुएला र चीनबीच ऊर्जा तथा सुन उत्खननका लागि शुक्रबार सम्झौता भएको छ । राष्ट्रपति माडुरोको चारदिने भ्रमणको दोस्रो दिन शुक्रबार सम्झौता हुनुपूर्व चीनका स्वर्गीय नेता माओत्सेतुङको समाधिस्थल तियानानमेनमा पुगी नेता माओप्रति सम्मान व्यक्त गरेका छन् ।
माडुरोले भेनेजुएलाको राज्य सञ्चालित भिटिभी नेटवर्कद्वारा प्रसारित प्रतिक्रियामा भने, “हामी यो राजकीय भ्रमणको उत्कृष्ट रूपमा सुरुवात गर्न चाहन्छौँ । त्यसैले हामीले सम्झौता गर्नुपूर्व चीनका सर्वोच्च नेता माओत्सेतुङप्रति श्रद्धाभाव प्रकट गर्न यहाँ आएका छौँ ।”
“मेरो चीन भ्रमणले मलाई एक्काइसौँ शताब्दीमा विश्वभर चर्चाको शिखर चुम्न सफलमध्येका एक नेताको स्मरण गरिरहँदा मलाई प्रोत्साहन मिलेको छ ।” उनले माओत्सेतुङलाई प्रसंशा गर्दै भने, “विशाल मानवसागर रहेको चीन तथा विश्वको क्रान्तिकारी विचारका स्रोत माओको विचारले मलाई संकटका बेला धैर्य बनेर काम गर्न प्रेरणा मिल्ने गरेको छ ।”
भेनेजुएलाका राष्ट्रपति माडुरोले चिनियाँ राष्ट्रपति सी चिनपिङको समेत प्रशंसा गरेका छन् । माडुरो र सीबीच शुक्रबार नै भेटघाट भएको छ ।
भेनेजुएली नेताले पटक–पटक अमेरिकी शासकसँग संघर्ष गर्नुपरेको धारणा राख्दै अमेरिकी नेतृत्वको कटाक्षसमेत गरे । धम्की, प्रभुत्वको दबाबमा विश्वका मानव जातिमा शासन गर्ने शासकको भरमा शान्तिको वागडोर रहनु दुर्भाग्यपूर्ण रहेको उनले बताए ।
माओत्सेतुङको समाधिस्थलमा विरलै मात्र विदेशी नेताहरूले सार्वजनिक रूपमा भ्रमण गर्ने गरेको पाइन्छ । चीनको सांस्कृतिक क्रान्तिको समय अर्थात् सन् १९४९ देखि १९७६ सम्ममा माओको शासनविरुद्ध आवाज उठाएको आरोपमा मारिएका चिनियाँ नागरिकलाई तियानानमिनमा पुरिएको बताउने गरिएकाले विदेशी नेताहरूले उक्त स्थानको भ्रमण नगर्ने गरेको बताइन्छ ।
विश्वका उच्च पदस्थ नेताको भ्रमणका क्रममा सार्वजनिक रूपमा नै क्युवाका पूर्वराष्ट्रपति राहुल क्यास्ट्रोले आफ्ना दाजु फिडेल क्यास्ट्रोको उत्तराधिकारीका रूपमा जिम्मेवारी सम्हाल्ने तयारी गर्दै गर्दा सन् २००५ मा उक्त समाधिस्थलको भ्रमण गरी स्वर्गीय नेता माओप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसअघि सन् १९९५ मा माओको समाधिस्थलमा फिडेल पनि पुगेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
भेनेजुएलाको अर्थतन्त्रमा व्यापक संकट देखिएका बेला माडुरोेले प्रमुख ऋणदाता चीनको भ्रमण गरी देशको अर्थतन्त्रलाई उकास्ने योजना भिœयाउने योजना रहेको भेनेजुएली अधिकारीले बताएका छन् ।
भनेजुएलाले अमेरिका तथा युरोपेली युनियनले आफ्नो मुलुकबाट अर्बौं डलर कब्जामा लिएर ‘व्यापारमा रोक’ लगाएको आरोप लगाउने गरेको छ ।
भेनेजुएलाको राजनीतिक तथा आर्थिक अवस्थामा संकट आएसँगै यहाँको मुद्रा अमेरिकी मुद्राको तुलनामा निकै तल झरेको छ ।
शुक्रबार साँझ नै भेनेजुएलाको अर्थतन्त्रलाई थप संकटतर्फ जान नदिन ऊर्जा तथा सुनखानीलगायतका विषयमा हस्ताक्षर भएको छ ।
ओपेक सदस्य राष्ट्र भेनेजुएलालाई चीनले विगत एक दशकमा ५० अर्ब अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराएको थियो । जसमध्ये पेट्रोलियम पदार्थ आपूर्तिमार्फत ल्याटिन अमेरिकी राष्ट्रले ३० अर्ब अमेरिकी डलर फिर्ता गरेको छ भने अझै २० अर्ब अमेरिकी डलर ऋण तिर्न बाँकी छ ।
माडुरोको चीन भ्रमणमा थप ५ अर्ब ऋण थप्ने र पुरानो ऋणको म्याद आगामी ६ महिना बढाउने कार्यक्रम रहेको भेनेजुएली संस्था इकोनालिटिकाले जनाएको छ ।
यसै हप्ता चीनको भ्रमण गरेका भेनेजुएली उपराष्ट्रपति डेल्सी रोड्रिगेजले चाइना डेभलपमेन्ट बैंकका अधिकारीसँग पनि यसै विषयमा भेट गरेका थिए ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्