विद्युतीय मेसिनबाट निर्वाचन «

विद्युतीय मेसिनबाट निर्वाचन

पोखरा-पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनकोे निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग हुने भएको छ । निर्वाचनलाई पारदर्शी, छिटो छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले संघको निर्वाचन विद्युतीय मेसिनबाट गर्ने तयारी गरिएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पोखराको जेठो संस्थाको रूपमा रहेको संघको महाधिवेशन आउँदो असोज ५ र ६ गते पोखरामा हुने भएको छ । रामलक्ष्मण इनोभेसन नामक संस्थाले २२ वटा मेसिन ल्याई एकै पटकमा १९ जनाले मतदात गर्न सक्ने गरी व्यवस्था गरिएको निर्वाचन कमिटीका संयोजक तीर्थ श्रेष्ठले बताए । मतदातालाई मतदानसम्बन्धी जानकारी गराउँदै भोटिङ मेसिनको प्रयोगले भोटिङ बदरको न्यून सम्भावना हुने संयोजक श्रेष्ठले जनाए । संघको निर्वाचन भने असोज ६ गते हुने निर्वाचन कमिटीका सहसंयोजक राजेन्द्र वाटाजुले बताए । उक्त विद्युतीय मेसिनको प्रयोग गर्दा मदतान गरेपछि ढिलोमा डेढ घण्टामा नजिता आउने वाटाजुले जनाए । उक्त मेसिन प्रयोग गर्दा कम्पनीलाई संघले करिब ५ लाख दिने भएको छ ।
विगत ५ वर्ष अघिदेखि नेपालमा विद्युतीय मेसिनको प्रयोग गर्दै आएका कारण हालसम्म आफूहरूले प्रयोग गर्ने मेसिनमा कुनै समस्या नहुने रामलक्ष्मण इनोभेसनका लक्ष्मण रिमालले दाबी गरे । आफूहरूले प्रयोग गर्ने सिस्टममा हालसम्म कसैले ह्याक गर्न नसक्ने गरी बनाएको उनले जनाए । हालसम्म नेपालको ६१ वटा ठाउँमा यसको प्रयोग गरिएको रिमालले जनाए ।

प्रतिक्रिया दिनुहोस्