भारतीय राजदूत हुम्लामा «

भारतीय राजदूत हुम्लामा

हुम्ला-भारतीय तीर्थयात्रीको अवस्था, कैलाश मानसरोवर जाने बाटो र सुविधा बुझ्नका लागि भारतीय राजदूत मन्जित सिँह पुरी हुम्ला भ्रमणमा आएका छन् । शनिबार बिहान नेपालगञ्जबाट हवाइजहाजमा ७ जनाको समूहसहित हुम्लामा आएका पुरीले भारतीय तीर्थ यात्रीसँग यहाँको सुविधा र वस्तुस्थितिका बारेमा जानकारी लिएका थिए ।
विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पुरीले हुम्लामा भारतीय तीर्थयात्री मौसमको कारणले रोकिनु कुनै नयाँ घटना नभएको समेत बताए । मौसम परिर्वतन र हवाईजहाजको उडान ढिला भएमा तीर्थयात्री स्वयंले व्यवस्था र मानसिकता सोही अनुसारको बनाएर आउनुपर्नेमा जोड दिए । हुम्लामा रहेका भारतीय तीर्थयात्रीलाई व्यक्तिगत रूपमा भेटघाट गर्दै हुम्ला र कैलाश मानसरोवर भ्रमणको यात्रा अति नै प्रभावकारी रहेको यात्री गौरव शर्माले बताए । हुम्लामा रहँदा यात्राको सम्पूर्ण व्यवस्था राम्रो भएको र तीर्थयात्रा भारतीय नागरिकका लागि अति नै प्रभावकारी भएको शर्माको भनाइ छ । उचाइको कारण केही स्वासप्रश्वासको समस्या भएता पनि यसको व्यवस्थापन आफंैले गर्नुपर्ने खान बस्न र रहनका लागि राम्रो व्यवस्था रहेको तीर्थ यात्री पुष्पलता आत्रेयले बताइन् । तीर्थयात्राको क्रममा तीर्थयात्रीलाई स्वास्थ्य परीक्षणका लागि विमानस्थल र हिल्सामा डाक्टरसहितको विशेषज्ञ समूहको व्यवस्था गर्नका लागि अनुरोध गरिने प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । भारत सरकार नेपाल सरकारसँग मिलेर यहाँको समस्याका बारेमा सहकार्य गर्नका लागि तत्पर रहेको र के कस्तो सुविधा प्रदान गर्न सकिन्छ भन्ने विषयमा अध्ययनका लागि दूतवास अधिकृतको समूह मानसरोवर कैलाशसम्म नै पठाएको राजदूत मन्जित सिँह पुरीले बताए ।

प्रतिक्रिया दिनुहोस्