केपाङ निर्माण सुरु «

केपाङ निर्माण सुरु

तेह्रथुम-पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको ऐतिहासिकता जोडिएको केपाङ निर्माण सुरु गरिएको छ । जिल्लाको छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा १ करोड बराबरको लागतमा केपाङ निर्माण सुरु गरिएको हो ।
आर्थिक वर्ष ०७४/७५ को गाउँसभाबाट २० लाख रुपैयाँ विनियोजन गरी निर्माण सुरु गरिएको गाउँपालिका प्रमुख सन्तोष तिगेलाले बताए । आगामी २ वर्षभित्र निर्माण कार्य सम्पन्न हुने गरी क्रममागत रूपमा निर्माण सुरु गरिएको हो । केपाङ अर्थात् (च्याबु्रङ घर) मा ऐतिहासिक जातीय संग्रालय, सभाहलका साथै भवनको माथल्लोमा च्याबु्रङको आकारमा समय सूचक राखिने गाउँपालिकाले जनाएको छ ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ जिल्लामै पहिलो पटक केपाङ निर्माण सुरु भएको दाबी गरेका छन् । निर्माणका लागि गाउँपालिकाले समिति नै निर्माण गरी काम सुरु गरेको छ । आर्थिक वर्ष ०७४/७५ को गाउँसभाबाट २० लाख रुपैयाँ विनियोजन भए पनि समय अभावका कारण ३ लाखमात्र खर्च भएको प्रमुख तिगेलाले बताए । पहिलो वर्ष केपाङ निर्माणका लागि घडेरी सम्याउने काम पूरा भएको र केही महिनाभित्रै निर्माणका काम सुरु हुने भएको छ ।
छथरलाई पर्यटकको मुख्य आकर्षणको केन्द्रको रूपमा विकास गर्नका निम्ती गाउँपालिकाले देशकै पहिलो प्रधानमन्त्री पार्कदेखि छथर भ्यु पार्क बालबगैंचा लगायतका कामहरू गत वर्षदेखि नै सुरु गर्दै आएको छ । गाउँपालिकामा रहेका विभिन्न ऐतिहासिक स्थलका साथै सम्भावना रहेका स्थानको खोजी गर्दै संरक्षणका साथै संवद्र्धनमा जुट्दै आएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । पर्यटन प्रवद्र्धनका निम्ती गाउँपालिकाले यस वर्षमात्रै ९० लाख रुपैयाँ विनियोजन गरेको छ । रकम विनियोजनसँगै छथरलाई पर्यटन विकासका लागि राहत मिल्ने भएको छ । स्थानीय तह बनेसँगै छथरको मुहान नै फेरिन थालेको यहाँका स्थानीय बताउँछन् ।
वनभोज तथा विभिन्न कार्यक्रमका लागि पर्यटकीय क्षेत्रको खोजीमा भौतारिँदै आएका स्थानीय यतिबेला यहाँ बनेका पर्यटकीय क्षेत्रमा रमाइरहेका हुन्छन् । छथरकै धरोहरको रूपमा रहेका मार्गपोखरीमा पर्यटक भित्र्याउनका निम्ती पदमार्ग यसै वर्ष निर्माण हुने तयारी भइरहेको छ । पदमार्ग निर्माणका लागि प्रदेश सरकारबाट १० लाख रुपैयाँ विनियोजन भएको छ । पदमार्ग निर्माण नहुँदा यहाँ भित्रिँदै आएका पर्यटक आधाबाटो बाटै फर्किने गरेको स्थानीयवासी बताउँछन् । छथरमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके यहाँको आर्थिक समृद्धिमा टेवा पुग्ने जानकारहरू बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्