पहिरोले ८ घर विस्थापित «

पहिरोले ८ घर विस्थापित

गोरखा-पहिरोका कारण गोरखा सिर्दीबासका ८ घरपरिवार विस्थापित भएका छन् ।
चुमनुब्री गाउँपालिका–३ घट्टेखोलामा शुक्रबार साँझ साढे ७ बजेतिर आएको पहिरोले स्थानीय ८ घर विस्थापित भएको गाउँपालिका उपप्रमुख कुमारी गुरुङले जानकारी दिइन् । स्थानीय उम्बा गुरुङ, ज्ञानु घले, राजकुमार गुरुङ, बहादुर गुरुङ, कुमारी गुरुङ, रामबहादुर गुरुङ, सुर्यमान गुरुङ र कालीमाया गुरुङको परिवार विस्थापित भएका हुन् । उनीहरूलाई घट्टेखोला बगरमा पाल टाँगेर अस्थायी बसोबासको ब्यवस्था मिलाएको उनको भनाइ छ । “गाउँपालिकाको तर्फबाट एउटाएउटा पाल दिएका छौं,” उनले भनिन्, “प्रहरी, रेडक्रस, एक्याप, गाउँपालिका परिवार सबै मिलेर शनिबार दिनभर पूर्ण रूपमा क्षति पुगेका घरबाट खाद्यान्न, भाँडाकुडा, लत्ताकपडा लगायतका सरसामान निकाल्यांै ।”
विस्थापित भएकाले तत्कालका लागि गाउँलेसँग चामल सापट मागेर खाएको उपप्रमुख कुमारीले बताइन् । उनले भनिन्, “घरबाट भाँडाकुडा र खाद्यान्न निकाल्न नसकेको कुमारीको परिवारले हो । उनीहरूलाई गाउँपालिकाले ब्यवस्थापन गर्ने कुरा छ । यहाँ भाँडाकुडा पनि पाउँदैन, गोरखा बजार नै झर्नुपर्छ । अहिले छिमेकमा मिलेर बस्न भनेका छौं ।” स्थानीयले क्षतिपूर्ति माग गरेको उपप्रमुख गुरुङले बताइन् । उनले भनिन्, “यहाँको अवस्थाबारे हामी जिल्लामा पनि जानकारी दिन्छौ, सहयोग गर्न भन्छौ, हामीले पनि सकेको गर्छौं ।” केही दिनदेखिको अविरल वर्षापछि शुक्रबार साँझ एक्कासि पहिरो आएको हो । ठाडोखोला बढेकाले स्थानीय अहिले पनि त्रसित रहेका उनले बताइन् । घट्टेखोलामा करिब ७० घरधुरीको बसोबास छ । तत्कालका लागि विस्थापितलाई बगरमा ब्यवस्थापन गरे पनि दीर्घकालीन रूपमा बसोबासको ब्यवस्था मिलाउन समस्या रहेको उपप्रमुख गुरुङले जानकारी दिइन् । उनले भनिन्, “अहिलेलाई त यहाँ राखेका छौ, पछि त्यहीं जान पनि मिल्दैन पहिरो ठूलो छ । अब कहाँ कसरी ब्यवस्थापन गर्ने भन्ने समस्या छ ।”

पहिरोले लघुजलविद्युत्मा क्षति
स्थानीय लघुजलविद्युत् आयोजनामा पहिरोेले क्षति पु¥याएपछि गोरखाको गुम्दा गाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । धार्चे गाउँपालिका–५ गुम्दाको मङलुङ खोला लघुजलविद्युत् आयोजनामा गएराति पहिरोले क्षति पु¥याएपछि गाउँमा विद्युत् आपूर्ति बन्द भएको हो । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन नपुगेको गुम्दा गाउँका ३ सय घरले लघुजलविद्युत्बाट बिजुली बाल्दै आएका थिए । लाप्राकको दराङपाखा भन्ने ठाउँबाट खसेको पहिरोले लघुजलविद्युत्को भीरमा खोपेर बनाएको नहर बगाएको वडाध्यक्ष तुलबहादुर गुरुङले जानकारी दिए । उनले भने, “ठूलो पहिरो छ । ४ वर्षअघि १ करोड ६६ लाख रुपैयाँमा दुःख गरेर बनाएको नहर बगायो ।” विद्युत् आपूर्ति बन्द भएसँगै स्थानीयको जनजीवन प्रभावित भएको वडाध्यक्ष गुरुङले बताए । उनले भने, “पानी परिरहेको छ । सोलारले काम गर्दैन, अब मोबाइल पनि चार्ज गर्न नपाइने भयो । रेडियो सुन्न, टिभी हेर्न नपाइने भो बेखबर हुने भइयो ।” गाउँमा खुलेका फर्निचर उद्योग, बेकरी, तोरी मिल, कुटानी पिसानी मिल पनि बन्द भएका छन् । विद्युत् आपूर्ति बन्द हुँदा स्थानीय सूर्योदय माध्यमिक विद्यालयको पठनपाठन पनि प्रभावित हुने भएको छ । वडाध्यक्ष गुरुङले भने, “११ वटा कम्प्युटर थियो, विद्यार्थीले कम्प्युटर कक्षा पढ्न नपाउने भए अब ।” रातको समयमा वृद्धवृद्धालाई हिँड्डुल गर्न, विद्यार्थीलाई पढ्न, गृहिणीलाई घरधन्दा गर्न पनि समस्या परेको स्थाीनयले बताएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्