नाडा अटो शोमा अवलोकनकर्ताको घुईँचो «

नाडा अटो शोमा अवलोकनकर्ताको घुईँचो

  • आज अन्तिम दिन

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०१८ मा अवलोकनकर्ताको भीड लागेको छ । मेला सुरु भएको पाँचौं दिनसम्म आगन्तुकहरूको उपस्थिति उत्साहजनक रहेको नाडाले जनाएको छ ।
नाडाको आयोजनामा अटो शोको १३ औं संस्करण मंगलबारबाट सुरु भएको थियो । अटो शो अवलोकन गर्न आउनेहरूमा निक्कै उत्साह देखिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले बताए । “यो वर्षको अटो शोमा मेला हेर्न आउनेहरूमा राम्रो उत्साह देखिएको हामीले पाएका छौं,” उनले भने, “पाँच दिनसम्म आइपुग्दा हामीले अपेक्षा गरे अनुरूप नै मेला सफलताउन्मुख रहेको छ ।” आइतबार पनि आगन्तुकहरूको उल्लेख सहभागिता रहने विश्वास उनको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन् अफ नेपाल र ग्लोवल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा सुरु भएको नाडा अटो शो २०१८ को शीर्ष प्रायोजक सर्भो लुब्रिकेन्ट्स छ । आइतबारसम्म चल्ने मेलामा १९ वटा ब्राण्डका ४ पांग्रे तथा २० वटा ब्रान्डका २ पांग्रे सवारीसाधनहरू प्रदर्शनिमा राखिएका छन् ।
अटो शोमा यस वर्ष ७१ कम्पनीहरूको सहभागिता रहेको र १ सय ३४ वटा स्टल रहनेछन् । मेलामा सवारीसंग सम्बन्धीत टायर, लब्रिकेन्ट, स्पेयरपार्टस तथा ग्यारेज उपकरणको समेत सहभागिता रहेको छ । अटो शोको उद्घाटन भदौ २६ मा अर्थमन्त्री डा युवराज खतिवडाले गरेका हुन् । नाडा अटो शो– २०१८ मा हामीले लिएको लक्ष्यअनुरूप नै उपभोक्ताको सहभागिता रहेको नाडाका महासचिव सुनिल रिजालले बताए । “हामीले यो वर्षको मेलामा ५ सय करोडको कारोबार हुने लक्ष्य राखेका छौं,” उनले भने, “उपभोक्ताको आवागमन र सवारी बुक गर्न चाहनेहरूको उत्साह देख्दा त्यो पुरा हुने देखिएको छ ।” आइतबार अन्तिम दिन भएकाले अटो शो हेर्न चाहनेहरूको लागि अवसर समेत भएकाले अझै धेरैको सहभागित रहने विश्वास रिजालको छ ।
मेलामा सवारी खरिद गर्न चाहनेहरूका लागि सहभागी कम्पनीहरूले विभिन्न स्किम तथा उपहार योजना ल्याएका छन् । यो वर्षको अटो शोमा विद्युतीय सवारी पनि आकर्षणको केन्द्र बनेको छ । हुन्डाइको आयोनिक, टाटा टियोर इलेक्ट्रिक, महिन्द्रा भेरियो, किया सोल इभी लगायत विद्युतीय कार छन् । त्यस्तै अमेरिकी ब्रान्डको जिप पनि धेरैको आकर्षणमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्