किबी खेतीमा किसानको आकर्षण «

किबी खेतीमा किसानको आकर्षण

भोजपुर-भोजपुरका किसान पछिल्लो समय व्यावसायिक किबी खेतीतर्फ उत्साहित हुन थालेका छन् । मकै फल्ने बारीमा किबीबाट राम्रो आम्दानी हुन थालेपछि कृषक व्यावसायिक किबी खेतीतर्फ आकर्षित भएका हुन् । एक पटक रोपेपछि वर्षौंसम्म आम्दानी लिन सकिने भएपछि किसानको आकर्षण किबी खेतीतर्फ बढी देखिएको हो ।
भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न क्षेत्रमा किबी खेती हुँदै आएको छ । केही किसानले रहरले किबी खेती गरेको पाइए पनि टेम्केमैयुङ गाउँपालिका–४ नागीमा भने व्यावसायिक रुपमा नै खेती गर्न थालिएको छ । टेम्केमैयुङ गाउँपालिका–४ नागीका सुरज राईको परिवारले दुई सयभन्दा बढी किबीका विरुवा लगाएर यसको खेती थालेका छन् । मकै फल्ने बारी मासेर चार वर्ष अघि खेती गरेका सुरजको बारीमा रहेको किबीले उत्पादन दिन थालेको छ । रोपेको दुई वर्षबाट केही उत्पादन दिन थालेकोमा यस वर्षबाट भने उत्पादन दोब्बर भएको राईले बताए । “सुरुमा हुन्छ, कि हुँदैन भनेर सुरु गरेको हाल आएर राम्रो उत्पादन दिन थालेको छ,” उनले भने । राईले इलामबाट विरुवा ल्याएर खेती सुरु गरेको बताए । किबीका साथमा पाखे अलैंची र खुर्सानी खेती पनि गर्न सकिने भएकाले दोहोरो फाइदा लिन सकिने उनको भनाइ छ ।
एकै सिजनमा ५ लाख रुपैयाँसम्मको किबी फलेपछि थप विस्तार गर्ने सोच बनाएको राईले बताए । परिवारका अन्य सदस्यको सहयोगबाट खेती गरिरहेका उनले किबी खेतीबाट वार्षिक १० लाखसम्म आम्दानी गर्ने अपेक्षा राखेका छन् । राम्रोसँग किबी खेती गरेमा विदेश जानु नपर्ने राईले बताए । आफ्नो बारीमा उत्पादन भएको किबी केही गाउँमा र केही सदरमुकाममा लगरे बेच्ने गरेको उनको भनाइ छ । प्रतिकेजी २ सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँमा बजारमा बिक्र हुने गरेको छ । राम्रो उत्पादन दिन थालेपछि खेती थप विस्तार गर्ने सोच भइरहेको राईले बताए ।
टेम्केमैयुङ गाउँपालिकाका कृषि प्राविधिक सहायक रामयतन यादवका अनुसार गाउँपालिकाको धेरै क्षेत्रमा व्यावसायिक रूपमा किबी खेतीको सम्भावना छ । किबी खेतीका लागि उपयुक्त हावापानी भएको देखिएकाले १५ सय मिटरभन्दा माथि २४ सय मिटरसम्मको उचाइमा खेती गर्न सकिने यादवले बताए ।
अर्जुन बस्नेत

प्रतिक्रिया दिनुहोस्