बाली फस्टाएपछि किसान खुसी «

बाली फस्टाएपछि किसान खुसी

हुम्ला-हुम्लाको नाम्खा गाउँपालिकाका कृषक यसवर्ष खेतबारीमा लगाएको अन्नबाली राम्रो फलेका कारण खुसी भएका छन् । अधिकांश वर्ष खडेरीको मारमा पर्ने किसान यो वर्ष भएको वर्षाको कारण खेतीपाती राम्रो हुँदा खुसी भएका हुन् । खेतीयोग्य जमिनको कम भए पनि लगाइएको अन्नबाली सप्रिएपछि यो वर्ष उत्पादन वृद्धि हुने र घर व्यवहार चलाउन सहज हुने किसानहरू बताउँछन् ।
सिँचाइको अभावले हरेक वर्ष चीनको पुलाङ्ग काउण्टीबाट मैदा र चामल ल्याएर छाक टार्नुपर्ने बाध्यता रहँदै आए पनि यस वर्ष फल्ने अन्नले केही राहत दिने नाम्खा गाउँपालिका–१ का प्रकाश लामाले बताए । विगतका वर्षमा यहाँका वासिन्दाले कहिले अतिवृष्टि त कहिले अनावृष्टीका कारण भोकमरीको सामना गर्नुपरेको भए पनि यो वर्ष किसानले केही राहत महशुस गर्ने स्थानीय बताउँछन् । नाम्खा गाउँपालिकाको लिमी क्षेत्रमा मात्र फल्ने नाफल (उच्च हिमाली भेगमा फल्ने गहुँ) राम्रो भएको छ । त्यसैगरी यारी र मुचु क्षेत्रका किसानको खेतबारीमा पनि अन्नको अवस्था राम्रो देखिएको छ ।
वर्षको एक मात्र बाली उत्पादन हुने यस गाउँपालिकाका बासिन्दालाई सरकारी अनुदानको चामल र खाद्यान्न किन्न सदरमुकाम सिमिकोट टाढा पर्ने भएको कारण हाल चीन सरकारको मुख ताक्न बाध्य हुने गरेका छन् । यस वर्ष चीनको पुलाङ्ग काउण्टीको स्थानीय सरकारले विगतका वर्षमा झैं प्रशस्त खाद्यान्न बाली निर्यात नगर्दा हुम्लाका उत्तरी गाउँपालिका नाम्खा, बिचको गाउँपालिका सिमिकोट र खार्पुनाथमा पनि यसको असर पर्ने देखिएको छ । हाल चीनको ताक्लाकोट बजारबाट निर्यात हुँदै आएको मैदा आयातमा चीन सरकारले केही कडाई गर्दा यस्तो अवस्था सिर्जना भएको नाम्खा गाउँपालिकाका स्थानीयको भनाइ छ ।
यो वर्ष खेतबारीमा उत्पादन भएको अन्नबाली राम्रो भएको भए पनि प्रशस्त खेती नगरिँदा यसले वर्ष भरी नै धान्न भने गाह्रो हुने स्थानीयको भनाइ छ । लिमी गाउँपालिकाको तिल, हल्जी, जाङ्ग, मुचु, यारी, तुम्कोट, केर्मी र हेप्काका स्थानीयका लागि आफ्नै उत्पादनले वर्षभरी खान नपुग्ने भएको कारण चीनको ताक्लाकोट बजारलाई कुर्नुपरेको अवस्था छ ।
किसानले लगाएको आलु, तोरी, नाफल, जौं, फापरलगायतका बालीको उत्पादनमा भने गत वर्षभन्दा यो वर्ष दोब्बर वृद्धि हुने देखिएको छ । ग्रामीण वस्तीमा जताततै अन्नबालीको अवस्था राम्रो रहेको स्थानीय छोइसाङ लामाले बताए । विगतका वर्षमा तरकारी खानको लागि सागसमेत उत्पादन नहुने उच्च हिमाली वस्तीमा हाल जलवायु परिवर्तनका कारण साग, गोलभेंडा, काँक्रा, लौकालगायतका तरकारी पनि राम्रै उत्पादन हुन थालेको छ । हिउँदमा सागलगायत तरकारी बाली राम्रो फलाउन हरित गृहको सहयोग गरेको मुचुका किसान थेकचोक लामाले बताए । किसानलाई हाल स्थानीय गैरसरकारी संस्था र सरकारी कार्यालयले प्रविधि र तरिका सिकाउँदा तरकारी उत्पादनमा पनि राम्रो फाइदा किसानले लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्