पाँचथरमा सम्बन्ध बिच्छेद बढ्दो «

पाँचथरमा सम्बन्ध बिच्छेद बढ्दो

पाँचथर-जिल्ला अदालत पाँचथरमा आएका सम्बन्ध बिच्छेदका मुद्दामध्ये अधिकांश मुद्दामा महिलाको उमेर २० वर्ष आसपास हुने गरेको छ । कम उमेरमा विवाह गर्ने, पछि व्यवहारमा परेपछि वैवाहिक जीवनलाई टुक्राउने गरेको पाइएको छ । यही भदौ १ गतेबाट जारी नयाँ मुलुकी ऐनमा परिवर्तन भएपछि सम्बन्ध बिच्छेदका घटना कम हुने अनुमान गरिएको छ ।
जिल्लामा पछिल्लो समय सम्बन्ध बिच्छेदका घटना बढेका छन् । सम्बन्ध बिच्छेदको संख्या बढ्दो मात्रामा हँुदा परिवारहरू टुक्रँदै गएका छन् ।
जिल्ला अदालत पाँचथरको तथ्यांकअनुसार सम्बन्ध बिच्छेद गर्न चाहनेको संख्या दैनिकजसो बढिरहेको छ । सानो उमेरमा विवाह गर्ने, परिवारको सहमतिबिना विवाह गर्ने संख्या बढी हुँदा परिवार टुकँ्रदै गएको हो । वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा भएको वृद्धिसँगै त्यस्तो समस्या बढेको जानकारहरू बताउँछन् ।
मुख्य कारण युवा बिदेशिनुलाई मानिएको भए पनि आन्तरिक कारणले पनि सम्बन्ध बिच्छेदलाई बढावा दिइरहेको छ । जिल्ला अदालत पाँचथरका अनुसार गत आर्थिक वर्षमा १ सय ६० वटा मुज्ञा परेकोमा १ सय १२ वटा फैसला भएका छन् । अझै ४८ वटा बाँकी छन् ।
अघिल्लो आर्थिक वर्षमा जिल्लामा ८४ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए । दर्ता भएका मध्ये ५६ वटा मुद्दाको फैसला भएको छ । सम्बन्ध बिच्छेद गर्नुको मुख्य कारण श्रीमान् वैदेशिक रोजगारीमा जानुलाई लिन गाह्रो नहुने जिल्ला अदालत पाँचथरका श्रेस्तेदार टिकेन्द्रजंग राणा बताउँछन् । उनले भने, “त्यससँगै जोडिएर अन्य कारण पनि आउने गरेको अनुभव छ । अदालतसम्म पुगेका सम्बन्द बिच्छेदका धेरै मुद्दाहरूमा श्रीमान विदेशिएपछि महिलाले अर्को पुरुषसँग सम्बन्ध विस्तार गर्ने कारण त्यसले समस्या सिर्जना गर्ने गरेको बताइन्छ । कति केसमा त्यस्तो भएको छ भन्न सकिने अवस्था छैन । तर सम्बन्ध बिच्छेदको कारण त्यही मात्र भने होइन ।”
श्रीमान् विदेशिएपछि श्रीमतीले दोस्रो विवाह गर्ने, श्रीमान्ले विदेशमा कमाएको रकम अनुत्पादक क्षेत्रमा प्रयोग गर्ने र जसका कारण श्रीमान्सग राम्रो नहुने कारण पछि सम्बन्ध विच्छेदका घटना भएको छ । योबाहेक श्रीमान्ले मादक पदार्थ सेवन गर्ने र त्यसपछि झगडा सुरु हुने, आर्थिक अवस्था सबल नहुँदा समस्या हुने, परम्परागत रितिरिवाजमा बेमेल हुने कारण पनि सम्बन्ध बिच्छेद भएको पाइन्छ । कम उमेरमा गरिने विवाहले पनि सम्बन्ध बिच्छेदलाई सहयोग गरिरहेको बताइन्छ ।
जिल्ला अदालत पाँचथरमा आएका सम्बन्ध बिच्छेदका मुद्दामध्ये अधिकांश मुद्दामा महिलाको उमेर २० वर्ष आसपास हुने गरेको छ । कम उमेरमा विवाह गर्ने, पछि व्यवहारमा परेपछि वैवाहिक जीवनलाई टुक्राउने गरेको पाइएको छ ।
यही भदौ १ गतेबाट जारी नयाँ मुलुकी ऐनमा परिवर्तन भएपछि सम्बन्ध बिच्छेदका घटना कम हुने अनुमान गरिएको छ । विषेश गरेर सम्बन्ध बिच्छेद, अंश मुद्दा लगायतका विषयमा थप परिमार्जनसहितको कानुन लागू भएको जिल्ला न्यायधिस मनोज केसीले बताए ।
“यसअघि महिलाले जसरी मुद्दा लगाए पनि उनकै पक्षमा फैसला हुने अवस्था थियो तर अब त्यस्तो हुँदैन । घटनालाई हेरेर फैसला गर्ने बाटो खुलेको छ । क्षतिपूर्तिको केसमा पनि पहिलाको जस्तो अवस्था छैन,” उनले भने ।

दीपक बोहोरा

प्रतिक्रिया दिनुहोस्