‘आर्थिक समृद्धि नै सरकारको मूलमन्त्र’ «

‘आर्थिक समृद्धि नै सरकारको मूलमन्त्र’

कारोबार इकोनोमिक कन्क्लेभ २०१८ 

प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि नेपालमा अहिले उपयुक्त समय भएका बताएका छन् । कारोबार राष्ट्रिय दैनिकले आयोजना गरेको ‘कारोबार इकोनोमिक कन्क्लेभ २०१८’ को उद्घाटनपछि शुक्रबार प्रधानमन्त्री ओलीले दोहोरो अंकसहितको अािर्थक विकास र समृद्धि नेपालले चाहेको र नेपालमा लगानीका लागि अहिले उपयुक्त समय रहेको बताएका हुन् ।
“तीव्र गतिमा आर्थिक विकासका लागि विभिन्न कोणबाट काम भइरहेको छ । स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई राम्रो मुनाफा कमाउने अहिले उपयुक्त अवसर हो,” प्रधानमन्त्रीले भने, “नेपाल लगानीका लागि ‘भर्जिनल्याण्ड’ हो ढुक्क भएर लगानी गर्नुस्, संघीयता कार्यान्वयन र विकास समृद्धि सरकारका प्राथमिकता हुन् । तपाइँहरूको लगानीको उचित संरक्षण सरकारले गर्ने छ ।” प्रधानमन्त्री ओलीले विभिन्न काराणले बन्द भएका उद्योगहरू पुनः सञ्चालन र नयाँ उद्योगको स्थापना सरकारको प्राथमिकतामा रहेको पनि स्पष्ट पारे ।
“हाम्रो व्यापारघाटा न्यूनीकरण गर्ने भनेको औद्योगिक क्षेत्रमा लगानी बढाएरै हो, उत्पादन बढाउन सकियो भने व्यापारघाटा न्यूनीकरण गर्न सकिन्छ, त्यसैले औद्योगिक क्षेत्रमा बिनाहिचकिचाहट लगानी गर्नुस्,” प्रधानमन्त्रीले भने । उनले लगानीका लागि एकद्वार प्रणालीको व्यवस्था गर्न लागिएको भन्दै लगानीका लागि रहेका कानुनी र व्यावहारिक जटिलता हल गरिने बताए । उनले लगानीको सुरक्षा गर्दै लगानीकर्तालाई राम्रो अवसर दिइने बताए । भारत र चीन दुबै देशसँग मिलेर नेपालले आर्थिक विकास र समृद्धिको चाहना पूरा गर्न खोजेकोे बताउदै ओलीले भने, “गरिबी न्यूनीकरण र उच्च अंकको आर्थिक वृद्धि हाम्रो मूल मन्त्र हो, यसका लागि हाम्रा छिमेकी मुलुकसँग मिलेर हाम्रो सपना पूरा गर्न सकिन्छ भन्नेमा हामी दृढ संकल्प कासाथ अघि बढेका छौ ।” उनले केही समयमै रक्सोल–काठमाडौं रेलका विषयमा केही दिनमा सहमति हुने जानकारी दिए ।
भारत र चीनसँग समृद्धिकै विषयमा छलफलः दाहाल
‘कारोबार इकोनोमिक कन्क्लेभ–२०१८’को अन्तिम शत्रमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि केही दिनअघि भारतीय प्रधानमन्त्रीसँग नेपालको आर्थिक विकास समृद्धिबारे छलफल भएको जानकारी दिए । “नेपालले भारत मिलेर आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भनेर भारतीय प्रधानमन्त्रीसँग समेत छलफल भएको छ,” उनले भने । आर्थिक विकास र समृद्धिमा यसमा राष्ट्रिय सहमति भएको उल्लेख गर्दै दाहालले संसद र राजनीतिक नेतृत्वमा विकास र समृद्धिको एजेण्डा देशको एजेण्डा हो भन्नेमा कुनै बिमति नभएको स्पष्ट पारे । उनले शनिबारदेखि हुन लागको आफ्नो चीन भ्रमणमा पनि नेपालको समृद्धिकै विषयमा कुरा हुने स्पष्ट पारे ।
“हामीले अब जतिसक्यो छिटो देशमा उत्पादन वृद्धिको वातावरण बनाउने हो र रोजगारी सिर्जनाका वातावरण र जनअपेक्षाअनुसार समृद्धिको नयाँ अध्यायको थालनी गर्नु पर्नेछ भन्नेमा सिद्धान्ततः कसैको बिमति छैन,” दाहालले भने, “तर, हामीले जनतालाई आश्वस्त पार्नेगरी हाम्रा भिजन हाम्रा विकासका हाम्रा मौलिक नीति र कार्यक्रमहरू र हामीले त्यो दिशामा काम गरेका छौं भन्ने विश्वसनीय आधार दिन हामीले अझै सकेका छैनौ । यसले जनतामा कता कता के हुने हो फेरि भन्ने प्रश्नहरू उठिरहेको छ ।” उनले आफू राजनीतिक परिवर्तनको साक्षी र सहयात्री भएको तथा नेतृत्वकर्ताको हैसियतले यो पटक पनि हामी इनोभेटिभ हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
“अब पनि हामी क्रियटिभ र प्रोग्रेसिभ हुन सकेनौ र हामीले नयाँ सुरुवात गर्न सकेनौं भने यो देशको भबिष्य के होला भन्ने चिन्ता निक्कै गहिरोगरी लाग्ने गरेको छ ।” प्रचण्डले विकास नहुनुका पछाडि हिजोका दिनमा जस्तो उम्किने ठाउँ नभएको बताए ।
“हिजोका दिनमा पञ्चायतलाई कहिले राजाको निरंकुशतालाई त कहिले राजनीतिक दलहरूको द्वन्द्वलाई कहिले यस्तै विषयलाई हामीले आरोपित गरेर जनताका अगाडि क्षमायाचना गर्ने आधार बनाउँथ्यौं, तर यो पटक हामीलाई कुनै आधार छैनन्,” उनले भने, “हामीले उत्पादन वृद्धि गर्न सकेनौं, हामीले रोजगारी सृष्टि गर्न सकेनौं, हामीले विकास र समृद्धिको नयाँ अभियानको सुरुवात गर्न सकेनौं भने हामीले केही आधार प्राप्त हुने छैन र त्यसपछिको भयावह अवस्थाको कल्पना पनि गर्न सकिँदैन ।” उनले नेपालले ७० वर्षपछि पाएको स्थायी सरकार र राजनीतिक उपलब्धि नेपालका लागि निकै ठूलो अवसर भएको यसैलाई आधार मानेर विकास र समृद्धिलाई नै मुख्य एजेण्डा अघि सारेको बताए ।
समृद्ध राष्टको कुरा र सुखी नेपालीको परिकल्पना आफूहरूले गरेको तर आफूहरूलाई बिरासतमा प्राप्त भएका कयाँै नकारात्मक कुराहरूलाई परास्त गर्ने र सकारात्मक परिस्थितिको निर्माण गर्ने र सकारात्मक पहल गर्ने कुरा सबैका लागि अत्यन्त महत्वपूर्ण चुनौतीको रूपमा रहेको उनले बताए । “प्रकृतिकले दिएको स्रोत, भौगोलिक विविधता, साँस्कृतिक विविधता छ, यसलाई उपयोग गर्न सक्यौँमात्रै पनि समृद्ध राष्ट्र हुन सक्छ । यो अवसरलाई गुमायांै भने फेरि हामीले फेरि प्राप्त गर्न सायद धेरै नै कठिन हुने छ । यसलाई गुम्न दिन बिलकुलै हुँदैन,” दाहालले भने ।
अर्थमन्त्री डा. युवराज खतिवडाले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्नका लागि सरकार प्रतिबद्ध रहेका बताए । पछिल्ला दुई वर्षमा नेपालले हासिल गरेको आर्थिक वृद्धिलाई निरन्तरता दिनु नै मुख्य चुनौती भएको र यसका लागि निजी लगानी आवश्यक रहेको उनको भनाइ छ । निजी लगानीको संरक्षण सम्बद्र्धन गर्न केही आधारशीला तयार गर्दैै रहेको उनको भनाइ छ । उनले विदेशी लगानी ल्याउन र निजी लगानीकर्तालाई प्रोत्साहित गर्न लगानीयोग्य वातावरण बनाइरहेको जानकारी दिँदै भने, “हामीले सुशासनमा ध्यान दिएका छौँ, यसैलाई मध्यनजर गरेर विदेशी लगानी नीति, आईएनजीओ नीतिमा पनि परिमार्जन गर्दैछौं ।” उनले हामीले दोहोरो अंकसहितको आर्थिक वृद्धि हासिल गर्न सक्दैनौं भन्दै त्यसका लागि निजी क्षेत्रबाट दुईतिहाई लगानी अवाश्यक पर्ने पनि बताए ।
“करिब ८० प्रतिशत हिस्सा निजी क्षेत्रको छ, मुख्य लगानीकर्ता भनेको निजी क्षेत्र नै हो र विदेशी लगानीका लागि केही मुख्य सूचकहरूमा सकारात्मक देखिएको छ,” उनले भने, “सरकारको निर्णय लिने क्षमता, सुशासन, पूर्वाधार, विकाससम्बन्धी गरिएका नीति निर्णयले केही सकारात्मक सूचकहरू देखिएका छन् ।” उनले नेपालको कर कर वैज्ञानिक भएको पनि जिकिर गरे । “यो समय भनेको लगानीकै हो, निजी क्षेत्रलाई लगानीका लागि सरकारले आग्रह गरेको छ, औद्योगिक क्षेत्र र त्यसमा पनि विशेष अर्थिक क्षेत्र सेज स्थापना भइसकेको छ,” उनले भने “लोडसेडिङको अन्त्य भइसकेको छ । रोजगारदाता र मजदुरका समस्या समाधान भइसकेका छन् । राजनीतिक द्वन्द्व सकिएको छ, त्यसैले नेपालमा पर्याप्त लगानीको संभावना छ ।”
कार्यक्रममा पूर्वअर्थमन्त्री डा. रामशरण महतले स्थानीय र प्रदेश तहमा थुप्रै संरचना बने पनि संस्थागत क्षतमा नहुनु सरकारका लागि ठूलो चुनौती भएको बताए । ७ सय ५३ तहको स्थानीय सरकार र ७ प्रदेश सञ्चालनका लागि ठूलो आर्थिक स्रोत चाहिने भन्दै त्यसलाई कसरी दिगो बनाउने भन्ने कुरा अहिलेको सरकारको मुख्य चुनौती रहेको उनको भनाइ छ । उनले त्यसतर्फ ध्यान दिन पनि सरकारलाई सुझाव दिए । सम्मेलनमा अर्थमन्त्री, उद्योगी व्यवसायी, विभिन्न राजनीतिक दलका नेताहरू, भारतीय जनता पार्टीका नेता, प्रवासी नेपाली, आर्थिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा ४ वटा भिन्नभिन्न शत्रमा दोहोरो अंकको आर्थिक वृद्धिका लागि निजी क्षेत्रको लगानी, वैदेसिक लगानी, वैदेशिक रोजगारीबाट नेपाल फर्केकाको लगानी तथा जलविद्युत्मा लगानी विषयमा गहन छलफल भएको थियो भने अन्तिम शत्रमा उद्यमशीलताको विकासका लागि समर्पित विभिन्न उत्कृष्ट कम्पनी तथा व्यक्तिलाई पुरस्कृत गरिएको थियो ।

क्रोनी सोसियलिज्मबाट पनि बच्नु पर्छ
कार्यक्रममा ‘कि नोट स्पीकर’का रूपमा आमन्त्रित भारतीय जनता पार्टीका प्रवक्ता (आर्थिक मामिला) गोपालकृष्ण अगरबालले क्रोनी क्यापिटलिज्मले अर्थतन्त्रलाई विसंगतितर्फ लैजाने भन्दै त्यसबाट बच्न सुझाव दिए । क्रोनी सोसियलिज्मले पनि अर्थतन्त्रमा ठूलो समस्या ल्याउने हुनाले क्रोनी क्यापिटलिज्ममात्र नभइ नेपाल तथा भारतजस्ता देशले क्रोनी सोसियालिज्मबाट पनि बच्नुपर्ने बताए । नेपालको संविधानमा समाजवादउन्मुख अर्थतन्त्र लेखिए पनि हाल निजी क्षेत्र सरकारले कस्तोखाले आर्थिक नीति लिन्छ भन्ने प्रतीक्षामा रहेको बेला उनको उक्त भनाइ समय सान्दर्भिक रहेको सहभागीहरूले बताए ।
अगवालले उच्च अंकको आर्थिक वृद्धिका लागि दीर्घकालिन सोच र योजना आवश्यक पर्ने बताए । “भारतले नेपाल समृद्ध भएको हेर्न चाहेको छ, त्यसैले नेपालले उच्च अंकको आर्थिक वृद्धि हासिल गर्न दीर्घकालिन योजना र सोचको आवश्यक पर्छ, यसमा नेपालका राजनीतिक नेतृत्वले ध्यान दिनुपर्छ,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्