रोजगारी बढाउन उद्योग मन्त्रालय र परिषदबीच सम्झौता

युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगार तथा रोजगार सिर्जना गरी गरिबी निवारण गर्ने लक्ष्यमा सघाउ पुर्याउन उद्योग मन्त्रालय र राष्ट्रिय युवा परिषदबीच सहकार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्थानीय स्रोत साधनको परिचालन गरी कृषि, वन, पर्यटन, परम्परागत सीप र सेवामा आधारित उद्यमहरूको माध्यमद्वारा गरिब तथा बेरोजगार युवालाई उद्यमशीलता विकासमार्फत मुलुकको आर्थिक–सामाजिक रूपान्तरणमा सहभागी गराउने कार्यमा सो समझदारीले सघाउ पुर्याउनेछ ।
उद्योगमन्त्री सुनीलबहादुर थापा, राज्यमन्त्री रेशमबहादुर लामा तथा सचिव यामकुमारी खतिवडाको उपस्थितिमा औद्योगिक प्रवद्र्धन महाशाखाका सहसचिव प्रदीपकुमार कोइराला र युवा परिषद्का तर्फबाट उपाध्यक्ष माधवप्रसाद ढुंगेलले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारीअनुसार मन्त्रालय मातहतका निकायबाट उद्यमशीलता विकासलगायत विभिन्न विषयमा सीप विकास तालिम प्रदान गरिन्छ भने परिषद्बाट देशका सबै जिल्लामा जिल्ला युवा समितिको कार्यालयमार्फत युवा लक्षित विभिन्न कार्यक्रमहरू सञ्चालन हुनेछ । कार्यक्रमको कार्यान्वयनबाट युवा उद्यम कार्यक्रममा युवा उद्यम विकासका लागि आवश्यक पर्ने व्यवस्थापन तथा प्रविधि खरिदका लागि विना ब्याज ऋण सहयोग र युवाहरूलाई ज्ञान सीप प्रदान गर्ने र स्थानीय स्रोत साधनको अधिकतम प्रयोग गरी स्वरोजगार बनाउने उद्देश्य हासिल गर्न सहयोग पुग्नेछ । सम्झौतापश्चात् परिषद्ले “एक निर्वाचन क्षेत्रको एक वडामा दश युवा एक उद्यम,” कार्यक्रमको कार्यान्वयन गर्न युवा उद्यमीको छनोट गरी स्थानीयस्तरमा सीप विकास तालिम सञ्चालन तथा प्रविधि हस्तान्तरण गर्नेेछ भने मन्त्रालयले सामाजिक परिचालन, उद्यमशीलता विकास, सीप विकास, वित्तीय पहुँचमा सहजीकरण, उपयुक्त प्रविधिमा पहुँच, बजार पहुँच र व्यावसायिक परामर्शजस्ता सेवाहरू प्रदान गर्न सहयोग गर्नेछ । यसको कार्यान्वयनबाट मुलुक भित्रै रोजगारी सिर्जना गरी आगामी दश वर्षभित्रमा श्रमको लागि विदेश जाने क्रमलाई अन्त्य गर्ने मन्त्रालयको ध्येयमा सघाउ पुग्ने विश्वास गरिएको छ ।
समझदारी पत्रमा हस्ताक्षर गर्दै मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले स्थानीय तहमा उद्योग र उद्यमशीलताको विकास, रोजगारी सिर्जना र गरिबी निवारण कार्यक्रमको कार्यान्वयनमा समन्वय र सहकार्य कायम भई संघीयता कार्यान्वयनमा योगदान पुग्ने बताए । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष ढुंगेलले युवा लक्षित कार्यक्रमलाई परिणाममुखी बनाउने कार्यमा यो एउटा राम्रो सुरुवात भएकोमा खुसी व्यक्त गरे । सचिव खतिवडाले बेरोजगार युवा, महिला लक्षित यस कार्यक्रममार्फत संस्थातगत रूपमा समन्वय र सहकार्य भई थप रोजगारी सिर्जना हुने बताइन् । उद्योगमन्त्री थापाले यो सम्झौताको कार्यान्वयन पक्षमा जोड दिँदै बेरोजगार युवाहरूलाई स्वरोजगार र रोजगारी सिर्जना गरी आर्थिक समृद्धि प्राप्त गर्ने लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिएका छन् ।