सोलुका ५ स्थानीय तहको २ करोड बजेट फ्रिज

सोलुखुम्बु-सोलुखुम्बुको आठ स्थानीयमध्ये पाँच स्थानीय तहको बजेट फ्रिज भएको छ । समयमै काम सम्पन्न नगर्ने स्थानीय तहको १ करोड ९१ लाख ४८ हजार १९ रुपैयाँ बजेट फ्रिज भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका निमित्त कोष नियन्त्रक सविन अधिकारीका अनुसार सबैभन्दा बढी सोलुदूधकुण्ड नगरपालिकाको ६३ लाख ७३ हजार ५०२ रुपैयाँ फ्रिज भएको छ ।
गत आर्थिक वर्ष ०७४/७५ मा विनियोजित शीर्षकको रकम खर्च हुन नसकेपछि फ्रिज भएको हो । त्यस्तै लिखुपिके गाउँपालिकाको ५१ लाख ४७ हजार ११९ रुपैयाँ फ्रिज भएको कोलेनिकाले जनाएको छ । सोलुखुम्बुको स्थानीय तहमध्ये आन्तरिक स्रोतमा अव्बल मानिएको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको ४७ लाख ४४ हजार ८८९ रुपैयाँ फ्रिज भएको छ ।
उता सोताङ गाउँपालिकाको १९ लाख ८२ हजार ५ सय ९ रुपैयाँ फ्रिज हुँदा थुलुङ दूधकोसीको भने ९ लाख मात्र फिर्ता गएको छ । अन्य तीन स्थानीय तह माप्य दूधकोसी, नेचासल्यान गाउँपालिका र महाकुलुङ गाउँपालिकाले भने विनियोजित रकम खर्च गरेका छन् ।
सोलुखुम्बुका ८ स्थानीय तहलाई गत आर्थिक वर्ष ०७४/७५ मा १ अर्ब ८१ करोड २८ लाख ५५ हजार बजेट उपलब्ध भएको थियो । जसमध्ये १ अर्ब ७९ करोड २९ हजार ८९४ रुपैयाँ खर्च भएको छ भने बाँकी रकम फ्रिज भएको हो । यता सबैभन्दा बढी बजेट फिर्ता भएको नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले भने कर्मचारी तलब र सामाजिक सुरक्षा भत्ताजस्ता शीर्षकमा आएको सशर्त बजेटमात्र फिर्ता भएको बताए ।
–अमृता राई