किसानको कहर, छैन कसैको भर «

किसानको कहर, छैन कसैको भर

गोरखा-पालुङटार नगरपालिका–१ खोप्लाङ दरौदीफाँटका ६९ वर्षीय भीमबहादुर कुमाल टन्टलापुर घाममा धानको रोपो गोड्दैछन् । घुँडा टेकेर धान गोडेका उनको हिलाले खाएको खुट्टा प्रष्टै देख्न सकिन्छ ।
बिहान १० बजेदेखि मेलो थालेका उनी छोराको खेतमा पर्म लगाउन आइपुगेका हुन् । “दिनको ५ सय दिँदा पनि खेताला पाइनै छोडे ।” उनले भने, “घरमा बुढाबूढीमात्रै बस्छौं, छोराहरू भिन्न भइसके । काम लगाउन मान्छे पाइँदैन, अनि सकी नसकी आफंै पर्ममा हिँडेको । छोरोको गोडेर सकेपछि उनीहरू मेरोमा पनि आउँछन् ।” उनले ३÷४ ठाउँमा १० रोपनी जति खेतमा धान लगाएका छन् । तर कामदार, मलबीउ, औषधि अभावले खेती धान्नै समस्या परेको उनको दुःखेसो छ । “अब धान गोड्दा युरिया मल हाल्नुपर्छ, तर चोरकाटे, छेपेटार सबै चाहारें पाएको छैन ।” सोही फाँटमै धान गोडिरहेकी फुलमाया कुमालको पनि समस्या उस्तै छ । उनले भनिन्, “४ रोपनी खेतमा ओ आर जातको धान लगाएको हो । धान गोड्दा १५ किलो मल चाहिन्छ, यहाँको बजारमा पाइएन ।” देश संघीयतामा गएसँगै जिल्ला कृषि विकास कार्यालयको काम सबै स्थानीय तहमार्फत हुँदैछ । कृषि सेवा केन्द्र तथा कृषि प्राविधिक पनि स्थानीय तह मातहतमा छन् । उनीहरूसँग किसानले समस्या, गुनासा राखेर राय सुझाव लिन सक्छन् । तर फुलमायाले कृषि प्राविधिकलाई भेट्न सकेकी छैनन् । उनले भनिन्, “राते र सेतो रोग पनि देखिएको छ । के औषधि हाल्ने हो ? हामीलाई केही थाहा छैन । कृषि प्राविधिकले वास्ता नै गर्दैनन् ।” धान गोड्दा मल हाल्न नपाए उत्पादन घट्ने भन्दै सुरेश कुमालले चिन्ता गरे । “१७ मुरी धान फल्ने खेत हो मेरो अब चाहिएको बेला मल पाइएन भने फसल घट्ने भो । आफूलाई खान पुग्ने खेत हो । किनेर खानुपर्ने हो कि भन्ने हो ।”

समस्या समाधान गरिदिन माग
गाउँका युवायुवती रोजगार तथा कामको सिलसिलामा धेरैजसो घर बाहिर रहेको उनीहरूको भनाइ छ । यसैले खेतालाले खाने खाजा पनि फेरिएको कृष्णबहादुर कुमालले बताए । “पहिले पहिले मकै भट्टमास खाजा खाने चलन थियो । अहिले बुढापाकाले काम गर्नुपर्छ, टोक्न सकिँदैन, भात खाजा खान्छौं ।” धानखेती लगाउन किसानले एक हल मेलोमा गोरु लगाउन १५ सय रुपैयाँ खर्च गरेका छन् । धान रोप्ने र गोड्नेलाई दिनको ५ सय र बाउसे गर्नेलाई दिनको १ हजार रुपैयाँ ज्याला छ । आफूहरूले जेनतेन धानेको कृषि पेशामा देखिएका समस्या समाधान गरिदिन उनीहरूले माग गरेका छन् । उनीहरूले हालसालै स्थापना भएको कृषि ज्ञान केन्द्रबाट पर्याप्त मात्रामा राय, सुझाव र सहयोगको अपेक्षा गरेका छन् । बलबहादुर कुमालले भने, “हामी बुढापाकाले धान्या हो अहिले खेतीबाली, त्यै पनि मल, औषधि, कुलोपानी, केके समस्या छन् । मल, औषधिको समस्या त सरकारले पनि हेरिदिनु प¥यो नि । बुढाबूढी घोटिएरमात्रै पनि भएन ।”

 

प्रतिक्रिया दिनुहोस्