जापानी विश्वविद्यालयको ‘स्पिच कन्टेस्ट’मा नेपाली विद्यार्थी दोस्रो

जापानमा आयोजित ‘सातौं अल–जापान इन्टरनेसनल स्टुडेन्ट जापनीज स्पिच कन्टेस्ट’ मा नेपाली विद्यार्थी मनिसा भण्डारीले दोस्रो स्थान हासिल गरेकी छन् । उनले प्रमाणपत्रसहित करिब १ लाख नेपाली रुपैयाँ प्राप्त गरिन् । कार्यक्रमको प्रायोजन जापनीज इकोनोमिक युनिभर्सिटीले गरेको थियो । विश्वका विभिन्न मुलुकबाट अध्ययनका लागि जापान पुगेका विद्यार्थीहरूबीचको प्रतियोगितामा विभिन्न विश्वविद्यालयमा अध्ययन गर्ने करिब १८ सय विद्यार्थीले भाग लिएका थिए । त्यसमध्ये कम्पोजिसन टेस्ट तथा भिडियो टेस्टबाट १३ जनामात्र फाइनलमा पुगेका थिए ।
फाइनलमा पुगेका नेपाल, चीन, भियतनाम, श्रीलंका र बंगलादेशका विद्यार्थीले आ–आफ्नो देश र जापानको सांस्कृतिक विविधता तथा दुई देशको संस्कृतिबीच विद्यार्थीले कसरी पुलको भूमिका खेल्न सक्छन् भन्नेबारे बोलेका थिए । फाइनलमा श्रीलंकाली विद्यार्थी प्रथम र नेपाली दोस्रो भए ।
पुरस्कार ग्रहण गरेपछि भण्डारीले जापानमा नेपाली विद्यार्थी बढिरहेको भन्दै उनीहरुलाई दुई देशबीच संस्कृति आदानप्रदाको माध्यम बनाउनुपर्नेमा जोड दिइन् । “जुनसुकै देशबाट विद्यार्थीहरू जापानमा आए पनि यहाँ भेदभाव छैन । सबैको आ–आफ्नो भाषा र संस्कृति छ, त्यसको सम्मान गर्नुपर्छ,” उनले भनिन्, “सांस्कृतिक विविधताका कारण धेरै कुरा सिक्न पाइन्छ । म पढ्ने विश्वविद्यालयमा ९ देशका विद्यार्थी पढ्छन् । हामी एकअर्काको संस्कृतिबारे कुराकानी गर्छौं ।” आफूले नेपालको प्रतिनिधित्व गरेर जापानमा नेपाली भाषा र संस्कृतिको प्रचारप्रसार गर्ने प्रयास सधैं गर्ने उनले बताइन् ।