भारतीय सवारीसाधनलाई अधिक तेल बिक्री गर्ने पम्पमा शिल

भारततर्फ इन्धन निर्यात हुने क्रम बढ्दै गएर नेपालका सवारी साधनलाई अभाव भएपछि संयुक्त बजार अनुगमन टोली रुपन्देहीले छड्के अनुगमन सुरु गर्दै कारबाहीसमेत गरेको छ ।
रुपन्देही-भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम भएका कारण भारतबाट आएको इन्धन उतै तस्करी हुने क्रम बढेपछि रुपन्देही प्रशासनले कडाइ गरेको छ । भारततर्फ इन्धन निर्यात हुने क्रम बढ्दै गएर नेपालका सवारी साधनलाई डिजल र पेट्रोल अभाव भएपछि संयुक्त बजार अनुगमन टोली रुपन्देहीले छड्के अनुगमन सुरु गर्दै कारबाहीसमेत गरेको छ ।
पछिल्लो समय सिमावर्ती क्षेत्रबाट भारतमा ईन्धन तस्करी क्रम बढेको हो । यो क्रम नरोकिएपछि ओमसतिया र रोहिणी गाउँपालिकाअन्तर्गत पर्ने हुलाकी राजमार्ग (भैरहवा परासी सडकखण्ड)मा रहेका तीनवटा पेट्रोल पम्पमा छड्के निरीक्षण गर्दा पेट्रोलियम पर्दाथ अपचलन गरेको पाइएपछि अनुगमन टोलीले इन्धन बिक्री गर्ने तीनवटा पम्पमा शिलबन्दी गरेको छ ।
ओमसतिया गाउँपालिकाको सुरज आयल डिस्ट्रिब्यूटर्स, रोहिणी गाउँपालिकाको जय माँ दुर्गे आयल स्टोर्स धकधई र न्यू एभरेष्ट आयल सप्लायर्समा शीलबन्दी गरिएको संयुक्त बजार अनुगमन टोली रुपन्देहीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए ।
सीमा क्षेत्रमा पर्ने यी पेट्रोल पम्पले नेपाल आयल निगमले दिएको निर्देशनलाई हटेर गर्दै भारतीय नम्बर प्लेटका मालवाहक ट्रक, बस र कारलगायतका साधनमा माग गरेबमोजिम पेट्रोल तथा डिजेल बिक्री बितरण गरेको पाइएपछि शीलबन्दी गरेको पाण्डेले बताए ।
नेपाली बजारमा पेट्रोलिय पदार्थ अभाव भइरहँदा यी पेट्रोलपम्पले भारतीय बजारमा पेट्रोलियम पर्दाथ अनधिकृतरुपमा पैठारी गरेको सूचना थाहा पाएपछि नेपाल आयल निगमले कडा निर्देशन दिँदै भारतीय नम्बरका मालवाहक ट्रक, बस र कारलाई भारततर्फ फर्किने बेलामा बढीमा ५० लिटरसम्म मात्र इन्धन मात्र दिन पाइने निर्देशन जारी गरेको थियो ।
नेपाली बजारमा भन्दा भारतीय बजारमा पेट्रोलियम पदार्थ डिजल र पेट्रोलको प्रतिलिटर मूल्यमा झन्डै २० रुपैयाँ बढी रहेको छ । जसका कारण नेपालबाट इन्धन भारततर्फ विभिन्न माध्यमबाट पैठारी हुँदा नेपाली बजारमा अभाव छ । सवारी साधनका अलावा ग्यालेन र ड्रममा समेत भारततर्फ इन्धन जाने गरेको छ ।
अनुगमनका क्रममा टोलीले सुरज आयल डिस्ट्रिब्युटर्समा २ सय लिटर डिजल हाल्दै गरेको युपी १७ एट २३५४ नम्बरको बस र १ सय ५० लिटर डिजल हाल्दै गरेको जिजे १० टियु १२१८ नम्बरको ट्रक फेला परेका थिए ।