नवनिर्माण अभियानमा विद्युत् विकास

नेपाली अर्थतन्त्रको प्राथमिक र अत्यन्त महत्वपूर्ण आधारका रूपमा विद्युत् ऊर्जा रहेको छ । विद्युत् ऊर्जा अर्थतन्त्रका अरू सम्पूर्ण पक्षको पनि मुख्य आधार हो । अहिलेसम्म संसारमा विद्युत् विकास गर्न जीवाश्म इन्धन (कोइला, डिजेल, पेट्रोल र ग्यास), जल, जैविक वस्तु, हाइड्रोजन, सौर्य, वायु र आणविक शक्ति आदि प्रयोग भएका छन् । अहिले नेपालमा विद्युत् ऊर्जा विकासका निम्ति जल ऊर्जा, जैविक ऊर्जा, हाइड्रोजन उर्जा, सौर्य ऊर्जा र वायु ऊर्जा सुलभ स्रोतका रूपमा रहेका छन् । यी मध्ये जलविद्युत् ऊर्जा मुख्य रहेको छ । जलस्रोतको बहुपक्षीय उपयोगको महत्व भएको हुनाले पनि यो पहिलो प्राथमिकतामा रहेको छ । नेपालमा न आवश्यक मात्रामा विद्युत् उत्पादन हुन सक्यो न त सामाजिक विकासमा त्यसलाई प्रयोग गर्न नै सकियो । यस्ले गर्दा आज पनि नेपाली समाज पिछडिएको हो । अहिले संसारमा कुन समाज कति विकसित र समृद्ध छ भन्ने मापन विद्युत् ऊर्जा खपतको क्षमतालाई पनि बनाइने गरिएको छ ।
नेपालका साना–ठूला गरी ६ हजार नदीनाला एकीकृत जलस्रोत विकासका मुख्य आधार हुन् । नेपालका नदीहरूबाट प्रतिवर्ष सरदर २२० अर्ब घनमिटर पानी बगेर गङ्गा नदीमा मिसिन्छ । त्यसमध्ये जेठ, असार, साउन र भदौ गरी ४ महिनामा ८० प्रतिशत जल प्रवाह हुन्छ भने बाँकी ८ महिनामा २० प्रतिशत ।
नेपालको जल खास गरी कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा आबद्ध छ । पश्चिम सिमानामा रहेको महाकाली नदीले पनि प्रणालीकै काम गरेको छ । कन्काई, कमला, वागमती, तिनाउ, राप्ती, बबई र मोहना जस्ता केहीसाना तथा मध्यम खाले नदीहरू देशको मध्य भागका जलाधार क्षेत्रबाट प्रवाहित भएका छन् । अहिले नेपालको जलस्रोतबाट २ लाख मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमता रहेको अनुमान गरिएको छ । नेपाली जलस्रोतको योजनाबद्ध विकास गरियो भने जनताको मुख्य आर्थिक क्रियाकलाप र समृद्धिको मुख्य स्रोतका रूपमा यसलाई विकसित गर्न सकिने छ । नेपालका लागि अहिले विद्युत् ऊर्जाको सबैभन्दा प्राथमिक महत्वको स्रोत जलस्रोत नै हो ।
अहिलेसम्म नेपालले उत्पादन गरेको विद्युत्मध्ये कुलेखानी बाहेक अरू सबै जल प्रवाहमा आधारित परियोजनाहरू हुन् । एकातिर ज्यादै न्यून विद्युत् उत्पादन अर्कोतिर सबभन्दा धेरै नदी प्रवाहमा आधारित विद्युत्को उत्पादन, त्यसले गर्दा मानिसका दैनन्दिन आवश्यकता पूरा गर्न पनि नसकिने स्थिति छ । झन्डै ६० प्रतिशत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन पुगेकै छैन । प्रसारण लाइन पुगेका ठाउँमा पनि अहिले ऊर्जाको बढी खपत हुने समयमा यसको आवश्यकता करिब १३५० मेगावाट नाघिसकेको छ । वर्षात्को पानीसमेत जलाशयमा भण्डारण गरेर विद्युत् उत्पादन गर्ने प्रणाली नै नेपालका निम्ति सबभन्दा उपयुक्त हुने देखिन्छ । अहिले उत्पादन भइरहेकापरियोजनाभन्दा माथि सम्भव भएसम्म उच्च बाँध परियोजना कार्यान्वयन गरियो भने तल्लो परियोजनामा पानीको प्रवाह नियमित गर्न सकिनेछ ।
विद्युत् वितरणका लागि राष्ट्रव्यापी प्रसारण लाइन उत्पादन कार्यक्रमसँगै जडान गर्नुपर्दछ । अहिले भएका विद्युत् प्रसारण लाइन नेपालमा आवश्यक पर्ने विद्युत् भार वहन गर्ने क्षमताका छैनन् । अहिले सबभन्दा धेरै शक्ति बहन गर्न सक्ने लाइन १३२ के.भी. हो । करिब ४० प्रतिशत जनसङ्ख्यामा प्रसारण लाइन पुगेको छ । ठूलो परिमाणको उत्पादनमा प्रवेश गर्दा ४ सय के.भी. र त्यो भन्दा धेरै शक्तिको लाइनमा जानु अनिवार्य हुन्छ । अब उत्पादनका क्षेत्रमा विद्युतीकरण गर्न सकिएन भने आत्मनिर्भर पनि हुन सकिने छैन ।
नेपाल नवनिर्माण महाअभियानमा प्रवेश गरिरहेको छ । आवश्यक मात्रामा विद्युत् उत्पादन नगरी अभियान अगाडि बढ्न सक्नेछैन । आजसम्म अध्ययन गरिएका विद्युत्परियोजनाहरूको निर्माण गर्न सकियो भने आफ्नो आवश्यकता मात्र पूरा हुने छैन, बचेको विद्युत् अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेर ठूलो आय आर्जन पनि हुनेछ । अर्थतन्त्र निर्माणको मुख्य शक्तिका साथै महत्वपूर्ण अर्थतन्त्रको रूपमा रहेकाले ठूलो मात्रामा विद्युत् उत्पादन गर्ने योजनामा जानु पर्दछ । ठूला जलाशययुक्त परियोजनाहरूमा लगानी गर्नुपर्छ । साथै, विश्व बैङ्कको सहयोगमा सम्पन्न हुन गइरहेका नदी बेसिन गुरुयोजना तथा जलविद्युत् विकास योजनाबाट पहिचान गरिएका आयोजना मध्येबाट बहुपक्षीय आयोजनाहरूलाई पनि प्राथमिकतामा राखी निर्माण गर्नुपर्छ । यस अनुरूप अद्यावधिक रूपमा निर्माण गरिने जलविद्युत् आयोजनाहरूको प्रोजेक्ट बैङ्क स्थापना गरिनेछ । यस्ता आयोजनाहरू जनताको अधिकतम सहभागिता हुने गरी ‘सार्वजनिक–निजी–जन साझेदारी’ नमुनामा निर्माण गरिनेछन् । यसबाट राष्ट्रिय समृद्धिका साथै जीवनस्तरमा सुधार हुनेछ । आयोजना प्रभावित क्षेत्रका विपन्न वर्गका जनताको सहभागिताको लागि सामाजिक न्यायको आधारमा नेपाल सरकारबाट विशेष व्यवस्था गरिनेछ । यस्ता जलविद्युत् आयोजनाहरूको निर्माणमा स्वदेशी तथा विदेशी लगानीसमेत प्रोत्साहन हुने गरी नीति, नियम तथा कानुनमा व्यापक सुधार गरिनेछ । विद्युतीकरण र विद्युत् उत्पादन तथा पूर्वाधार निर्माणले कृषि, पर्यटन, उद्योग, खानी तथा खनिज, जडीबुटी, सूचनाप्रविधि आदि अर्थतन्त्रका अन्य क्षेत्रले विकासमा फड्को मार्नेछ ।
विद्युत् अपरिहार्य शक्ति भएका हुनाले यसलाई राष्ट्रिय अर्थतन्त्रको मुख्य प्राथमिकतामा राखिएको छ । बायोमास जीवित वा सडेगलेको वनस्पतिबाट निष्कासित प्राङ्गारिक पदार्थ हो । यसको वैज्ञानिक नाम लिग्नोसेलियोसिस बायोमास हो । अखाद्य भएका खाद्यवस्तुहरूको स्टार्चलाई बायोथिनलमा रूपान्तरण गरेर प्रत्यक्ष इन्धनको रूपमा प्रयोग गरी विद्युत् उत्पादन गर्न सकिन्छ । अर्को, कृषि, वनजंगल र नगरपालिका आदि क्षेत्रबाट निष्कासित अखाद्य जैविक वस्तुलाई रूपान्तरण गरी बायोथिनल उत्पादन गरिन्छ र त्यसलाई पनि प्रयोग गरेर विद्युत् उत्पादन गर्न सकिन्छ । देश निर्माणको महाअभियानमा जैविक वस्तुबाट ठूलो मात्रामा विद्युत् उत्पादन गरिनेछ ।
हाइड्रोजन ब्रह्माण्डमा सबभन्दा धेरै मात्रामा रहेको ज्वलनशील ग्यास हो । पृथ्वीमा पनि यो सबभन्दा धेरै छ । तर, यहाँ यो स्वतन्त्र रूपमा पाउन सकिन्न । हाइड्रोजन र अक्सिजनका निश्चित परमाणुहरूको सङ्गठनबाट पानी निर्माण हुन्छ । हाइड्रोजनको २ मात्रा र अक्सिजनको १ मात्रा रासायनिक प्रतिक्रिया भई पानी बन्दछ । पृथ्वीमा रहेको पानीलाई ताप र विद्युत् प्रवाहबाट हाइड्रोजन र अक्सिजनमा विभाजित गरिन्छ । त्यसरी विभाजित हाइड्रोजन र अक्सिजन ग्यासहरूलाई अलग अलग सिलिन्डरमा जम्मा गरिन्छ । अक्सिजनलाई अस्पताल र अन्य काममा प्रयोग गरिन्छ । हाइड्रोजनलाई विद्युत् उत्पादनमा प्रयोग गरिन्छ । महाअभियानको यस अवधिमा हाइड्रोजन ग्यासबाट विद्युत् उत्पादन गर्ने प्रयत्न गरिनेछ ।
महाअभियानको यस अवधिमा सौर्य शक्तिलाई व्यापक रूपमा विद्युत् उत्पादनमा प्रयोग गरिनेछ । हावाको शक्ति प्रयोग गरी जेनरेटरबाट उत्पादित विद्युत्लाई वायुशक्ति विद्युत् भनिन्छ । उत्पादित विद्युत्लाई त्यहाँ रहेको स्टेसनमा जम्मा गरी प्रसारण लाइनमार्फत उपभोक्तासम्म पुर्याइन्छ । नवनिर्माण महाअभियानको यस अवधिमा देहायअनुसारका जलाशययुक्त परियोजनाहरू सम्पन्न गरी ठूलो मात्रामा विद्युत् उत्पादन गरिनेछ ।
क) प्रदेश नं. ७, प्रदेश नं. ६ र प्रदेश नं. ५ का जनताको समृद्धिको आधार रहेको नेपालकै सबभन्दा ठूलो कर्णाली–चिसापानी बहुउद्देश्यीय परियोजना यसै अवधिमा सम्पन्न गरिनेछ । यसबाट १५ हजार मेगावाट विद्युत् प्राप्त हुनेछ ।
ख) प्रदेश नं. १, प्रदेश नं. २ र प्रदेश नं. ३ का जनताको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्न सक्ने कोशी जलाशय परियोजना यसै अवधिमा निर्माण गरिनेछ । यसबाट ६ हजार मेगावाट विद्युत् प्राप्त हुनेछ ।
ग) प्रदेश नं. ३ र प्रदेश नं. ४ को सिमानामा रहेको बुढिगण्डकी परियोजनाको निर्माण महाअभियानको यसै अवधिमा सम्पन्न गरिनेछ । यसबाट १२०० मेगावाट विद्युत् प्राप्त हुनेछ ।
घ) प्रदेश नं. ५ मा रहेको राप्ती नौमुरे बहुउद्देश्यीय जलविद्युत् परियोजनाको निर्माण महाअभियानको यसै अवधिमा सम्पन्न गरिनेछ । यसबाट ५०० मेगावाट विद्युत् उत्पादन हुनेछ ।
ङ) प्रदेश नं. ६मा रहेको नलसिङगाढ जलविद्युत् परियोजनाको निर्माण पनि यसै अवधिमा सम्पन्न गरिनेछ । यसबाट ४१० मेगावाट विद्युत् उत्पादन हुनेछ ।
च) प्रदेश नं. ७ मा रहेको पश्चिम–सेती जलविद्युत् परियोजनाको निर्माण पनि महाअभियानको यसै अवधिमा सम्पन्न गरिनेछ । यो परियोजनाबाट७५० मेगावाट विद्युत् प्राप्त हुनेछ ।
छ) प्रदेश नं. १-३ मा रहेका सुनकोशी–२ र सुनकोशी–३ परियोजनाहरू पनि महाअभियानको यसै अवधिमा निर्माण गरिनेछ । यी परियोजनाबाट १६४६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
ज) प्रदेश नं. १ मा रहेको तमोर जलाशययुक्त परियोजनाको निर्माण पनि महाअभियानको यसै अवधिमा सम्पन्न गरिनेछ । यसवाट ६६२ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
झ) यी परियोजनाहरूमा प्रत्यक्ष र परोक्ष रूपमा करिब ५० लाखभन्दा धेरै जनताले रोजगारी तथा स्वरोजगारी प्राप्त गर्नेछन् ।
(नेकपा एमालेका नेता वामदेव गौतमको आगामी शनिवार विमोचित हुने पुस्तक ‘नेपाल नवनिर्माण महाअभियान’बाट उद्धृत अंश)