पशुपतिमा तीजको रौनक

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व बुधबार उमामहेश्वरको पूजाराधना गरी मनाइयो । बुधबार बिहानैदेखि विभिन्न मन्दिरहरुमा महिलाको घुइँचो लागेको थियो । विशेषगरी पशुपतिनाथमा महिलाको उल्लेख्य भीड थियो । बिहान सबेरैदेखि महिलाहरु दर्शनका लागि लाइन लागेका थिए । मन्दिर परिसरमा नाचगान गरेर रमाइलो गर्ने पनि उत्तिकै देखिन्थे ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।
सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।