अलपत्र कामदारको उद्धारमा एनआरएनए सक्रिय «

अलपत्र कामदारको उद्धारमा एनआरएनए सक्रिय

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको उद्धार, राहत र देश फिर्तापछिको पुनस्र्थापनाका लागि सरकारमात्र नभई गैरआवासीय नेपाली संघ र गैरआवासीय नेपालीहरूले पनि विभिन्न सहयोग कार्यक्रम बढाउँदै गएका छन् । रोजगारीका लागि विदेश गएका कामदारको सामाजिक सुरक्षाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि विभिन्न कार्यक्रम र योजना सार्वजनिक गर्दै आएको छ ।
एनआरएनएले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको उद्धारमा संघको राष्ट्रिय समन्वयन समितिमार्पmत् पनि भैपरि आउने अवस्थामा पनि नियमित रूपमा सहयोग गर्दै आइरहेको छ । यसका अलावा संघले विभिन्न परियोजना सुरु गरेर वैदेशिक रोजगारीमा गएका कामदारको सहयोग र उद्धारका काम गर्दै आएको छ । एनआरएनले शुभयात्रा एप, आपतकालिन राहत कोष, हजारे अभियान र वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिलगायतका कार्यक्रम सुरु गरिसकेको छ ।
एनआरएनए ओमानले ९ वर्षअघि विदेश गएका कामदारका लागि सामाजिक सुरक्षा पेन्सनसरहको सुविधासहितको हजारे अभियान सुरु गरेर कामदारका लागि सहयोगको काम सुरु गरेको छ । हजारे अभियानले देश विकासको लागि अर्थको व्यवस्था, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षित अवतरण, वैदेशिक रोजगारीको परनिर्भरता हटाई देशमै रोजगारीको व्यवस्था गर्नेलगायत उद्देश्य राखेर कामदारका लागि सहयोगी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन न्यूजर्सी घोषणापत्रले पनि विदेशमा रहेका नेपाली कामदारको सहयोग र सुरक्षाका लागि प्रतिबद्धतासहित घोषणपत्रमा नै उल्लेख गरेको छ । न्यूजर्सी घोषणापत्रले नेपाल सरकारको सेवालाई वैदेशिक रोजगारमा रहेका कामदारहरूसम्म सहज पार्न, लेबनान र इराकमा सरकारी उपस्थिती तथा साउदी अरब, यूएई जस्ता मुलुकहरूमा नियोगको विस्तार तथा आवश्यक कानुनी सेवा प्रदान गर्नेगरी क्षमता अभिवृद्धि गर्न सुझाव दिएको छ ।
यसरी नै वैदेशिक रोजगारमा न्याय, उद्धार र क्षतिपूर्तिका लागि कानुनले निर्दिष्ट गरेका पक्षहरूलाई जिम्मेवार बनाउन नेपाल सरकारसँग सम्मेलनले अनुरोध गरेको छ । साथै, सम्मेलनले वैदेशिक रोजगार नीति निर्माण गर्दा गैरआवासीय नेपाली संघको उचित प्रतिनिधित्व गर्दै पीडित कामदार तथा घरेलु महिलाहरूको तत्काल उद्धार गर्न साधन स्रोतसहितको दु्रत उद्धार संयन्त्रको निर्माण गर्न माग गरिएको छ ।
संघलाई ठूला र पैसावाला मानिसको संस्थाको आरोप लागिरहेका बेला एनआरएनएको नयाँ कार्यसमितिले पनि नयाँ कार्यक्रम र योजना सार्वजानिक गरेको छ । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको हितमा निर्णय गर्दै केही समयअघि गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले अहिलेको सबैभन्दा महत्वपूर्ण कार्य विदेशमा रहेका नेपालीहरूका लागि कल्याणकारी कामहरूको अगुवाइ गर्ने रहेको बताए ।
“विदेशमा रहेका कामदारका लागि संघको केन्द्रले गर्ने नेपालभित्रका कार्यहरूका अलावा सबै गैरआवासीय नेपाली संघ स्थापना भएका देशहरूलाई कम्तिमा एउटा सामाजिक वा कल्याणकारी काम गराउने गरी कार्यक्रम अगाडि बढाइने छ,” अध्यक्ष भट्टले वैदेशिक रोजगारीमा गएका कामदारका पक्षमा गरिएका निर्णयबारे जानकारी गराउँदै भने, “विभिन्न कारणवश मध्यपूर्व तथा मलेसियामा जेल सजाय भोगिरहेका नेपालीहरूको तथ्यांक संकलन गरी उद्धारको कार्यक्रम सञ्चालन गरिनेछ ।” एनआरएनएको हालै निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले साउदी अरबमा जन्मकैद भोगिरहेका थानेश्वर भुसाललाई उन्मुक्ति दिलाउन संघले आपतकालिन राहत कोषबाट १२ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।
हालै गैरआवासीय नेपाली संघ तान्जानियाले रोजगारदाताले तलब नदिएर अलपत्र परेका पाँच नेपाली कामदारको उद्धार गरेको छ । लामो समयदेखि तलब नपाएर अलपत्र परेका नेपालीको एनआरएनए तान्जानियले उद्धार गरेको हो । नेपाल फर्कने हवाई टिकट र पासपोर्ट समेत खोसिएका पाँच नेपाली कामदारको गैरआवासीय नेपाली संघ तान्जानियाले उद्धार गरेको हो ।
यसैगरी अनिश खालिङ राई बचाउ अभियानको लागि गैरआवासीय नेपाली संघले १६ लाख ९३ हजार ४८४ रुपैयाँ सहयोग गरेको थियो । खालिङ बचाउ अभियानको लागि विश्वभर एनआरएनए तथा एनआरएनले सहयोग गरेका थिए । यसैगरी हालै एनआरएनए मलेसियाद्वारा विमला कार्कीलाई सहयोग गर्न एनआरएनए मलेसिया कल्याणकारी कोषबाट हवाई टिकटका लागि सहयोग प्रदान गरिएको थियो ।
यसैगरी मलेसियाकै एनआरएनएले रोजगारीको क्रममा मलेसियामा बिरामी भएका बोहरागाउँ ३ बागलुङका यम बहादुर बुढा र सिरहा जिल्ला लहान घर भई जेल जीवन बिताइरहेका किशुन देव महतोलाई एकतर्फी हवाई टिकट उपलब्ध गएको छ । गैरआवासीय नेपाली संघ मलेसियाले महतो र बूढालाई दुईवटा हवाई टिकट दिएर सहयोग गरेको थियो ।
एनआरएनएले स्थापना गरेको वैदेशिक रोजगार आपतकालिन राहत कोषमा २ करोड रुपैयाँको सहयोग प्रतिबद्धता आइसकेको छ । हालसम्म २ करोडको प्रतिबद्धतामध्ये १ करोड ४४ लाख ८५ हजार ११० रुपैयाँ सहयोग संकलन भइसकेको छ । यो कोषमा एनआरएनएका अध्यक्ष भवन भट्टले १ करोड रुपैयाँ सहयोग गरिसकेका् छन भने उपाध्यक्ष कुमार पन्तले २० लाख रुपैयाँ, डा. बद्री केसी र कुल आर्चायले ५ लाख ५५ हजार ५५५ का दरले सहयोग गरेका छन् ।
अर्जुनकुमार श्रेष्ठले ५ लाख, कृष्णप्रसाद तिम्सिनाले २ लाख ५० हजार, हिक्मत थापा, ईन्द्र बन र सपिला राजभण्डारीले १(१ लाख रुपैयाँ सहयोग गरिसकेका छन् । यसैगरी सोनाम लामाले १ लाख, रवीन्द्रप्रसाद श्रेष्ठले १ लाख २३ हजार र सुनिल कार्कीले ५१ हजार सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्