उपमेयरले लगाइन् ताला, मेयरले तोडे

रानीपोखरी पुनर्निर्माणको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीचको विवाद छताछुल्ल भएको छ । सोमबार पुनर्निर्माणको कार्य गलत तरिकाले भएको भन्दै उपमेयर हरिप्रभा खड्गीले काम रोक्न ताला लगाइन् । लगत्तै रानीपोखरी पुगेर मेयर विद्यासुन्दर शाक्यले भने ताला काट्न लगाए । भूकम्पका कारण क्षति पुगेपछि करिब ७ करोड लागतमा रानीपोखरी पुनर्निर्माणको काम भइरहेको छ ।
उपमेयर खड्गीले आफूखुसी पुरातात्विक सम्पदाको पुनर्निर्माण गलत तरिकाले भइरहेको भन्दै आफूले काम रोक्न लगाउने बताएकी थिइन् । पुरातत्व विभागले तयार पारेको नक्साविपरित कंक्रिट प्रयोग गरेर पुनर्निर्माणको काम अगाडि बढाएको भन्दै निर्माण कार्य रोक्न उनी मंगलबार बिहान १० बजे नै रानीपोखरी पुगिन् । पुनर्निर्माणमा कंक्रिट प्रयोग गरेको पाइएपछि उपमेयर खड्गीले आफूसँगै पुगेका कार्यकर्तालाई तालाबन्दी गर्न लगाइन् । उनले पुरातात्विक सम्पदा मास्ने अधिकार मेयरलाई नभएको भन्दै आफू पनि मेयरजस्तै निर्वाचित जनप्रतिनिधि भएकाले गलत कामलाई टुलुटुलु हेर्न नसकेर तालाबन्दी लगाउन सहभागी भएको बताइन् । “पुर्खाले बनाएको सम्पदा मास्ने अधिकार मेयरलाई छैन । म पनि मेयरजस्तै जनताबाट निर्वाचित प्रतिनिधि हुँ । मेयरको गलत कामलाई टुलुटुलु हेरेर बस्दिन,” उपमेयर खड्गीले भनिन् । पुनर्निर्माण कार्य रोक्ने गरी ताला लगाउन पुगेकी उपमेयरलाई वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीले पनि साथ दिएका थिए ।
ताला लगाएको थाहा पाएपछि मेयर शाक्य महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत धनीराम शर्मा र नगर प्रहरीसहित रानीपोखरी पुगेका थिए । तर, वडाध्यक्ष खड्गीले ताला खोल्न नदिने बताएपछि केही बेर अवस्था असहज बनेको थियो । मेयर शाक्य र वडाध्यक्ष खड्गीबीचको केहीबेरको दोहोरीपछि मेयर शाक्यको निर्देशनमा नगर प्रहरीले ताला फोड्यो । त्यसक्रममा उपमेयर खड्गीले लगाएको तालाको समर्थनमा रहेका स्थानीय कांग्रेस कार्यकर्ताले मेयरविरुद्ध नाराबाजी गरेका थिए । सो क्रममा मेयर शाक्यले भने, “रानीपोखरी हेर्न नि नपाउने ? मलाई छिर्न नदिने हो पुनर्निर्माणको जिम्मा पनि लिनुस् ।” ताला फोडेर पुनर्निर्माण कार्य अवलोकन गर्दै मेयर शाक्यले रानीपोखरीको आकार एक इन्च पनि नघट्ने गरी पुनर्निर्माण गरिने भन्दै प्राविधिकहरुको सुझाव अनुसार नै कंक्रिट प्रयोग गरेर पर्खाल बनाउन लागेको बताए । “जहाँ समस्या हुन्छ, त्यहाँ समाधान पनि हुन्छ । व्यक्तिले के भन्यो ठूलो कुरा होइन । पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँग समन्वय गरेर आवश्यक निर्णय लिन्छु,” उनले भने । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २३ महिनापहिले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास गराएर रानीपोखरी पुनर्निर्माणको काम काठमाडौं महानगरपालिकालाई जिम्मा दिएको थियो । शाक्य एमाले र उपमेयर खड्गी कांग्रेसका तर्फबाट मेयर र उपमेयर बनेका थिए । काठमाडौंबाट निर्वातिन कांग्रेसका सांसदहरु पनि उपमेयर खड्गीको पक्षमा देखिएका छन् । उनीहरुले पुनर्निर्माण कार्य गलत तरिकाले भएको भन्दै रोक्नुपर्ने बताएका छन् । पोखरी पुनर्निर्माणमा कंक्रिट प्रयोग गरिएको भन्दै केही पुरातत्वविद्हरुले समेत असन्तुष्टि जनाएका छन् ।