जनप्रतिनिधिबीच आरोप–प्रत्यारोप «

जनप्रतिनिधिबीच आरोप–प्रत्यारोप

साउन १४ गते धोबिनी गाउँपालिका उपाध्यक्ष पारसनाथ कुर्मीलगायतले गाउँपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत कसैलाई पनि समन्वय नगरी भ्रष्टाचार गरेको आरोप लगाउँदै पत्रकार सम्मेलन नै गरे ।

गत साउन २ गते बुधबार पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरे । कालिकामाई गाउँपालिका–१ मुडली, टिनडोबिया र रविदासका स्थानीयवासीले पोखरीबाट नै सिँचाइ गर्नुपर्ने, खुल्ला गरेको टेन्डर बन्द गर, भष्टाचारी बन्द गर, रकम हिनामिना भएकाले सार्वजनिक सुनवाइ गर, लक्षित वर्गको रकम पारदर्शी गर, लक्षित वर्गको रकममा कमिसनखोरी बन्द गरजस्ता माग राख्दै, तालाबन्दी गरे ।
गाउँपालिकाका अध्यक्ष नथुनी कुश्वाहा, उपाध्यक्ष राजेश चौरसिया र प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले प्रत्येक उपभोक्ता र ठेकेदारबाट ३५ प्रतिशत रकम कमिसन लिएकोले काम गुणस्तरीय नभएको आरोप स्थानीयवासीले लगाए । सामाजिक विकासको रकम तथा लक्षित वर्गको रकम धेरै जसो आप्mनै कर्मचारीबाट कार्यसम्पादन गरेको कागजात बनाएर भुक्तानी दिएको र केही मात्रमा स्थानीय सामाजिक संघसंस्था र परामर्शदाता कम्पनीसँग पहिला कमिसन लिएपछि मात्र भुक्तानी दिने गरेको स्थानीयले बताए ।
त्यस्तै साउन १४ गते धोबिनी गाउँपालिका उपाध्यक्ष पारसनाथ कुर्मीलगायतले गाउँपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत कसैलाई पनि समन्वय नगरी भ्रष्टाचार गरेको आरोप लगाउँदै पत्रकार सम्मेलन नै गरे । धोबिनी गाउँपालिकाको १० जना कार्यपालिका सदस्यहरूले गाउँ प्रमुख सुरेश कुर्मी र प्रमुख प्रशासकीय अधिकृत सरोज चौधरीको गतिविधिका बारेमा असन्तुष्टि जनाएर उनीहरूले आर्थिक अनियमितता भएको भन्दै सम्बन्धित निकायलाई छानबिन गर्नसमेत माग गरे । गाउँपालिकामा अनियमितता भएको दाबी गर्दै उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला समन्वय समिति पर्सा र प्रदेश सरकारलाई छानबिनको माग गर्दै उजुरी पर्यो । त्यसको केही दिन अघिमात्रै सोही गाउँपालिकाका लेखा प्रमुख र नायब सुब्बा १ लाख १० हजार घुस रकमसहित पक्राउ परेका थिए । भदौ ४ गते बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु (मोदी) को कारण गाउँपालिकाको काम प्रभावित भएको गाउँ कार्यपालिका गाउँपालिकाकी उपाध्यक्ष किरण देवीसहित ८ जना गाउँ कार्यपालिका सदस्यहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन नै आयोजना गरी गाउँपालिका अध्यक्ष मोदीकै कारण विकास निर्माणको कामकाजले गति लिन नसेकेको आरोप लगाए । बिन्दवासीनी गाउँपालिकाले ०७४/७५ को बजेटबाट किसानलाई वितरण गर्न किनिएको ग्यास चुल्हो, सिलिण्डर, खानेपानी धारा र पम्पीसेट खरिद गरिएकोमा ति सामान वितरण भने हुनसकेको छैन । यही कुरा सञ्चार माध्यमले सार्वजनिक गरेपछि गाउँपालिकाका अध्यक्ष श्रीलाल साह (मोदी)ले प्रमुख कार्यकारी अधिकृत र लेखापालले आफूहरूलाई थाहा नदिई सामान खरिद गरेको, वितरण नगरेको भन्दै प्रतिक्रिया दिएका थिए । पत्रकार सम्मेलनमा उपाध्यक्ष गुप्ताले गाउँपालिकाको सबै काम, क्रियाकलाप कानुनबमोजिम नेपाल सरकारको मापदण्डअनुसार भए पनि अध्यक्ष मोदीले राजनैतिक लाभको लागि भ्रामक समाचार सञ्चार माध्यमलाई दिएको बताइन् । उपाध्यक्ष गुप्ताले ग्यास चुल्हो, पम्पीसेट, धारालगायतका सामग्री गाउँपालिका अध्यक्ष मोदीकै रोहबरमा खरिद गरेको दाबी गरिन् । सामग्री खरिदको मुचुल्कामा अध्यक्ष मोदीले हस्ताक्षर गरेको प्रमाण देखाउँदै उपाध्यक्षले गुप्ताले भनिन्, “सबै थोकमा अध्यक्षको संलग्नता भए पनि कर्मचारीलाई आरोपमात्र लगाइएको हो ।” कानुनविपरीत केही कार्यक्रमको भुक्तानी दिनका लागि प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई अध्यक्ष मोदीले दबाब दिएको र सो कुरा कानुनबमोजिम नभएको र दिन नमिल्ने बताएपछि अनावश्यक रूपमा मानसिक दबाब दिन आरोप लगाइएको उपाध्यक्ष गुप्ताको दाबी छ । त्यसैगरी भदौ २२ पर्साको पकहामैनपुर गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाको बजेटमा हिनामिना गरेको भन्दै पकाहमैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुसुमीदेवी पटेलसहितका कार्यपालिका सदस्यले पत्रकार सम्मेलन गरेको आरोप लगाइन् । गाउँपालिका अध्यक्ष विजय चौरसिया र प्रशासकीय अधिकृत हिरा भुसालले ब्यापाक रूपमा हरेक कार्यक्रममा भ्रष्टाचारी गरेको आरोप लगाएका थिए । वडामा भएको कामको बारेमा जानकारी लिन खोज्दा वडाध्यक्षले मात्रै जानकारी लिन पाउने अध्यक्षले भन्ने गरेको बताइन् । संघीय समाजवादी फोरमबाट विजयी भएका गाउँपालिकाका अध्यक्ष चौरसियाले गरेको व्यापक अनियमितता र भ्रष्टाचारकै कारणले आफुलाई समाजवादी फोरमको नाम लिनसमेत लाज लागेको समाजवादी फोरमका विनोद मेहेताले बताए । त्यस्तै सखुवा प्रसौनी गाउँपालिकामा पनि भ्रष्टाचार र अनियमितता भएको भन्दै कांग्रेस नेतृत्वमा सूचनाको हक प्रयोग गरेर सूचना नै माग गरिएको थियो । फेरि पकाहमैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसियाले आफुले कुनै पनि भ्रष्टाचार नगरेको सफाइ दिनका लागि मंगलबार पत्रकार सम्मेलन गरेर आफुले अनियमितता नगरेको स्पष्टीकरण दिन खोजे । हरेक गाउँपालिकामा भए गरेको भ्रष्टाचार र अनियमितता लुकाउनकै लागि अहिले गाउँपालिकाका जनप्रतिनिधिरु पत्रकार सम्मेलन गराउने प्रतिस्पर्धामा छन् । पर्सामा रहेको १४ वटा स्थानीय तहमध्ये सबै गाउँपालिकाका अध्यक्षले आफु निकटका सञ्चारकर्मीलाई रकम दिएर अथवा भ्रमणमा पठाएर तथा कुनै कार्यक्रममार्फत प्रलोभनमा पारेर समाचारलाई बाहिर आउन नदिने प्रयास पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्